८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी र मोरङमा भएका अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

शनिबार राति आठ बजेको समयमा सुनसरी गढी गाउँपालिका वडा नं. ५ सतेरझोडाको भित्री कच्ची सडक खण्डमा रोकेर राखेको को ३ त ३९ नम्बरको ट्रयाक्टरको पछाडिको डालामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ट्रयाक्टरको ढालामा ठोकिँदा पूर्वबाट पश्चिम जाँदै गरेको ना ८ प ४३९० नम्बरको मोटरसाइकल चालक गढी गाउँपालिका वडा नं. ६ का २५ वर्षेे निराजन रायको घटना स्थलमै मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार गढी वडा नं. ६ कै २७ वर्षे अक्षय रायको टाँउकोमा चोट लागेको छ। उनको विराट नसिंह होम विराटनगरमा उपचार भइरहेको छ।

यसैगरी, पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ कानेपोखरी वडा नं. ७ मा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२–०१६ प १२५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा कानेपोखरी वडा नं. ६ की ५६ वर्षीया दिलकुमारी लावतीको मृत्यु भएको हो।

मोटरसाइकलले ठक्कर दिँदा  लावतीको टाउको, ढाड र छातीमा चोट लागेको थियो। तत्काल उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेकोमा त्यहाँ उपचार सम्भव नभएर न्यूरो अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालक सप्तरी कञ्चनरुप वडा नं. १२ का २५ वर्षे बिक्रम बन्जरालाई नियन्त्रणमा लिएको छ।

प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा शनिबार भएका दुर्घटनामा परि २७ जना घाइते भएका छन्। घाइतेमध्ये सात जना गम्भीर घाइते भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी, हिउँदमा पूर्वका जिल्लामा बढी मात्रमा दुर्घटना हुने गरेको छ। 

प्रकाशित: ४ पुस २०७८ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App