२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेहनत गरे नेपालमै सुन फल्छ

सवारीमा  हलुका साहित्य मात्र हैन  वजनदार सत्य पनि कोरिएका हुन्छन्। यस्तै सत्य बोकेर दौडिरहेको एउटा ट्याक्सी ज्ञानेश्वरको उकालोमा भेटियो।  ‘मिहेनत गरे नेपालमै सुन फल्छ’  बा २ ज ३४  नम्बरको ट्याक्सीमा कोरिएको  सत्य  हो। यसका चालक हुन धनकुटाका राज श्रेष्ठ।  

खाडीको रापमा झण्डै एक दशक सेकिएपछि मनमा पलाएको भावनालाई सवारीमा कोरेको श्रेष्ठले बताए। ‘नेपालमा बस्दा अल्छी गरिन्थ्यो, अनि पैसा हुँदैन्थ्यो,’ उनले भने, ‘खाडीको दुःखले स्वदेशको महत्त्व सम्झायो।’  

घरपरिवार छाडेर विदेश हिँडेका लामाले त्यहाँ  विभिन्न हण्डर खाएपछि ४ वर्षअघि स्वदेश फर्केर ट्याक्सी चलाउन थालेका हुन्। ‘अहिले ट्यासीसंगै मेरो परिवारको गुजारा राम्रोसँग चलिरहेछ,’ उनले भने, ‘खल्तीमा पैसा अनि मनमा खुसी भरिएको छ।’

अरूको लहलहैमा विदेश हिँडेका उनी आफ्नै अनुभवले स्वदेश फर्केको सुुनाउँछन्। ‘दैनिक १६ घण्टा काम गर्नुपथ्र्यो,’ उनले भने, ‘अहिले  नेपालमा १० घण्टा काम गर्दा राम्रो आम्दानी भएको छ।’ परिवारसँग बसेर काम गर्नुको खुसी झन् ठूलो रहेको उनले थपे।  

राहदानी लिन लागेको हजारौको भिडले अहिलेपनि उनलाई झस्काइरहेको छ । उनी थुप्रैपटक त्यहि बाटो भएर ट्याक्सी दौडाएको पनि सुनाउँछन् । विदेशमा रहेका र विदेश जान हतार गर्नेलाई आफूले सन्देश दिन खोजेको उनले सुनाए। ‘मैले महसुस गरेको कुरा अरूलाई बताउन ट्याक्सीमा भावना कोरेको हुँ,’ उनी भन्छन्, ‘धेरै मान्छेले चासो मानेर सोध्ने गरेका छन्।’  

राजनीतिक अस्थिरता, जनमुखी सरकारको अभाव, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती र युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनुले युवाहरू विदेश पलायन भएको उनको अनुभव छ।  

हरेक नयाँ सरकार बन्नेबित्तिकै युवा नीति र रोजगारबारे चर्चापरिचर्चा भइहाल्छ। युवा रोजगारका सहज वातावरण बनाउने प्रतिबद्धता वर्षौंदेखि आइरहेका छन्। तर, आश्वासनले मात्रै परिवारको मुखमा माड लगाउन नसकिने  उनको बुझाइ छ।

विदेशिएका युवा स्वदेश फर्केको खबर इन्टरनेटमार्फत पढ्ने युवा नेपालमा फर्केर केही गरौं भन्ने चाहन्छन्। तर यहाँ आएकाहरूको अवस्था देखेपछि उनीहरूको मन पनि परिवर्तन हुने उनको बुझाइ छ। ‘सुरुमा त म आफै पनि अलमलमा परेको थिए,’ उनले भने, ‘तर मनलाई बहकिन नदिई आफ्नो काममा लागे।’

काम गर्दा पनि निकै अप्ठेरो आउने गरेको उनले सुनाए। मिहिनेतको काम गर्दा पनि राज्यको केही सहयोग पाउन नसकेको उनको गुनासो छ। ‘सहयोगको त कुरै छाडौ कतिपय अवस्थामा अप्ठरो पार्ने गरेको देखियो,’ उनले भने, ‘युवाहरूलाई काम गर्न सहज नीति ल्याउनु जरुरी छ।’  

विगतमा के भयो, के भएन भन्दा पनि अब के गर्नेतर्फ राज्य अगाडि बढोस् भन्ने चाहना आफूले राखेको उनले बताए। ‘अब राज्यले स्वदेश फर्केका ‘युवालाई यही रोकेर मिहिनेत गर्ने वातावरण बनाओस् भन्ने चाहन्छु,’ उनले भने, ‘तब मात्र मैले गाडीमा कोरेको यो सत्य सार्थक भएको महसुस हुनेछ।’

प्रकाशित: ७ पुस २०७८ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App