७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन आए नेता नेपाल

सत्तारुद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उदयपुर आएका छन्। शनिबार पुत्रवियोगमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीको परिवारलाई सान्त्वना दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालपार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आइतबार गाईघाट आएका हुन्।

हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुगेका थिए। उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। लगत्तै सुरु भएको शवयात्रामा सहभागी हुँदै भएका उनी स्थानीय त्रियुगाघाटसम्म पुगे।

नेपालले स्वर्गीय चौधरीको शवमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे। श्रद्धाञ्जलीसभामा छोटो समवेदना मन्तव्य राखेका उनले राजनीतिक विषयमा केही बोलेनन्। नेकपा (एस) प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर चौधरीलाई समवेदना दिन मात्र नेपाल गाईघाट आएको पार्टीले जनाएको छ। नितान्त समवेदना दिन मात्र आएको हुनाले उनले पार्टी कार्यकर्ता कसैसँग भेटघाट नगरी दिउँसो २ बजे सोही हेलिकोप्टरमार्फत राजधानी फर्केको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले बताए।

मेयरका २५ वर्षीय छोरा मनोजको शनिबार वनभोज खाने क्रममा दहमा डुबेर निधन भएको थियो। दर्जनभन्दा बढी साथीसँग चौदण्डीगढी नगरपालिका–९ देवधारस्थित खोलाकिनारमा वनभोज खाँदै खेल्ने क्रममा दहमा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ।

सँगै गएका साथी कोही पकाउने, कोही खेल्ने र खाने गरिरहँदा मनोज भने पौडी खेल्दै गर्दा डुबेर प्राण उडिसकेपछि मात्र साथीहरूले चाल पाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App