२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पर्साका बाल सुधार गृहबाट भागेका ६७ बालबिज्याइकर्ता अझै पक्राउ परेनन्

पर्साको बाल सुधार गृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन्।

गत मङ्गलबार रातको समयमा बाल सुधार गृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन्। बाल सुधार गृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधार गृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए।

'गत मङ्गलबार राति बाल सुधार गृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्,' उनले भने, 'फरार भएका बाल सुधार गृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधार गृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरू नआएको खण्डमा अर्काे मुद्दा चल्नेछ।'

बाल सुधार गृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बाल सुधार गृहबाट भागेका किशोरहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए। 'बाल सुधार गृहबाट भागेकाहरूको खोजी कार्य तीव्र बनाइरहेका छौँ,' उनले भने, 'केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ।'

बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरू भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन्। पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ। रासस

प्रकाशित: २६ भाद्र २०८२ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App