१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुको कर्णालीमा बन्ने ‘हाइड्रोपावर’ लाई स्थानीयको स्वागत

सिन्धुको कर्णाली भनेर चिनिने पारी गाउँका स्थानीयले जुगल हिमालको काखमा बन्न लागेका दुई जलविद्युत आयोजनालाई स्वागत गरेका छन्। आर्थिक, शैक्षिक र सामाजिक रुपमा पिछडिएको क्षेत्रमा आयोजना निर्माण भएपछि आफूहरुको जीवनस्तर सुध्रने भन्दै उनीहरु उत्साहितसमेत भएका छन्।

विकास आयोजना बन्नै नदिने र विभिन्न माग राखेर अवरोध पुर्याउने प्रवृत्ति बढिरहेका बेला यहाँका स्थानीयले भने गाउँमा बन्न लागेका आयोजनालाई स्वागत गर्दै निर्माणमा सघाउने प्रतिवद्धता जनाए। जिल्लाको सबैभन्दा बिकट मानिने जुगल गाउँपालिका–३ गुम्बास्थित जुगल हिमालको काखमा १५.१५ मेगावाटको अपर ब्रह्मायणी तथा ३६.५२ मेवागाट क्षमताको ब्रह्मायणी जलविद्युत आयोजना बन्न लागेका हुन्।

तेम्बाथान, दिपु र तेगा गाउँ आयोजनाको मुख्य प्रभावित क्षेत्रमा समेटिएका छन्। निर्माण सुरु हुनुअघि आयोजित वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनिक सुनुवाइमा स्थानीय आयोजनाको पक्षमा देखिए।

आयोजना बनेपछि विकासको मूल फुट्ने र आफूहरुको जीवनस्तर सुध्रनेमा आशावादी देखिएका उनीहरुले एकै स्वरमा भने, ‘हाम्रो ठाउँमा आएका हाइड्रोलाई स्वागत छ। आयोजना सम्पन्न गर्न सघाउँछौँ। बाधा पुर्याउँदैनौँ।’ तर विकासप्रतिको आफूहरुको न्यूनतम सपना पूरा गर्न भने उनीहरुले आयोजनासँग शर्त राखेका छन्।

जनप्रतिनिधि रहेका स्थानीय नोर्बु शेर्पाले आफ्नो ठाउँमा जलविद्युत आयोजना बन्ने खबरले गाउँले उत्साही रहेका बताए। ‘यो हाइड्रोपावर स्थानीयको जनजिविका र जीवनसँग जोडिएर आएको ठानेका छौँ,’ उनले भने, ‘हाम्रो पूराका पूरा सहयोग रहन्छ।’

जलविद्युत आयोजनाले स्थानीयको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिद्युतिकरण, गोरेटो बाटो, पदमार्ग लगायत क्षेत्रमा सघाउनेमा आफूहरु विश्वस्तसमेत रहेको उनले बताए।

साविक ६ हिमाली गाविस मिलेर बनेको जुगल गाउँपालिका सिन्धुको कर्णाली क्षेत्र भनेर चिनिन्छ। यो गाउँपालिका विकास पूर्वाधार, आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा निकै पिछडिएको छ। त्यहीँमाथि अन्तिम गाउँ तेम्बाथान, दीपु र तेगा झनै बिकट छन्। यतिसम्मकी यी गाउँ जाने गोरेटो बाटोसम्म राम्रो छैन। हालसम्म सडकमार्गले नछोएको गाउँमा विद्युतीकरण भएको छैन। आधारभूत तहको विद्यालय छ, शिक्षक छैनन्। मुश्किलले स्वास्थ्य संस्था पुगेको छ, स्वास्थ्यकर्मी छैनन्।

बाढी, पहिरो निम्तिरहने क्षेत्र भएकाले यी गाउँ बर्खामा कम्तिमा तीन महिना नाकाबन्दीमा पर्छन्। तेम्बाथान, दीपु र तेगा गाउँवासी आपसमै बेखबर बन्छन्। बाटाघाटा नै हराउँछन्। बाढी, पहिरोले नेसम खोलाको पुल चुडिँदा गत बर्खामा स्थानीय लामो समय गाउँ भित्रै थुनिए। गोरेटो बाटोको हालत यति खराब छ कि, एक दिन टाढाको गुम्बा गाउँबाट भिर समात्दै राम नाम जपेर बह्मायणी नदीमाथिबाट हिँड्नु पर्छ। सदियौँदेखि स्थानीय दुःखै दुःखमा बाँचिरहेका छन्।  

यस्ता अनगिन्ति दुःखबाट छुटकारा पाउने अभिलाषाकै कारण आफूहरु एकमत भएर आयोजनाको पक्षमा उभिने निर्णय गरेको स्थानीय जाङ्बु शेर्पाले बताए। ‘आयोजनाले धेरै गाउँमा परिवर्तन ल्याउने अपेक्षा छ,’ उनको विश्वास छ। गाउँसम्म सडक बाटो र विद्युतीकरण मात्रै भइदिए आफूहरुको आधा दुःख घट्ने दीपुका रिञ्जी शेर्पाको भनाइ छ।

आयोजना सम्पन्न गर्न गाउँलेले होस्टेमा हैँसे गर्ने बताउँदै कार्पु शेर्पाले थपे, ‘आयोजनाले स्थानीयको सवाललाई प्राथमिकतामा राखेर काम गरे झनै सहज हुन्छ।’

मंसिर अन्तिमदेखि आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग विस्तार र विद्युतीकरणको काम सुरु हुने आयोजनाले जनाएको छ। आउँदो वैशाखसम्म पहूँचमार्ग र विद्युतीकरणको काम सम्पन्न हुँदा स्थानीयले प्रत्यक्ष लाभ लिने दुबै आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले बताए।  

अपर ब्रह्मायणी इन्टिग्रेटेड हाइड्रो फण्ड र ब्रह्मायणी आयोजना ब्रह्मायणी हाइड्रोपावर कम्पनी  प्रालिको अगुवाईमा बन्न लागेका हुन्। ब्रह्मायणी नदी करिडोरमा बन्ने दुबै आयोजना र विद्युत प्राधिकरणबीच २०७५ मंसिरमा पिपिए (विद्युत खरिद सम्झौता)भएको थियो। सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा चार रुपैयाँ ८० पैसामा किन्ने छ। झण्डै १० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएका यी आयोजना सम्पन्न गर्न आर्थिक स्रोत सुनिश्चित भइसकेको कार्यकारी अध्यक्ष पराजुलीले जानकारी दिए।  अपर ब्रह्मायणी आयोजनाको बाँध बलेफी (ब्रह्मायणी) खोलामा बन्ने छ भने उत्पादनगृह बलेफी र लाङटाङ खोलाको दोभान नेपेमसालमा बनाइने छ। बाँध र उत्पादनगृह बीचको सुरुङ तीन किमी लामो हुने छ।

अपर ब्रह्मायणीको उत्पादनगृहबाट पानी निस्केपछि त्यहीँ स्थानमा अर्को बाँध बाँधी ब्रह्मायणी आयोजना बनाइने छ। ६ किलो मिटर लामो सुरुङमार्फत तेम्बाथान नजिक पानी खसालेर उत्पादनगृह बनाइने आयोजनाले जनाएको छ। दुबै आयोजना आगामी २०८२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २ मंसिर २०७८ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App