४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बुढी खोलाबाट मनोमानी उत्खनन गर्दा ट्रयाक्टर नियन्त्रणमा

इटहरी उपमहानगरपालिका क्षेत्र अन्तर्गत पर्ने बुढी खोला क्षेत्रमा मनोमानी ढंगले बालुवा र भरोट उत्खनन गर्दा सातवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। ठेक्का नलगाएको खोलाबाट मनोमानी रुपमा उत्खनन गरि बालुवा र भरोट निकाल्दै गर्दा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।

मनोमानी ढंगले बालुवा र भरोट निकालेर बिक्री गर्नेमध्ये खोलामा भेटिएका ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। प्रहरीका अनुसार को २ प ६६२६, को १ त ६०५९, को १ त ९३४९, को १ त ५१८७, को १ त ४५०, को १ त ६२४२ र को १ त ७४६० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो।

प्रहरीले इटहरी वडा नं. ३ का तालतलैया क्षेत्रबाट ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशव कट्वालले बताए। उनका अनुसार ठेक्का नलगाएको खोलाबाट अनाधिकृत रुपमा बालुवा र भरोट चोरी निकासी गरेको सूचनाका आधारमा निगरानी थालिएको छ। निगरानी गर्ने क्रममै एकैपटक ट्रयाक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि उपमहानगरपालिकाको जिम्मा लगाएको प्रहरी निरीक्षक कट्वालले बताए।

इटहरी क्षेत्रमा खोला ठेक्का लाग्न बाँकी छ। तैपनि अवैध रुपमा बालुवा, गिट्टी र ढुंगा चोरी निकासी हुँदो छ। दुहवी नगरपालिका र बुढी गाउँपालिका खोला क्षेत्रमा पनि बुढी खोला नदीबाट मनोमानी ढंगले बालुवा र भरोट निकाल्ने क्रम रोकिएको छैन।

बुढी खोलाबाट यसरी मनोमानी ढंगले बालुवा र भरोट निकाल्दा बर्खाको बेला बाढी आउँदा ठूलो नोक्सानी हुने खतरा छ। कात्तिक पहिलो बेमौसमी वर्षाबाट बुढी खोलामा आएको बाढी र ०७४ साउन २७ गते आएको बाढीले सुनसरी-मोरङका थुप्रै वस्तीमा ठूलो क्षति गरेको थियो। २०७४ सालमा आएको बाढीले गर्दा त इटहरी क्षेत्रका नौं जनाको मृत्यु भएको थियो। पछिल्लो समय कात्तिकमा आएको बाढीले पनि इटहरी क्षेत्रमा मात्रै छ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २६ मंसिर २०७८ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App