१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

होचा सागरको सगरमाथा चुम्ने सपना

शारीरिक रूपमा फरक क्षमताका सागर सुनार (विश्वकर्मा) ले आगामी वसन्त ऋृतुमा विश्वको सर्वाेच्च शिखर आरोहण गर्ने लक्ष्य राखेका छन्। सगरमाथा शिखरमा पुगेपछि २८ वर्षीय सुनारले होचा पुड्का व्यक्तिको कीर्तिमान हासिल गर्नेछन्। 

यसअघि अपांगता भएका व्यक्तिले सगरमाथा आरोहण गरे पनि होचा पुड्का व्यक्तिको यो पहिलो आरोहण उपलब्धि हुनेछ। तीन फिट सात इन्च उचाइका सुनारले सगरमाथा आरोहणको पूर्वतयारीस्वरूप गत अक्टुबर ३० मा रोल्वालिङ भ्यालीस्थित पाँच हजार नौ सय २५ मिटर अग्लो रामदुङ हिमालको सफल आरोहण गरिसकेका छन्।

‘सगरमाथा आरोहण गर्ने मेरो सानैदेखि सपना थियो,’ अभियानबारे जानकारी दिँदै सुनारले भने। उनी कास्की जिल्ला मादी गाउँपालिका–११ अन्तर्गत मकैखोला, तासे गाँउका बासिन्दा हुन्। ‘म साहसिक हिमाल आरोहणको माध्यमबाट देशलाई विश्वसामु चिनाउन चाहन्छु,’ उनले दृढता व्यक्त गरे। 

उनको आरोहणको अर्काे महत्वपूर्ण उद्देश्य जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको प्रभावबारे विश्वको ध्यान आकृष्ट गर्नु हो। उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारण विश्वमा निम्तिएका विभिन्न खालका विपत्ति रोक्न तथा वातावरण संरक्षणका लागि सन्देश दिन सगरमाथा आरोहण गर्न लागेको हुँ।’ उनी आरोहणपछि होचा पुड्काहरूलाई हौसला तथा सहयोग गर्न एक संस्था स्थापना गर्ने तयारीमा छन्।

उनको आरोहण  टोलीमा सहभागी हुने अधिवक्ता  विष्णुप्रसाद भुसाल जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने संघारमा रहेको चर्चा गर्दै भन्छन्, ‘हामीले आरोहणबाट जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वलाई गम्भीर हुन  सन्देश दिनेछौं।’ 

गत अक्टुबरमा सुनार र भुसालले सँगसँगै रामदुङ हिमालको सफल आरोहण गरेका थिए। ‘जलवायु परिवर्तनका असर सम्बोधन नभए हामीले प्रदूषक देशविरुद्ध कानुनी उपचारको खोजी पनि गर्नेछाैँ।  

यसका लागि सम्बन्धित देशको राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय अदालतमा उजुरीसमेत दिने तयारीमा छौं,’ सार्वजनिक हितका पक्षमा वकालत गर्दै आएका ६२ वर्षीय अधिवक्ता भुसाल भन्छन्। उनले वकिलको कालो कोटमा पहिलो पटक सगरमाथा आरोहण गर्ने आफ्नो आकांक्षा रहेको बताए। 

होचा सुनारको विश्व कीर्तिमान राख्ने सपना र कालो कोटमा सगरमाथाको शिखर चुम्ने भुसालको आकांक्षालाई साकार पार्न २१ पटक सगरमाथाको शिखर चुमेका पेम्बा दोर्जे शेर्पाको साथ रहनेछ। शेर्पाकै साथले यी दुईले रामदुङ हिमालको सफल आरोहण गरेका थिए। शेर्पाको स्वामित्वमा रहेको हिमालय सेफर्डले प्रस्तावित सगरमाथा आरोहणको संयोजन गरेको छ। आरोहणको नेतृत्व पनि शेर्पाले गर्नेछन्।

सुनारको सगरमाथा शिखरमा पुग्ने आकांक्षा सफल पार्न साथ दिन पाउँदा खुसी लागेको बताउँदै शेर्पा भन्छन्, ‘आरोहणमा समावेश सदस्यको फरक परिचय र जलवायु परिवर्तनको सन्देश बोकेका हिसाबले यो आरोहणको छुट्टै महत्व हुनेछ।’ पछिल्ला २० वर्षमा सगरमाथा क्षेत्रमा हिउँ पग्लने क्रममा तीव्रता आएको बताउँदै उनी थप्छन्, ‘सगरमाथा आधार शिविरमा २० वर्षअघिसम्म हिउँ नै हिउँ थियो।

पानी खाँदा हिउँका ढिक्का फोडेर खानुपथ्र्यो। तर अहिले लन्चमा एउटा हिमतालको पानी, डिनरमा अर्काे हिमतालको पानी खान पाइन्छ। यसले प्रस्ट हुन्छ, जलवायु परिवर्तनका कारण हिउँ पग्लेको छ।’ सगरमाथामा हिउँ ५० प्रतिशतले घटेको र यो क्रम जारी रहेको शेर्पाको भनाइ छ। ‘यो क्रम रोकिएन भने आगामी पुस्ताले सगरमाथामा हिउँ देख्न पाउने छैन,’ उनी भन्छन्।

त्यसो त शेर्पाले भनेझैं नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावलाई प्रमुखताका साथ उठाउँदै आएको छ। गत साता स्कटल्यान्डमा सम्पन्न जलवायु सम्मेलनमा सहभागी नेपालले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले ठूलो प्रभाव पारेको र यसका लागि विश्व गम्भीर हुनुपर्नेमा जोड दिएको थियो।

सन् २००९ डिसेम्बर ४ मा प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले सगरमाथा नजिक कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरी जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभावबारे विश्वको ध्यान आकृष्ट गरेको थियो। प्रतिकूल मौसममा आधा घण्टासम्म चलेको कालापत्थर मन्त्रिपरिषद् बैठकले १० बुदाको एभरेस्ट घोषणापत्रसमेत जारी गरेको थियो। सार्क सदस्य राष्ट्र माल्दिभ्सले पनि सन् २००९ कै अक्टुबरमा समुद्रभित्र मन्त्रिपरिषद् बैठक आयोजना गरी तापमान वृद्धिले टापु राष्ट्रमा परेको प्रभाव सम्बोधन गर्न विश्वको ध्यानाकर्षण गराएको थियो।

प्रकाशित: ४ मंसिर २०७८ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App