२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

७० प्रतिशत नेपालीलाई घर धान्नै मुस्किल

नेपालमा ७० प्रतिशत मानिसले घरसम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका २२ देशको औसत ३४ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो। त्यस्तै, ७० प्रतिशतले कुनै अप्रत्याशित समस्या आएमा आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता राख्नेको दर ४८ प्रतिशत छ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक ग्लोबल हाउजिङ रिसर्च २०२६ मा यस्तो तथ्य सार्वजनिक भएको हो। अनुसन्धानमा विश्वका २२ देशका ३० हजार ७५८ जनालाई समेटिएको थियो। नेपालबाट एक हजार ४०० जना सहभागी थिए। सर्वेक्षण अप्रिल १० देखि जुन ३०, २०२६ सम्म सञ्चालन गरिएको थियो।

नेपालमा घरसम्बन्धी समस्या आर्थिक दबाबमा मात्र सीमित नभई सुरक्षासँग पनि जोडिएको देखिएको छ। ७२ प्रतिशतले चरम मौसमका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्। विश्वव्यापी रूपमा यस्तो धारणा राख्नेको दर ३० प्रतिशत छ। त्यस्तै, आगामी तीन वर्षमा चरम मौसमका कारण आफू अहिले बसिरहेको ठाउँमा बस्न झनै कठिन हुने विश्वास ७० प्रतिशतले व्यक्त गरेका छन्। अध्ययनमा समेटिएका देशमध्ये यो दर नेपालमा सबैभन्दा उच्च रहेको उल्लेख छ।

कमजोर आवासीय अवस्थाका कारण ७६ प्रतिशत नेपालीले आफूलाई असुरक्षित महसुस हुने बताएका छन्। त्यस्तै, ७३ प्रतिशतले असुरक्षित ढोका, झ्याल वा घरको घेराबारका कारण सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्।

घरसम्बन्धी आर्थिक दबाबले स्वास्थ्यमा समेत असर पारेको देखिएको छ। २८ प्रतिशतले घरको खर्चका कारण आवश्यक उपचार ढिलाइ गरेको वा उपचार नै नगरेको बताएका छन्। विश्वव्यापी रूपमा यस्तो दर १३ प्रतिशत छ। त्यस्तै, ३६ प्रतिशतले आवश्यक घर मर्मतसम्भार पछि सारेका छन् भने २१ प्रतिशतले खाद्य सहायता लिनुपरेको बताएका छन्।

आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर गरिरहेको अध्ययनले देखाएको छ। ७२ प्रतिशतले घरको खर्चका कारण परिवार सुरु गर्नेबारे सोच्न कठिन भएको बताए। बालबालिका भएका अभिभावकमध्ये ७३ प्रतिशतले घरको खर्चका कारण आफ्ना बालबालिकालाई दिन सक्ने अवसर सीमित भइरहेको बताएका छन्। त्यस्तै, ७१ प्रतिशतले अहिलेको आवासमा बसिरहनु पर्दा आफ्ना केही सपना वा महत्वाकांक्षा त्याग्नुपरेको भनेका छन्।

सर्वेक्षणमा ६८ प्रतिशत नेपालीले आफ्नो आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावका स्रोतहरूमध्ये एक भएको बताए। ७८ प्रतिशतले सस्तो घरको अभाव रहेको र ७४ प्रतिशतले पहिलोपटक घर खरिद गर्नेहरूलाई सहयोग गर्न सरकारी नीति पर्याप्त नभएको उल्लेख गरेका छन्। 

अध्ययनले नेपालमा आवासको समस्या घर निर्माणमा मात्र सीमित नरहेको निष्कर्ष निकालेको छ। बढ्दो घरखर्च, सुरक्षित आवासको अभाव, आवासीय अधिकारको असुरक्षा, प्राकृतिक विपत्तिको जोखिम तथा स्वास्थ्य र भविष्यका योजनामा परेको आर्थिक दबाब पनि यससँग जोडिएको देखिएको छ।

प्रकाशित: २० आश्विन २०८३ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App