१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ। गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो। 

नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो। कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो। बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो।

विदेशी पर्यटकका लागि सम्पदा क्षेत्र खुला गरिएपछि असोज महिनामा दक्षिण एशियाली देशका ५८५ र अन्य देशका ४२७ पर्यटक घुम्न आएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिए। यसैगरी कात्तिक महिनामा दक्षिण एसियाली देशका दुई हजार ८११ र अन्य देशका दुई हजार १४८ पर्यटकले बौद्ध क्षेत्रको अवलोकन गरेका छन्।

मङ्सिर ११ गतेसम्म दक्षिण एशियाली देशका एक हजार १५७ र अन्य देशका ९३० पर्यटकको आगमन पनि बौद्ध क्षेत्रमा भएको छ। बौद्ध क्षेत्र आउने दक्षिण एशियाली देशका पर्यटकसँग १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिइन्छ। समितिले टिकट काउन्टर राखेर शुल्क उठाउँदै आएको छ। विदेशी पर्यटक आउन थालेसँगै बौद्ध क्षेत्रमा चहलपहल पनि बढेको छ। डेढवर्षदेखि ठप्प प्राय: रहेको यहाँका पर्यटकीय सामग्रीको किनमेल हुने पसलमा पनि ग्राहक देखिन थालेका छन्।

बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिइएको समितिले जनाएको छ। प्रत्येक महिनाको अन्तिम शनिबार बिहान यहाँका सङ्घ संस्था र स्थानीयवासीको सक्रियतामा सफाइ अभियान भइरहेको छ। नियमित रुपमा भने समितिका कर्मचारीले यस क्षेत्रको सफाइमा योगदान गर्दै आएका छन्। रासस

प्रकाशित: २० मंसिर २०७८ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App