३ असार २०८१ सोमबार
image/svg+xml
समाज

न्यायिक समिति भन्दा प्रहरीमा भरोसा

न्याय निरुपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन सकेको छैन। जसका कारण अधिकांस सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन्। जनप्रतिनिधि राजनीतिक पेरीफेरीबाट आएकोले न्याय नपाउने स्थानीय बताउँछन्।

प्रहरीले नै न्याय दिलाउँछ भन्ने मान्यता अहिले सम्म कायमै छ। जिल्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन्। सबै स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ। तर न्यायिक समिति प्रति नागरिकको भरोसा छैन।

जिल्लाको गुठिचौर गाउँपालिकामा अहिले सम्म ५९ उजुरी परे। गत आर्थिक वर्षमा ४१ उजुरी परेकोमा यो वर्ष १८ उजुरी परेका छन्। यी सबै घरेलु हिंसा, झैझगडा र कुटपिटका उजुरी हुन्। यी उजुरी हेर्न स्थानीयत हमा न्यायिक समिति छ। तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीको उजुरी दिन जाने गरिएको छ। प्रहरी चौकी झारज्वालाका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठले सबैभन्दा बढी पतिपत्नीबीचमा हुने विवादका उजुरी आइराखेको बताए।

उनले प्रहरी चौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कार्बाही हुने र जटिल खालका उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लामा पठाउने गरेको जानकारी दिए। 'महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरू बाहिर आउन थालेका छन्,' उनले भने,‘उजुरी दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ। तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्। पहिले झनै धेरै घटना हुन्थे, बाहिर आउन नसकेर मात्रै हो। अहिले घटनाहरू खुलेर आउन थालेका हुन्।’

गुठिचौर गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक जानदेबी ऐडी न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताउँछिन्। उनले भनिन्,‘पहिलेदेखि उजुरी प्रहरीको दिने बानी परेका स्थानीय अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन्। पटक पटक न्यायिक समितिमा उजुरी गर्न आग्रह गरिएको भएपनि विश्वास गरेको देखिँदैन।’

उनले गाउँपालिकामा आउने उजुरीको समाधान छलफलका माध्यमबाट गरिँदै आएको बताइन्। उनले सबैभन्दा बढी घरेलु हिंसाका उजुरी पर्ने गरेको बताइन्। उनले भनिन्, ‘हिंसाका घटना शिक्षित/अशिक्षित दुबै परिवारमा हुने गरेका छन्। शिक्षित परिवार छ भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार छ भन्दैमा बढी हुने होइन। समाजमा हुने यी खालका घटना न्यूनीकरणका लागि सुरुवात आफैँबाट हुनुपर्छ।’

प्रहरी चौकीमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा रहेका छन्। पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको प्रहरी प्रहरी चौकी झारज्वलाले जनाएको छ।

प्रहरी सहायक निरीक्षक श्रेष्ठले गाउँ–गाउँकाबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरी चौकीसम्म अन्य उजुरी नपर्ने गरेको बताए। दुवै पक्षलाई बसालेर छलफलका माध्यमबाट मिलापत्र हुने गरेको छ। गाउँपालिकामा न्यायिक समिति भएपनि अहिले पनि प्रहरी चौकीमा उजुरी पर्ने गरेको पाइएको हो। प्रहरीको विश्वास र न्याय छिटोछरितो रुपमा पाइने भन्दै स्थानीयहरु प्रहरी चौकीमा पुग्ने गरेका हुन्।

उनले भने,‘उजुरी प्रहरी चौकीमा आउने भएपनि छलफल गर्दा न्यायिक समितिलाई राेहबरमा राख्ने गरिएको छ। समन्वय र सहकार्य भइरहेको छ। न्यायिक समितिको संयोजक राजनीतिक रुपमा चुनाव जितेर आएकोले सहजै रुपमा न्याय नपाउने भ्रम छ। यसमा न स्थानीय तहले विश्वास दिलाउन सकेको छ। न त स्थानीयले न्यायिक समितिमाथि भरोसा नै राख्छन्। अधिकांस स्थानीय तहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन। न्यायिक कर्मचारी नहुँदा उजुरी दर्ता गर्न समेत हुन सकेको छैन।

प्रकाशित: २५ मंसिर २०७८ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App