१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

युवा जति कालापहाड, गाउँ महिला बालबालिकाको भरमा

जुम्ला तिला गाउँपालिका २ का धनबहादुर परियार पाँच वर्षअघि काठमाडौँको सिंहदरबार गाउँमा आइपुगेको खबरले निकै उत्साहित थिए। अब गाउँमै रोजगारी सिर्जना भएर कालापहाड यात्रामा पुर्णविराम लाग्ने आशा बोकेका थिए। तर स्थानीय तहको निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा रोजगारीका कुनै अवसर सिर्जना नभएपछि निकै निराश छन्। उनले भने, ‘गाउँका सरकारको स्वरोजगार सिर्जना गर्नेतिर ध्यान छैन। सडकलाई नै विकासको आधार सम्झिरहेका छन्। डोजरले मात्र विकास सम्भव भएको रटान लगाउँछन्।’ उनले थपे, ‘काठमाडौँको अधिकार आँगनमा आयो भनियो। तर गाउँसम्म अझै पुगेन। पहुुँचवालाको वरिपरि मात्र रह्यो। सर्वसाधारण नागरिकलाई कालापहाड जान छुटेन।’

जुम्लाका शेरबहादुर रावत कालापहाड जानको लागि हिँडेको एक साता पुग्यो। उनी प्रत्येक वर्ष कालापहाड जान्छन्। हिउँदको चार महिना कालापहाड बिताउने गरेका उनी खेतिपाती सिजनमा घरमा आइपुग्छन्। ‘कालापहाड जानुको एउटा मात्र कारण हो, गाउँमा रोजगारी पाइँदैन्, स्वरोजगारका कार्यक्रम हुँदैनन्’, उनले भने, ‘परिवारको लत्ताकपडा फेर्नकै लागि भएपनि कालापहाडको यात्रा नगरी सुखै छैन। कालापहाड यात्रा गर्दा गर्दा बानी परिसकेको छ।’

गाउँमा विकास डोजर र डोजर मालिकले गर्छन्। जनताले काम गरेर जिविका चलाउने भरपर्दो काम पाइँदैन्। जनप्रतिनिधि र कर्मचारीले कमिशनको आसले समुदाय केन्द्रित योजना बनाउँदैनन्। ठेकेदार र उपभोक्तामैत्री योजना बनाउने भएकोले सर्वसाधरणले कुनै शान्तिको महसुस गर्न पाउँदैनन्। उपभोक्ता समिति आफ्नो अनुकुलको नातागोता पर्ने बनाउँछन्। निमुखा र विपन्न नागरिक कालापहाड जानुको विकल्प हुँदैन। उनले थपे, ‘शासन व्यवस्था फेरियो, कर्णालीबासीको कालापहाड जाने क्रम रोकिएन। झन् बढ्न थाल्यो।’

यहाँका अधिकांस युवा कालापहाडमा छन्। सिँजाका वीरबहादुर खत्री कालापहाडबाट फर्किन समय लाग्ने बताउँछन्। तिहार मनाएको एक साताभित्रै कालापहाडतिर हानिएका उनी अहिले स्वरोजगारका अवसर नहुँदा अर्काको देशमा आएर काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। उनले भने, ‘गाउँमा काम पाइँदैन, काम खोज्न कालापहाड जानुको विकल्प छैन। गाउँको काम ठेकेदारको हातमा छ।’

कर्णालीको जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पा लगायतका सुदुरपश्चिम क्षेत्रबाट यो समयमा कालापहाड जानेको लर्को नै लाग्छ। कालापहाड पुगेर पसिना बगाउनु बाध्यता भएको स्थानीय मान बहादुर कामी बताउँछन्। ‘सरकार गरिव लक्षित कार्यक्रम ल्याउँदैन। आएका कार्यक्रममा पहुँचवालाको हालीमुहाली हुन्छ। किन घरमा बसिराख्ने? त्यो भन्दा कालापहाड नै जाति,’ उनले भने।

पहिले एउटा सरकार थियो। गाउँमा विकास आउँदैनथ्यो। तर अहिले तीन तहको सरकार आइपुग्दा पनि गाउँमा रोजगारी सिर्जनाको वातवरण छैन। नेपालको समृद्धिको बाधक सरकार नै हो।  उनी भन्छन्, ‘कालापहाडबाट घर फर्कदा फेरि कहिले फर्कन नपरोस भन्ने लाग्छ, गाँउमा पुग्दा ढुक्कसँग बस्न सकिने अवस्था छैन। आम्दानीको स्रोत केही देखिँदैन। कालापहाड नफर्केर सुख नै छैन।’

कालापहाडमा पुगेर कुल्लीको काम गर्ने, गलैचा व्यापार गर्ने र जडिबुटीको व्यापार गर्ने गर्छन्। कालापहाड जानु कर्णालीबासीको रहर होइन, बाध्यता हो।  

कालापहाड जानेलाई लैजान भारतबाट मान्छे सुर्खेत, नेपालगन्जसम्म आइपुग्छन्। कर्णाली सडकमा कालापहाड जानेले सवारी भरिभराउ छन्। भारतको कुमाउ, गडवाल, हिमाञ्चल प्रदेश, उत्तर प्रदेश तिर यहाँका मानिसहरु कामको खोजीमा पुग्छन्। पछिल्लो समयमा खाडीमुलुक जाने युवाको पनि लस्करै छ। हिउँदका चार महिना कर्णालीका गाउँ बुढाबुढी, महिला र बालबालिकाले धानेका हुन्छन्।

प्रकाशित: २९ मंसिर २०७८ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App