coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा रौतहटमा तीन फायर अश्रु ग्याँस प्रहार

रौतहटको फतुवा विजयपुर नगरपालिकामा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपमा प्रहरीले आन्दोलनकारीमाथि तीन फायर अश्रु ग्याँस प्रहार गरेको छ।

आइतबार राती टिपरको ठक्करले स्थानीय एक जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको आरोपीलाई प्रहरीले बचाउन खोजेको आरोपमा सोमबार मृतकका आफन्त तथा स्थानीयवासीले प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन्। प्रहरीमाथि नै प्रहार हुन थालेपछि प्रहरीले भीडलाई तितरबितर पार्न तीन सेल अश्रु ग्याँस प्रहार गरेको हो।

आइतबार राती फतुवा विजयपुर नगरपालिका ११ हिमालीबासको भित्रि सडकखण्डमा ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडा नम्बर ९ का ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयले दुई ओटा टिपरमा तोडफोड गरेका थिए।

घटनाका मृतक चौधरीको शवलाई प्रहरीले आइतबार राती नै पोस्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट गौरमा लगेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो।

यसैबीच सोमबार मृतकका आफन्त र केही स्थानीयवासी वडा नम्बर ८ मा रहेको विजयपुर बजारमा भेला भई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनलाई रोक्न प्रहरी सक्रिय भएपछि आन्दोलनकारीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेको प्रहरीको भनाइ छ।

भीडलाई नियन्त्रण लिन प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर चालक बारा जिल्लाको कोल्वी नगरपालिका २ पुरानोकाटाका ३६ वर्षीय भरतलाल रुम्बा इलाका प्रहरी कार्यालय कोल्वी बाराको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।

सोमबार साँझसम्म विजयपुर बजारको पसल नखुलेको तथा सडक सुनसान रहेको देखिएको छ। बजारको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको दाबी छ।

प्रकाशित: ५ पुस २०७८ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App