२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साकेला उधौली उदयपुरमा धुमधाम, प्रदेश १ को नाम ‘किरात’ राख्न माग

त्रियुगा नगरपालिका ५ श्रीपुरमा आयोजित ‘छिरीनाम (उधौली) ५०८१’ कार्यक्रममा यायोक्खा उपाध्यक्ष दिपक किराती। तस्बिर: महेश्वर/नागरिक

स्थापनाको ५ वर्ष पुग्नलाग्दासम्म नामाकरण नपाएको १ नं. प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने यहाँका अगुवाहरुले माग गरेका छन्। किराती समुदायको महान् चाड ‘साकेला उधौली (छिरीनाम) ५०८१’ को अवसरमा आईतबार उदयपुरमा आयोजित कार्यक्रममा प्रदेशको नाम किरात राख्नुपर्ने र छिट्टै नामाकरण गर्नुपर्ने माग किराती अगुवाहरुले गरेका हु्न्।

‘साकेला छिरीनाम ५०८१’ को अवसरमा सदरमुकाम गाईघाटमा आयोजित सामुहिक भूमि (शिकारी) पुजा तथा चुल्हा पुजा र पितृतर्पण कार्यक्रममा सहभागी अगुवाहरुले १ नं. प्रदेशको नामाकरण किरात हुनुपर्नेमा जोड दिए। भाषाशास्त्री डा. कैलाश राईले पहिचान र सभ्यताको आधारमा किरात प्रदेश नामाकरण हुनुपर्ने बताए। देशका अन्य ५ वटा प्रदेशहरुको नाम पहिचानविहीन भएको भन्दै उनले पहिचानसहितको संघीयताको नारा लिएर स्थापना भएको गणतन्त्र र संघीयतामा प्रदेशहरुको नाम पहिचानविहीन हुनु अस्वभनीय भएको बताए।

‘किरात’ शब्द जातीगत नभएर सभ्यता भएको भन्दै यसलाई समुदायगत भन्नु गलत आरोप भएको उनको भनार्ई थियो। किरात शब्दलाई सभ्यताको संज्ञा दिनुपर्ने भन्दै डा. राईले प्रदेशको नाम किरात राख्दा सभ्यता, पहिचान र वहुसंख्यक प्रदेशवासीको माग संबोधन हुने बताए। किराती नछुङ (बिजुवा) राजु राईले प्रदेशको नाम किरात राख्नुपर्नेमा जोड दिए। देशका ५ वटा प्रदेशको नाम नदी र खोलाबाट राखेकोमा असन्तुष्टि जनाउँदै उनले पहिचान खोलानाला, पार्खापर्वत र ढुंगामाटोले मागेको नभई जनताले मागेको हुनाले त्यो माग संवोधन गर्न पनि प्रदे्शको नाम पहिचानयुक्त हुनुपर्ने राईको भनाई थियो।

पत्रकार महासंघका पूर्व उपाध्यक्ष भोटराज राईले पनि १ नं. प्रदेशको नाम किरातको बिकल्प खोज्न नहुने बताए। किराती समुदायको बाहुल्यता रहेको प्रदेश १ मा पहिचानको नाम राख्नु् आवश्यक भएको भन्दै त्यसका लागि किरात प्रदेश उपयुक्त हुने उनको सुझाव छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दासमेत वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर लिपिबद्ध भएको प्रदेश १ को नाम किरात राख्न कसैले चित्त सानो पार्न नहुने राईले बताए।

किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष नविन राईले प्रदेश १ को नाम किरात नै राख्नु पर्ने र छिट्टै नामाकरण गर्नुपर्ने सुझाए। उनले गगणतन्त्र र संघीयताको छुट्नै नहुने पाटो पहिचान भएको हुनाले पनि १ नं. प्रदेशको नाम किरातको विकल्प हुनैनसक्नेमा जोड दिए। युवाहरु गजेन्द्र राई, सशिका राई, गीता राई र दिपक बान्तवा राईले पनि प्रदेश नामाकरण गर्दा किरातबाहेक अन्य हुन नहुनेमा जोड दिए।

छिरीनाम उधौलीको भूमि पुजा गर्दासमेत भक्तजनहरुले प्रदेशको नाम किरात राख्न र छिट्टै नामाकरण गर्न सफलता मिलोस् भन्ने प्रार्थना गरेको नछुङ राजु राईले बताए। किरात संवत विश्वको सबभन्दा पुरानो सभ्यता भएको भन्दै कार्यक्रममा सहभागीहरुले यो ऐतिहासिक तथ्यलाई आत्मसात गर्न र प्रदेशवासीको माग संवोधन गर्न पनि किरात प्रदेश हुनुपर्नेमा जोड दिए।

हाल किरात संवत (येले दुङ) ५०८१ चलिरहेको छ। यो संवत विश्वभरका संवतमध्ये सबभन्दा पुरानो र किराती राजा यलम्बरको शासनकालदेखि चलिआएको तथ्य डा.राईले पेश गरे। हरेक माघ १ गते नयाँ संवत सुरु हुने येले दुङ आउँदो माघदेखि ५०८२ सुरु हुदैछ। नेपाली संवत २०७८ भन्दा किरात संवत ३ हजार ३ वर्ष जेठो र अंग्रेजि इश्वी संवतभन्दा ६० वर्ष पुरानो संवत भएकाले यसलाई विश्वकै पुरानो मानव सभ्यता मानिएको डा. राईको भनाई छ।

