१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः धरानका राजनीतिक दल र जनप्रतिनिधिले पहलकदमी लिने

मंगलबार संयुक्त विद्यार्थी संघर्ष समितिले आयोजना गरेको छलफल कार्यक्रम। तस्बिरः रोहित राई

धरानका राजनीतिक दल र जनप्रतिनिधिहरुले महेन्द्र बहुमुखी क्याम्पसको करोडौं मूल्यको जग्गा संरक्षणमा पहलकदमी लिने प्रतिवद्धता जनाएका छन्।

मोहीलाई अघि सारेर भुमाफियाहरुले शैक्षिक संस्थाको सार्वजनिक सम्पत्ति हडप्न चलखेल भइरहेको निष्कर्ष निकाल्दै धरानका राजनीतिक दल तथा जनप्रतिनिधिहरुले संरक्षण गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका हुन्। क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहसमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित सम्बन्धित वडाका अध्यक्ष र राजनीतिक दलका नेताहरुले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अग्रसरता लिने धारणा व्यक्त गरेका हुन्।

मेयर तिलक राईले मोही पक्ष वास्तविकरुपमा नै अन्यायमा परेको भए स्थानीय सरकारसमक्ष गुनासो गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए। उनले भित्रिरुपमा अदृष्य मानिसहरुबाट परिचालित भइरहेको कारण जग्गा संरक्षणको लागि दबाबमुलक कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए। ‘मोही पीडित भएको भए म कहाँ आउथ्यो होला तर अहिलेसम्म आएको छैन। कही न कहीबाट परिचालित भएको छ,’मेयर राईले भने,‘हामी कानुनी उपचारमा जानुपर्छ र दबाबमुलक कार्यक्रमहरु निरन्तर गर्नुपर्छ। नगरपालिकाले आर्थिक, नैतिक, भौतिक सहयोग उदारतापूर्वक, इमान्दर र जिम्मेवारपूर्वक गर्छौं।’ उनले जग्गामा मोही देखिए पनि हकभोग गर्न नसक्ने र जग्गा दलालहरुले किनबेच गर्न नसक्ने पनि बताए।

उपमेयर मञ्जु भण्डारी सुवेदीले आफू कार्यवाहक मेयर भएको बेला मोही किसानको छोरो हो भनेर सिफारिश मात्र भएको तर सर्जमिन मुचुल्कामा क्याम्पसको जग्गामा भोगचलन नभएको र तिरो पनि नतिरेको भन्ने प्रष्ट उल्लेख गरिएको बताइन्। सर्जमिन मुचुल्का गर्न वडा कार्यालयलाई दबाब दिएको आरोपबारे उनले भनिन्,‘प्रमाणहरुले उ मोही किसानको छोरा हो, वडाले सिफारिश दिन्न भन्न सक्दैन तर हामीले सर्जमिन मुचुल्कामा क्याम्पसको जग्गामा भोगचलन गरेको छैन, तिरो तिरेको छैन। सबै क्याम्पस प्रशासनको भवन छ, भोगचलन क्याम्सकै छ भनेर लेखिएको छ।’ उनले भूमिसुधारले नियतवश निर्णय गरेको भन्दै क्याम्पसको जग्गा भूमाफियालाई हड्प्न नसक्ने पनि बताइन्।

पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले क्याम्पसको जग्गामा मोही छ भन्ने कुरा नयाँ भवनको नक्सा पासको लागि लालपुर्जा ठेकेदारको हातमा पुगेपछि मात्र बाहिरिएको बताए। उनले त्यहीबाट भूमाफियासम्म मोहीको बारेमा सूचना पुगेको भन्दै मोहीको हकवाला छोरा, बुहारीलाई मिलाउन प्रयास गरेपनि आधा नै जग्गा चाहिन्छ भनेकोले समस्या भएको बताए। ‘सबै मिलेर जग्गा जोगाउन लाग्नुपर्छ, मोहीलाई अघि लगाएर चलाख मानिसहरु लागेका छन्,’उनले भने।

क्याम्पस व्यवस्थापन समिति सदस्यसमेत रहेका कांग्रेस धरानका सभापति श्याम पोख्रेलले क्याम्पस प्रशासनलाई पनि खबरदारी गर्दै जग्गा बचाउन राजनीतिक दलहरुले अघि बढ्ने बताए। एमालेका अध्यक्षद्धय हर्कजंङ एभेङ र नारायण सुवेदीले भूमिसुधारको निर्णयविरुद्ध कानुनी उपचार खोज्नुपर्ने र विद्यार्थीहरुको संघर्षलाई आफ्नो पार्टीले पनि साथ दिने बताए। जसपा अध्यक्ष ताजुब लिम्बु, माओवादी केन्द्रकी सचिव चेतना श्रेङ, नेकपाका नेता दिपेश राईलगायतले पनि सार्वजनिक सम्पत्ति जोगाउन राजनीतिक दलहरु पनि अघि बढ्ने बताए।

धरान ११ स्थित क्याम्पसको नाममा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन्। उनको करिब २ दशक अघि नै मृत्यु भइसकेको छ भने श्रीमतीको पनि दशक अघि नै मृत्यु भइसकेको थियो। करिब ३ वर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भूमिसुधार कार्यालय सुनसरीमा मोही बुबाको हक नामसारीको निवेदन दिएका थिए। उनको निवेदनपछि क्याम्पसले पनि मोही लगत कट्टाको निवेदन दिएको थियो।

अर्ध न्यायिक निकाय भूमिसुधारले गत असोज २५ गते बुबाको नामको मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो। क्याम्पसका विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले वकिल राखेर पेशीमा वहस नगराएको भन्दै प्रशासनको लापरवाहीले विपक्षमा फैसला आएको आरोप लगाएको छ। उनीहरुले सोमबार क्याम्पस प्रमुखको कुर्सी जलाउदै संघर्ष अघि बढाउने निर्णयसमेत गरेका थिए।

भूमिसुधारको फैसलाविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ। क्याम्पस प्रमुख दामोदर भण्डारी त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कानुनी सल्लाहकारसँग आवश्यक परामर्श गर्न काठमाडाैंमा छन्।

प्रकाशित: २१ मंसिर २०७८ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App