२२ मंसिर २०७८ बुधबार
समाज

बैजनाथको पेडाले चिनाएको बरमझियाः थपिँदै पेडा पसल,गुणस्तर धान्न चुनौती

पूर्व–पश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका–२, बरमझिया पुगेपछि राजमार्गसँगै लम्बिएको पेडा बजारमा एकछिन जो पनि अलमलिन्छ।

यहाँ उस्तैउस्तै नामका झन्डै एक सयवटा पेडा पसल छन्। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने मेचीदेखि महाकालीका यात्रुलाई यहाँको पेडाले मिठो स्वाद दिएको छ। स्वाद मात्र होइन, बरमझियाको पेडा उद्योगले सप्तरी,सिरहा, उदयपुर, सुनसरी र झापाका पशुपालक किसानलाई उत्साहित र प्रोत्साहितसमेत गरेको छ।

यहाँ सयको हाराहारीमा सञ्चालित पेडा पसल सबै गुणस्तरीय भने छैनन्। सबै पसलेले अघिल्तिर ‘असली’ ‘पुरानो’ जस्ता शब्द झुन्ड्याएका छन्। जसले गर्दा असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन्। असली बूढो बाजेले खोलेको पेडा पसल भने सशस्त्र प्रहरीको ब्यारेक छेउमै छ।

बरमझियामा निकै पहिलेदेखि भैंसीपालन क्षेत्र भएको राजकुमार साहले बताए। दूधको कमी कहिल्यै भएन। पछिल्लो समय पेडाका निम्ति प्रसिद्ध भएपछि आफ्नो क्षेत्रले मुलुकभरि पहिचान पाएकोमा उनलाई गर्व लागेको छ।

‘पेडाकै निम्ति गाउँको दूधले मात्र नपुगेर हरेक बिहान उदयपुर, सुनसरी सिरहादेखि ओसार्ने गरिन्छ,’ उनले थपे,‘दैनिक चारपाँच हजार लिटर दूध त पेडामै जान थालेको छ।’ यो ठाउँले पेडाको पहिचान बनाउँदै गएपछि स्थानीय किसान र व्यवसायीलाई लाभ मिल्न थालेकोमा उनी खुसी छन्।

बरमझियामा पेडा बनाउन सुरुवात गर्ने व्यक्ति बैजनाथ साह हुन्। ‘श्री बैजनाथ साह पेडा भण्डार’ का संस्थापक बैजनाथ साहको २०६९ साउनमा निधन भयो। परिवारका बाँकी सदस्यले पसल चलाइरहेका छन्। चौथो पुस्तामा चलिरहेको यो पसल अकल साहले सुरु गरेका हुन्। यहाँ पेडा भित्र्याएको भने उनका छोरा बैजनाथले हो। बैजनाथका दुई छोरा छन्, जेठा जयराम र कान्छा राजकुमार।

जेठा जयराम मोरङमा छन् भने कान्छा राजकुमार निजी स्कुलमा पढाउँछन्। राजकुमारका छोरा विवेक साहले पुस्तैनी पेसालाई निरन्तरता दिइरहेका छन्। उनलाई आफैं पनि पेडा बनाउन आउँछ।

बैजनाथसँग जगेश्वरी साह बिहे गरेर आउँदा ससुराको मिठाइ पसल थियो। पेडा बनाउने चलन भने थिएन। त्यतिबेलै बैजनाथ काम विशेषले सुनसरीतिर गएका थिए। त्यहाँबाट फर्किएर आएपछि नै उनले पेडा बनाउन थालेको परिवारजन बताउँछन्।

सुनसरी पुगेका बेला कुनै मिठाइ पसलमा पेडा बनाएको देखेपछि बैजनाथले यो परिकार यहाँ भित्र्याएका रहेछन्। दूधलाई घोटेर पेडा बनाउने तरिका सजिलो थियो। पेडा बनाउन सिकेर आएका बैजनाथले घरमा भनेछन्, ‘मैले एउटा नयाँ मिठाइ बनाउन सिकेर आएको छु, सजिलै छ। त्यो यहाँ बनाउन सके राम्रो चल्छ।’ बैजनाथले पेडा बनाउन थालेपछि त्यसैको देखासिकी वरपरका सबैले गर्न थाले। बिस्तारै यहाँको पेडा लोकप्रिय हुँदै गयो। लोकप्रियातासँगै पेडा पसलहरू पनि थपिँदै गए।

गिरिजाबाबुदेखि दरबारसम्मलाई मनपर्ने पेडा

बरमझियाको पेडाको स्वादले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने सबैलाई तानेको थियो नै। बैजनाथ साहको पेडाको स्वादले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि लोभ्याएको रहेछ। ‘एकदिन अचानक गिरिजाबाबु यहाँ आइपुग्नुभएछ,’ हजुरबुवाले सुनाएको घटना सम्झँदै विवेकले भने, ‘चिउरा र दूधको छालीसँगै पेडा खाएर जानुभएछ।’ कोइरालाले स्वाद मानेर खाएको पेडाको चर्चा सबैतिर फैलियो। ‘हुँदाहुँदा दरबारबाट पनि कुनै विशेष समारोह हुँदा यहाँको पेडा मगाउन थालिएको थियो,’उनले भने, ‘प्रत्येक कार्यक्रममा ५०–६० किलो पेडा दरबार जाने गरेको थियो।’

