१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरामा हेलिकोप्टरमार्फत आउने भक्तको संख्या बढ्दो

माउन्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि करिब तीन महिना भएको छ। तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न हेलिकोप्टर आउन थालेका हुन्।

धरानको भेडेटारबाट दसैयता ७० उडान भएका छन्। सो उडान हुँदा ४ सय ५० भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठले बताए। सदरमुकाम फुङ्लिङ, पाँचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।  

धरानबाट ३२ हजार रूपैयाँमा एक यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर श्रेष्ठ बताउँछन्। यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएकाले कम उडान भएको जनाइएको छ। यात्रुका हिसाबले एक पटकमा पाँच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन्।

फुङ्लिङबाट १० हजार, पाँचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार रूपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बुले बताए। काठमाडौंबाट सिधैं आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले जानकारी दिए। हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको समितिले जनाएको छ। ‘हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्यांक राख्ने गरेका छौं,’ काफ्लेले भने।  

दसैंको नौरथा सुरु भएको असोज २१ देखि मंसिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ। दुई वर्षअघि चैतमा एकै दिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ।

प्रकाशित: ११ पुस २०७८ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App