नेपाल सरकारसँग सुदूरपश्चिमका विभिन्न २१ वटा माग राख्दै थालिएको शालिन महोत्सवी आन्दोलन १९ औँ वर्षमा पुग्यो। तर, अहिलेसम्म राखिएका मागहरू पूरा हुन सकेका छैनन्। हरेक वर्ष कैलाली उद्योग वाणिज्य संघले मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव सञ्चालन गर्छ। महोत्सवमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मलाई प्रमुख अतिथिमा निम्त्याइन्छ। तिनै बहालवालाले महोत्सव उद्घाटन सत्रमा मञ्चमा जायज माग भन्दै भाषण फलाक्छन्। तर, मञ्चबाट उत्रिएपछि ती मागको कुनै सुनुवाइ नै हुँदैन। १९ वर्ष अघि सुदूरपश्चिमका जनताले राखेका मागहरू अहिलेसम्म पनि पूरा हुन सकेका छैनन्।
२०६३ सालमा सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ। आफूहरु हरेक वर्ष सुदूरपश्चिम बनाउने मागहरू राख्दै आएको बताउँदै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने,‘हामीले २१ बुँदे माग राख्दै सुरु गरेको महोत्सवले १९ वर्ष पार गरिसकेको छ । तर, अहिलेसम्म हामीले राखेका माग मध्ये ५ वटा मात्रै पूरा भएका छन्।’
उद्योग वाणिज्य संघले १९ वर्ष अघि तत्कालीन सरकारलाई सुदूरपश्चिमको विकासका लागि भन्दै २१ बुँदे माग राख्दै शालिन आन्दोलनको सुरुवात गरिएको बताउँदै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने,‘१९ वर्षको अवधिमा जम्मा ५ माग मात्रै सरकारले पूरा गरेको छ, १६ माग अझै बाँकी नै छन्।’ तत्कालीन समयमा महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो। पछि माग घट्दै गएर १६ किलोको मालामा झरेको उनले बताए।
‘हामीले सुदूरपश्चिमको विकासका प्रमुख २१ माग राखेर २०६३ सालमा प्रमुख अतिथिलाई पनि २१ किलोको माला पहि¥याएर महोत्सव उद्घाटन गरेका थियौ,’ उनले भने,‘जति माग सरकारले पूरा ग¥यो, त्यति माग कम भएको तौल बराबरको माला प्रमुख अतिथिलाई पहि¥याउने गरेका थियौँ।’
२१ वर्ष अघि राखेका माग मध्ये अप्टिक फाइबर विस्तार, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना, छैटौँ राष्ट्रिय खेलकुद आयोजना तथा रंगशाला निर्माण, आइसियु स्थापना र दुग्ध प्रशोधन केन्द्र स्थापनासहितका ५ माग पूरा भइसकेका छ भने ६ वटा माग आंशिक सम्पन्न हुन थालेको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले बताए। २१ बुँदे माग मध्ये आंशिक रुपमा भएका मागहरूमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चरणमा रहेको छ।
यस्तै प्रदेश सभा सम्मेलन गृह स्थापना भइसकेको छ। तर, राजनीतिक खिचातानीका कारण प्रयोगमा आउन सकेको छैन। दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य सुस्त गतिमा रहेको छ। प्रदेश स्तरीय पर्यटन केन्द्र स्थापना भए पनि काम गरेको छैन। त्यसैमा खप्तड, घोडाघोडी, शुक्लाफाँटा जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने भनिए पनि पूर्वाधार बनाइएकै छैन । गेटा विमानस्थल कालोपत्रे माग गरिएको थियो। कैलाली उद्योग वाणिज्य संघले १ रुपैयाँ संकलन गरेर कालोपत्रे निर्माणको अभियान थालेको थियो । धावनमार्ग कालोपत्रे भयो।
तर, गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न माग गरिएको थियो। उक्त मागको सुनुवाइ नै नभएको महासचिव बिष्ट बताउँछन्। यस्तै चिसापानीदेखि गड्डाचौकीसम्म वनजंगल नरहेका पुराना बजारको जग्गा दर्ता गरिनुपर्ने माग रहे पनि जग्गा दर्ताका लागि कागजात माग भए पनि दर्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन।
कैलाली उद्योग वाणिज्य संघले संघीय र प्रदेश सरकार समक्ष राखेका १० वटा मागको भने अहिलेसम्म सुनुवाइ नै भएको छैन। सुनुवाइ नभएका माग मध्ये गौरीफन्टा नाकालाई सुविधा सम्पन्न अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने, प्रदर्शनी स्थलको निर्माण गरिनुपर्ने, सुदूरपश्चिममा उद्योग स्थापनार्थ प्रोत्साहन स्वरूप १० वर्ष कर निःशुल्क जोन घोषणा गरिनुपर्ने, भौतिक संरचना पूरा भइसकेको गेटा मेडिकल विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने, सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खुलाउनु पर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, कृषि विश्वविद्यालय स्थापना गरिनुपर्ने, प्रदेश सांस्कृतिक संग्रहालय स्थापना गरिनुपर्ने, सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरिनुपर्ने र सूचना प्रविधि क्षेत्र (आइटी पार्क) स्थापना गरिनुपर्ने रहेका छन्।
‘यी १० वटा मागहरू संघीय र प्रदेश सरकारसँग सम्बन्धित रहे पनि दुवै तहका सरकारले कुनै चासो दिएको छैन,’ महासचिव बिष्टले भने,‘हामी सधैं उही माग राख्छौँ, पूरै हुँदैनन्।’ यसअघिका महोत्सवहरूमा राष्ट्रपति रामवरण यादव, नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, भीमबहादुर रावललगायतलाई प्रमुख अतिथि बनाइएको थियो। प्रमुख अतिथिलाई सुदूरपश्चिमका २१ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउनुका साथै २१ किलोकै फूलको माला पहि¥याएर विकासका लागि माग गरिएको थियो। ‘नेताहरुलाई प्रमुख अतिथि बनाउँदै हरेक वर्ष उही माग राख्छौँ, मञ्चमा बोल्दा माग पूरा गर्छौँ भन्छन्,’ बिष्टले भने,‘तर पनि तिनै मागहरू नेताहरुले अहिलेसम्म पूरा गरिदिएकै छैनन्।’
प्रकाशित: १३ मंसिर २०८१ १५:०८ बिहीबार