पूर्वको उदयपुर जिल्लामा २७ जना वन कर्मचारीले राजिनामा बुझाएको जिल्ला वन अधिकृत किशोर गौतमले जानकारी दिए। राजीनामा दिने १९ जना सशस्त्र वन रक्षक र ८ जना फोरेष्टर रहेको गौतमले बताए। राजीनामा दिनेहरुले घरायसी कामकाजका कारण जागिरमा समय दिन नसक्ने बाध्यता खुलाएका छन्। राजीनामा दिनेहरु १० वर्ष जागिर अवधि पार गरिसकेकाहरु रहेको वन कार्यालयले जनाएको छ। राजीनामा दिएकाहरुको नामावलीका प्राप्त गर्न निवेदन दर्ता गराउनुपर्ने जिवअ गौतमको भनाइ थियो।
सप्तरीका छ जना वनकर्मचारीले कात्तिकको अन्तिम साता राजीनामा दिए। जसमा पाँचा जना सशस्त्र वन रक्षक र एक जना फेरेष्टर रहेको साहायक वन अधिकृत शिवनारायण यादवले बताए। राजीनामा दिनेहरुमा सशस्त्र वन रक्षकहरु वसन्त यादव, राजदेव चौधरी, रामअवतार सिंह, भुपेन्द्र प्रसाद देव, कुसेश्वर पण्डित र फोरेष्टर केशव पौडेलले रहेको यादवले बताए।
राजीनामा दिने सशस्त्र वन रक्षकहरु जागिर अवधि १८ वर्ष पूरा गरिसकेका छन्। फोरेष्टर पौडेलको जागिर स्वतः अवकासको चरणमा थियो।
सिरहामा पाँच जना वन कर्मचारीले राजीनामा दिएका छन्। सशस्त्र वन रक्षक कमलेश राउत, शिवजी रौनियार, लक्ष्मण झा, जोखन चौधरी र इनुस मियाँ धुनिया रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ। घरायसी कामकाजले समय दिन नसक्ने भन्दै उनीहरुले कातिक २७ गत्ते राजिनामा दिएको निमित जिल्ला वन अधिकृत रामनारायण यादवले बताए।
जागिरका बेला पेस गरेको शैक्षिक योग्यताको प्रमाण पत्र फर्जी हुनेहरु धमाधम अख्तियारको फन्दामा पर्न थालेपछि डराएर वनकर्मीहरु राजीनामा दिन थालेको वन कार्यालय सुत्रको भनाइ छ। यतिका वर्ष निर्धक्क काम गर्ने कर्मचारी अचानक घरको कामलाई कारण बनाएर राजीनामा दिनु शंकास्पद रहेको वनका अधिकारीहरु बताउँछन्।
प्रकाशित: १२ मंसिर २०७१ ०४:५७ शुक्रबार





