७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

फोक्सिन्टारमा पुल नबन्दा वर्षेनी बेलिब्रीजमा खर्च

गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग)मा पर्ने सुनकोसीमा बेलिब्रीज पुनर्जडान भएपछि उदयपुर र खोटाङबीचको सोझो यातायात भर्खर सुचारु भएको छ।

दुई जिल्ला सदरमुकामलाई जोड्ने लोकमार्गको उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका १ मा पर्ने फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान भएपछि यातायात सुचारु भएको हो।

कोसीको बाढीले बगाउने जोखिमका कारण दुई जिल्लालाई सोझो यातायातले जोड्न वर्षेनी हिउँदमा बेलिब्रीज लगाउने तथा वर्षा लागेपछि खोल्ने गरिएको छ। जस अनुसार हरेक चैत–वैशाखमा बेलिब्रीज खोल्ने गरिन्छ भने कात्तिक–मंसिरमा पुनर्जडान गर्ने गरिएको छ। यो वर्ष पनि गत वैशाखमा खोलिएको बेलिब्रीज भर्खरै जडान गरिएको हो।

पुनर्जडान कार्य गत मंसिर ४ गतेदेखि सुरु गरी ३ सातामा सकिएको हो। पुनर्जडान सकिएसँगै बिहीबार दिउँसोदेखि यातायात आवागमन सुचारु भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेका अनुसार चालू वर्ष ८५ लाख लागतमा बेलिब्रीजको ठेक्का रेग्मी–भानुमति–चौधरी जेवीले पाएको छ। ५० मिटर लम्बाई र ५ मिटर चौडाईको सिंगल लेन बेलिब्रीज पुनर्जडान गर्न २५ दिन पूरा लागेको इन्जिनियर पाण्डेले बताए।

बेलिब्रीज बनेसँगै गाईघाट–दिक्तेल सोझो यातायात सुचारु भएको छ। बेलिब्रीज नहुँदा कोसी तर्न नसकिने हुँदा गाईघाट दिक्तेल आउजाउ गर्ने सवारी साधन मोटरसाईकलदेखि मालबाहकसम्म कोसीवारीका वारी र पारीका पारी रहनुपर्ने समस्या छ।

गाईघाटदेखि गएका साधनहरु फोक्सिन्टार, रसुवा र चनौटेसम्ममा कोसी वारी पारी रोकेर यात्रुलाई झोलुङ्गे पुल तरेर गन्तव्य पुग्न अर्को गाडी चढ्नुपर्ने बाध्यता छ।

फोक्सिन्टारमा झण्डै १ दशकअघि निर्माण सुरु भएको पक्की मोटरेवल पुल अलपत्र छ। रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार त्यहाँ पुल बनाउने भनेर काम थालेको वर्षौं भए पनि ठेकेदार कम्पनीको बेवास्ताले हालसम्म पिल्लर मात्र बनेको छ। सरासर काम गर्ने हो भने ६ महिनामा सकिने पुल बनाउन निर्माण कम्पनीको लापरबाही र सरकारको तदारुक्ता नहुँदा दुई जिल्लाबासी नागरिकलाई समस्या परेको हो।

समयमा पुल नबन्दा वर्षेनी राज्यकोषको रकम बेलिब्रीज लाउँदै फुकाल्दै गरिराख्नु पर्ने बाध्यता रहेको वडाध्यक्ष राईले बताए। सगरमाथा लोकमार्गको गाईघाटदेखि साउने हुँदै फोक्सिन्टारसम्म सडक कालोपत्रे हुने क्रममा रहे पनि कोसीमा निर्माणाधीन पुलको काम कछुवा गतिमा हुनुले यातायात व्यवसायीदेखि सर्वसाधारणसम्मलाई मर्का परेको छ।

पुल निर्माण ढिला भएकै कारण वर्षेनी सुनकोसीमा बेलिब्रीज जोड्दै खोल्दै गर्नुपर्ने समस्या आईपरेको गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रमुख (डिई) गोपाल खकुरेल बताउँछन्। उनका अन्ुसार गाईघाट दिक्तेल सडक निर्माणको जिम्मा मात्र आफूले पाएको तर, सोही सडक खण्डमा पर्ने फोक्सिन्टारमा निर्माणाधीन पुलको रेखदेख गर्ने अधिकार भने सुनसरीस्थित पुल सेक्टर नं. १ धरानले पाएको छ।

पुल बन्न थालेको धेरै वर्षं भईसक्दा पनि अहिलेसम्म नबन्नमा कसको दोष छ आफू भन्न नसक्ने उनले बताए। दुवैतर्फको पिल्लर निर्माण भइसकेकाले अव जोड्न मात्र बाँकी देखिएकोले सरासर काम गरे ६ महिना वर्षदिनभित्र पुल बनिसक्ने उनको अनुमान छ। तर, काम किन ढिला भइरहेको छ भन्ने विषयमा आफु अनविज्ञ रहेको उनले बताए। त्यसबारे जानकारी लिन पुल सेक्टर कार्यालय धरानमै सम्पर्क गर्न पनि खकुरेलले सुझाए।

प्रकाशित: १ पुस २०७८ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App