१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गैरजिम्मेवार कार्यालय प्रमुखलाई जिल्ला प्रशासनको स्पष्टीकरण

जुम्ला चन्दननाथ नगरपालिका १० स्थित आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख देवेन्द्र ठाकुरलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले स्पष्टीकरण सोधेको छ। दशैँ बिदामा घर गएका ठाकुर दुई महिनासम्म बेखबर बनेको, कर्मचारी व्यवस्थापनका चासो नदिएको र आयुर्वेद स्वास्थ्य केन्द्रमा आवश्यक औषधि खरिद गर्न नसकेकाले सेवाग्राहीले सास्ती बेहोर्नुपरिरहेको भन्दै स्थलगत अनुगमन गरेर प्रशासन कार्यालय जुम्लाले स्पष्टीकरण सोधेको हो।

स्थानीय प्रशासनले कार्यालय प्रमुख ठाकरको काम कारवाहीबारे छड्के अनुगमन गरी स्पष्टीकरण दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलागाईले जानकारी दिए। उनले भने,‘कार्यालय व्यवस्थापन निकै अस्तव्यस्त देखियो। कर्मचारी व्यवस्थापनदेखि विकास निर्माणका काम हुन नसकेको देखियो। यो राम्रो विषय होइन। त्यसैले प्रशासनले स्पष्टीकरण सोधेको हो।’

कार्यालय प्रमुख ठाकुरको गैरजिम्मेवारीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ। पाँच महिनाको कर्मचारीको सेवासुविधा तलबबाहेक अन्य पुँजीगत खर्च हुन सकेको छैन। कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैंमा घर गएर दुई महिना बिनाजानकारी बाहिर बसेका थिए । पुस महिनाको पहिलो साता मात्रै उनी कार्यालय फर्किएका हुन।

लामो समय कार्यालय प्रमुख गायब हुँदा कामकाज प्रभावित बनेको कर्मचारी बताउँछन्। कार्यालय प्रमुख ठाकुरले अन्य कर्मचारीलाई जिम्मेवारी दिएनन। आफू पनि समयमै आएनन्। कर्मचारी गोरबहादुर रावतले भने, ‘अहिले आयुर्वेद स्वास्थ्य केन्द्र समस्याग्रस्त छ। आर्थिक वर्षको पाँच महिना कटिसक्दा कार्यालयको पुँजीगत काम मर्मतसम्भार, डिपिआर निर्माण, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन्।

कार्यालय प्रमुख ठाकुरले आफू बिरामी भएर घर बसेको बताएका छन्। उनले निमित्त प्रमुखको  जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको जनाए। तर, कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको र जिम्मेवारी नदिएकै कारण अहिलेसम्म काम प्रभावित भएको स्पष्ट पारे। उनले भने, ‘अहिलेसम्म कसैलाई पनि निमित्त नदिँदा सबै काम प्रभावित भएको हो। निमित्तको जिम्मेवारी दिएको भए कुनै समस्या आउने थिएन। यो समस्याको जड कार्यालय प्रमुख ठाकुर नै हो।’

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राहीको भिड नै लाग्छ। दैनिक १० देखि १५ जना सेवाग्राही आउछन्। तर, औषधि अभावले रित्तो हात फर्काउनु परिरहेको छ। गोरबहादुरले थपे, ‘खातामा पैसा छ तर औषधि खरिद गर्ने काम अघि बढेको छैन।  सेवाग्राही औषधि लिनबाट वञ्चित भएका छन्।’

कार्यालय प्रमुख ठाकुरले सन्तोषजनक काम नगरेको भन्दै कर्मचारी बीच विवाद भएको थियो। कर्मचारी कार्यालय प्रुमखको नाममा उजुरी दिन जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका थिए।

कार्यालय प्रमुखले सबै पेस्की आफ्नो नाममा लिने तर काम नगर्ने, करार कर्मचारीको जागिर खान्छु भनेर धम्की दिने भएकाले कार्यालय प्रमुख र कर्मचारीको झगडा जिल्ला प्रशासनमा पुगेको थियो। तर, यो वर्ष भने पाँच महिना हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर हाजिरमा रातो चिन्ह लगाएको छ।

गत वर्ष आयुर्वेद स्वास्थ्य केन्द्र जनस्वास्थ्य कार्यालयसँग गाभिएको थियो।अहिले छुट्टै संरचना बनेको छ। गत वर्षकै करीब दुई लाख रुपैयाँ कार्यालय प्रमुख ठाकुरको नाममा बेरुजु रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाका अनुसार ठाकुरको नाममा दुई लाख रुपैयाँ लिए पनि जडीबुटी खरिद नगरेको देखिएको छ।

यसका लागि छानविन समिति गठन गरिएको थियो। समितिले निष्कर्ष विरुवा खरिद नगरेकाले बेरुजु राखिदिएको थियो। ठाकुरको कामप्रति कर्णाली सरकार पनि असन्तुष्ट छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत चिकित्सा शाखा प्रमुख लक्ष्मीनारायाण तिवारीका अनुसार कार्यालय प्रमुख देवेन्द्र ठाकुरको काम सन्तोषजनक छैन। उनले समस्या सामाधानका लागि पहल भइरहेको बताए।

प्रमुख ठाकुर मंसिर १ गतेबाट आफ्नो सरुवा भइसकेको बताउँछन्। उनको आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कामकाज गर्न कर्णाली प्रदेश सामाजिक विकास कार्यालयले खटाएको छ। गत आर्थिक वर्षमा पनि काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो। सानो रकम त्यही पनि काम गर्न नसकिने कर्मचारीलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ पुस २०७८ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App