किराती धर्म संस्कार अनुसार जाडो याममा साकेला उधौली मानिन्छ भने गर्मी याममा उभौली मनाउने गरिएको छ। किराती अगुवा प्रेमकुमार राईका अनुसार काराङकुरुङ नामक एक प्रकारको चराको समूह जाडो छल्न तराई (बेँसी)तिर झर्ने यामलाई उधौली (छिरीनाम) र गर्मी छल्न हिमाल (लेक)तिर चढ्ने समयलाई उभौली (धिरीनाम) भन्ने गरिन्छ। प्राध्यापक डा. राईका अनुसार साकेला छिरीनाम मंसिर–पुसमा र धिरीनाम वैशाख–जेठमा पर्दछ। यी दुवै चाडलाई किराती समुदायले विशेष महत्वका साथ मनाउने गरेको छ।

छिरीनाम धिरीनाम दुवै चाडमा साकेलाथानमा सामुहिक भेला भएर रातो भाले र अण्डाको बली दिएर भूमि (शिकारी) पुजा गरिन्छ भने् सामुहिक चुल्हा पुजा गर्दै गोलो घेरा लगाएर ढोलझ्याम्टा बजाउँदै सिली नाच्ने गरिन्छ। भालेको पोलेको मासु, अण्डा र कोदोको जाँड तथा रक्सी पितृलाई अनिवार्य चढाएर मात्र सामुहिक भोजन गर्ने परम्परा रहेको डा. राई बताउँछन्।

उदयपुरमा यसवर्षको उधौली भव्यरुपमा मनाइदैछ। किरात राई यायोक्खा उदयपुरको समन्वय तथा स्थानीय यायोक्खा प्रारम्भिक कमिटीको आयोजनामा जिल्लाका बिभिन्न ठाउँमा भूमिपुजा र चुल्हा पुगेर छिरीनाम मनाईरहेको यायोक्खा उदयपुरले जनाएको छ। यायोक्खाका कार्यबाहक अध्यक्ष नविन राईका अनुसार गाईघाटमा त्रियुगा नगर कमिटीको आयोजनामा आईतबार विहानै भूमि पुजा तथा चुल्हा पुगेर पितृतर्पण कार्यक्रम सम्पन्न भएको छ।

त्रियुगा नगरपालिका ११ साकेलाटोलस्थित साकेलाथानमा आयोजित कार्यक्रममा सामुहिक तथा बिभिन्न व्यक्तिले भूमि पुजा गरेको यायोक्खाले जनाएको छ। नेकपा (माओबादी) केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई, युवा नेता किरण राई, भाषाशास्त्री डा. कैलाश राई, समाजसेवी प्रेमकुमार राईलगायत अगुवाहरुको उपस्थितिमा छिरीनाम कार्यक्रम सम्पन्न भएको नछु्ङ (बिजुवा) राजु राईले बताए।

त्यस्तै कटारी नगरपालिकाको साकेलाथानमा पनि आईतबारै छिरीनाम भव्यरुपमा मनाइदै छ। सांसद सुरेककुमार राईको प्रमुख आतिथ्यमा त्यहाँ भूमि पुजा, सामुहिक चुल्हा पुजा र पितृतर्पण कार्यक्रम गर्दै छिरीनाम मनाइएको यायोक्खा कटारी नगर समिति अध्यक्ष पदम राईले बताए।

उता चौदण्डीगढी नगरपालिका ७ बेलटारमा छिरीनामकै अवसर पारेर प्रथम किराती राजा यलम्बरको मुर्ति अनावरण भएको छ। यायोक्खा उदयपुरका संस्थापक अध्यक्ष स्वर्गीय कृष्ण चामलिङको स्मरणमा उनका ३ श्रीमतिहरु किन्दरमाया, सुनमाया र धु्रवतारा पुमा राईको व्यक्तिगत लगानीमा मुर्ति निर्माण भएको यायोक्खा चौदण्डीगढी नगर अध्यक्ष अञ्जना राईले बताईन्।

यायोक्खा नगर सहसचिव निर्मला राईका अनुसार बेलटारको साकेलाथान परिसरमा निर्मित पूर्णकदको मूर्ति बनाउन राईत्रयले ४ लाख २५ हजार लगानी गरेका छन्। आईतबार छिरीनाम भूमि पुजा ५०८१ को अवसरमा आयोजित कार्यक्रममा चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले मूर्तिको अनावरण गरे। व्यक्तिगत लगानीमा निर्मित मूर्तिले चौदण्डीगढी नगरपालिकाको ऐतिहासिक स्वभा बढाएको यायोक्खा नगर सचिव शेखर राईले बताए।

छिरीनामको अवसरमा बेलका नगरपालिकाका बिभिन्न वडाहरु तथा उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङब्ङ गाउँपालिकाका बिभिन्न वडामा बिभिन्न कार्यक्रम गरी चाड मनााउने क्रम चलिरहेको यायोक्खाले जनाएको छ। सदरमुकाम त्रियुगाका गाईघाटबाहेक बोक्से, जोगीदह, बगाहा, मोतिगडा, जलजले, श्रीपुर, दमौटी, खाँबु, साउने र चिलाउनेमा सामुहिक भूमि पुजा गरेर छिरीनाम मनाउने क्रम चलिरहेको यायोक्खा उदयपुरमा उपाध्यक्ष दिपक किरातीले बताए।

प्रकाशित: ४ पुस २०७८ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App