यसरी बनाइन्छ पेडा

पेडा दूधबाट बन्छ। दूध तताएर बाक्लो भएपछि चिनी हालिन्छ। त्यसपछि थप तताएर सुकाइन्छ। यसरी बनेको दूधको खुवाबाट पेडा बनाइन्छ। यसमा दूध र चिनीबाहेक अतिरिक्त केही प्रयोग गरिँदैन। विवेकले अरू पसलमा भने अरूथोक पनि हाल्छन् भन्ने गुनासो ग्राहकले गरेको सुनाए।

बैजनाथ सुरु–सुरुमा आफैं दूध घोट्थे। व्यवसाय बढ्दै गएपछि उनले कामदार राख्न थाले। ‘दैनिक ठूलो मात्रामा पेडा बिक्न थालेपछि फुर्सद पाउनै गाह्रो हुन्थ्यो,’ विवेक भन्छन्,‘जीवनको अन्तिम कालसम्म हजुरबुवालाई चित्त नबुझेर दूध घोट्ने काम बेलाबेलामा आफैं गर्नुहुन्थ्यो।’ अहिले खुवा घोट्ने विद्युतीय मेसिन भित्र्याएपछि माग धान्न सहज बनेको छ।

नाम मात्र होइन, सुगाको पनि नक्कल

पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ। पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ।

बैजनाथको पेडा पसलअघि ठूला अक्षरमा लेखिएको नामको मात्र नक्कल भएको छैन। उनले सुगा पालेपछि अरूले पनि पाल्न थालेछन्। ‘हामीले सुगा पालेका कारण असली भनेर देखाउन अरूले पनि सुगा पाले,’ विवेक भन्छन्, ‘हाम्रो सुगा त अहिले छैन, केही पसलमा अझै सुगा छ ।’ बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशक बढी भएको छ। बरमझियाका अधिकांश पेडा पसल बैजनाथको पसलमा काम सिकेकाले खोलेका हुन्।

बरमझियालाई देशविदेश चिनाउने काम बैजनाथको पेडा पसलले गरेको छ। बरमझियालाई पेडा ब्रान्डको रूपमा स्थापना गरेका बैजनाथको नाति पुस्ताले पसल धानिरहेको छ। बैजनाथका नाति विवेकले बाजेको पेडा पसल सम्हालिरहेका छन्। पसलको माथिल्लो भागमा ‘श्री बैजनाथ साहको पेडा भण्डार’ लेखिएको बोर्ड राखिएको छ। ब्रान्ड छुट्याउन राखिएको बोर्डको दायाँबायाँ बैजनाथको फोटो पनि छ। पसलभित्र काउन्टर नजिक स्व. बैजनाथ साहको तस्बिर राखिएको छ।

पेडाबाट काम नाम र दाम

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेमध्ये सप्तरीको बरमझियाबारे नसुनेका सायदै होलान्। बरमझियाबारे बुझेकाले यहाँको पेडा नचाख्ने कुरै भएन। पेडा किन्नैका लागि यहाँका पसलमा दैनिक सयौं यात्रु ओर्लन्छन्।

मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा लैजान्छन्। सय लिटर दूधबाट बढीमा २० किलो पेडा बन्छ। बरमझियाको पेडा गुणस्तरीय हुने ग्राहकको विश्वास छ, यही विश्वासले यहाँको पेडा व्यवसाय राम्रो रहेको विवेकले बताए।

यहाँका पेडा पसलमा दैनिक ५ हजार लिटरभन्दा बढी दूध खपत हुन्छ। जसका कारण यहाँका व्यसायीले मात्रै होइन, किसानले पनि रोजगारी पाएका छन्।

काम मात्रै होइन, बरमझियावासीले पेडा व्यवसायबाटै नाम पनि कमाएका छन्। पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम दिएको छ। काम, दाम र नामसँगै बरमझियाको पेडाको गुणस्तर जोगाइराख्ने चुनौती पनि थपिएको छ।

बैजनाथ पेडा भण्डारमा पेडासँगै खाजा, खुवा, घ्यु, लड्डु, बरफीसमेत पाइन्छ। यहाँको पेडाजस्तै खाजा र खुवाका पारखी पनि प्रशस्तै रहेको विवेक बताउँछन्। यहाँ पेडा प्रतिकिलो ८००, खाजा प्रतिकिलो ६००, खुवा प्रतिकिलो ८५०,लड्डु प्रतिकिलो ६०० र सुगर फ्री पेडा प्रतिकिलो १००० रूपैयाँमा पाइन्छ। बैजनाथको पसलमा मूल्यसूची काउन्टर नजिक झुन्ड्याइएको छ। अहिले यस पसलमा रसभरी, गुलाब जामुन, काजु बरफी, पिस्ता बरफीजसता परिकार थपिएका छन्।

प्रकाशित: ८ मंसिर २०७८ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App