सरकारले भोटेकोसी बाढीपीडितका लागि दसैंको फूलपातीअघि ५० वटा नमुना घर निर्माण गरी हस्तान्तरण गर्ने भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारीका अनुसार अस्थायी प्रकृतिका प्रिफ्याब घर निर्माणका लागि अहिले जग्गा सम्याउने काम भइरहेको छ। एक-दुई दिनभित्रै घर निर्माण सुरु गरिनेछ।
एउटा घर निर्माणमा करिब ६ लाख रुपैयाँ खर्च हुने र ५० वटा घरका लागि करिब ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट सरकारले व्यहोर्नेछ।
नुवाकोटको विदुर नगरपालिकामा सिँचाइ विभाग र नेपाल विद्युत् प्राधिकरणको कोलोनी नजिकै करिब १ सय रोपनी जग्गा बाढीपीडितका लागि छुट्याइएको छ। स्थायी घर निर्माण नभएसम्म पीडितले त्यहीँ बस्न सक्नेछन्।
विभागले दीर्घकालीन रूपमा करिब ६ सय घर आवश्यक पर्ने अनुमान गरेको छ। यसअघि १ हजार २ सय घर आवश्यक पर्ने अनुमान गरिए पनि पछिल्लो विवरणमा आवश्यकता घटेको जनाइएको छ।
सरकारले स्थायी घर निर्माणका लागि छुट्टै कार्यविधि बनाउने तयारीसमेत गरेको छ। आफ्नै जग्गा भएकालाई घर निर्माणका लागि सहयोग र जग्गा नभएकालाई जग्गा खरिद वा आर्थिक सहयोग उपलब्ध गराउने विकल्पमा छलफल भइरहेको छ।
भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा ७ हजार ५ सय ७० सरकारी, सार्वजनिक तथा निजी भवनमा क्षति पुगेको विभागले जनाएको छ।
प्रकाशित: २२ आश्विन २०८३ १९:४३ बिहीबार





