सिरहाको कमला, खुट्टी, बलान, सप्तरीको कोसी र स्थानीय पोखरीलाई बेहुलीझैँ सिँगारिएको छ। छठी घाटहरुमा दिउँसो २ बजेबाटै व्रतालु र श्रद्धालुको घुँइचो सुरु हुने भएकाले घाटको तयारी पूरा भइसकेको लहान ३ का छठ पूजा समिति संयोजक भुवनेश्वर महतोले बताए।
कोसी नदीमा पनि दिउँसो २ बजेबाटै सप्तरी र सुनसरीका श्रद्धालु, व्रतालुको भीड सुरु हुने सप्तरीका मैथिली साहित्यकार श्यामसुन्दर यादवले बताए। यता कमला नदीमा पनि सोही समयबाट ब्रतालुहरु पूजाका लागि आउने क्रम सुरु हुने बन्दीपुरका स्थानीय प्रकाश कोइरालाले बताए।
चार दनसम्म मनाइने छठ पूजाको तेस्रो दिन आज सझुका अर्घ अर्थात् अस्ताउँदो सूर्यको पूजा हुन्छ। भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी यो पर्व सम्पन्न हुनेछ।
पर्वको पहिलो दिन सोमबार व्रती महिला र पुरुष पवित्र जलाशयमा स्नान गरी अरवा अरवाइन (चोखो खाने कुरा) खाएका थिए।
मंगलबार दिनभर उपवास (निर्जल निराहार) बसी साँझ दूध सख मिश्रित खीर प्रसाद चढाई परिवारसहित खाएका थिए। जसलाई स्थानीय भाषामा खरना भनिन्छ। खरनापछि निराहार व्रत बसेका व्रतीहरु आज दिन र रातभर निर्जल र निराहार बस्ने छन्। बिहीबार सूर्य कथा सुनेर मात्र अन्न पानी ग्रहण गर्ने ब्रती अम्विका यादव बताउँछिन्।
मिथिलावासीले उत्साह र उल्लासका साथ मनाउने यो पर्वमा महिला श्रद्धालुहरु गरगहनामा सजिएर छठ घाटमा पुग्ने भएकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको सिरहाका एसपी रामकृपाल साहले बताए। छठ घाटहरुमा सुरक्षाकर्मीको समेत उपस्थिति रहेको उनले बताए।
प्रकाशित: १२ कार्तिक २०७१ ००:४५ बुधबार





