२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषध कारोबारी चार जना पक्राउ

सुनसरीका अलग-अलग स्थानबाट प्रहरीले चार जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ. जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा मंगलबार इनरुवा वडा नं. ३ महेन्द्र चौकमा को ५ प ३८१८ नं. को मोटरसाइकल चेक गर्दा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले भोक्राहा नरसिंंह वडा नं. ५ का २० वर्षे सरोज मन्सुरी र सोही ठाउँका २१ वर्षे हारुण मन्सुरीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेका साथबाट प्रहरीले ४ ग्राम ८५० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ। पक्राउ परेका दुवै लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी प्रक्रिया सुरु गरिएको छ।

यस्तै,  इटहरी उपमहानगरपालिका वडा नं. ४ बाट लागूऔषध ब्राउन सुगर कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा स्थानीय टिका राईको घरमा खोजतलास गर्दा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले टिका र सोही स्थानका १९ वर्षे धनकुमार राईलाई पक्राउ गरेको हो। प्रहरीले टिकाको कोठाबाट प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध डाइजेपाम, लुपिजेसिक, पेनारगन र एभील १०/१० एम्पुल बरामद गरेको जानकारी दिइयो।

सुनसरीमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६४ वटा लागूऔषध मुद्दा चलाएको छ। लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ।

भारतीय बजारबाट विभिन्न नाकाबाट भित्रिएको लागूऔषध धरान, इटहरी, विराटनगर, दमक आदी क्षेत्रसम्म पुग्ने गरेको छ। लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ् हुने स्थान भने यातायातको मुख्य हब भएकाले गर्दा इटहरी हो। लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागूऔषध खपत हुने गरेको छ।

सुनसरीको लागूऔषध कारोबार हुने मुख्य केन्द्रमा धरान, इनरुवा, कोशी गाउँपालिकाका विभिन्न क्षेत्र, झुम्का आदी रहेको प्रहरीले जनाएको छ।

विशेषगरी लागूऔषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांश कुलतमा फस्ने गरेका छन्। कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाव कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्। लागुऔषध सेवनकर्ताको हातखुट्टाको हड्डी चिलाउने, खानाप्रति रुची नहुने लगायतका समस्या हुने गर्छन्।

कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्।

प्रकाशित: २२ मंसिर २०७८ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App