परराष्ट्र सेवाका तीन सहसचिव झण्डै छ महिनादेखि काम पाएका छैनन्। उनीहरू साउनमै उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए। उपसचिवबाट सहसचिवमा बढुवा भएर पनि काम नपाउने सहसचिवहरू परराष्ट्रमा मात्र छैनन्। यस्ता सहसचिवहरू झण्डै दुई दर्जन छन्।
परराष्ट्र सेवाका तीन सहसचिव कृष्णचन्द्र अर्याल, घनश्याम लम्साल, तथा तेजबहादुर क्षेत्री साउनदेखि जिम्मेवारीविहीन छन्। उनीहरू गत साउनमा उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए। यीमध्ये क्षेत्री तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका निजी सचिव पनि हुन्। ‘त्यसैले सरकारको नेतृत्व नफेरेको भए अहिले उनीहरू सम्भवत आकर्षक ठाउँमा नियुक्ति पाउने थिए,’ परराष्ट्र सेवाका एक उपसचिवले भने।
क्षेत्रीलाई उपसचिवबाट सहसचिवमा बढुवा गर्न परराष्ट्रको तत्कालीन नेतृत्वले सहसचिवमा रातारात तीनवटा दरबन्दी थप गरी लोकसेवा आयोगमा सिफारिस गरेको थियो। संघीय मन्त्रालयले स्वीकृति दिनुअघि नै आयोगमा सिफारिस गरिएको थियो।
परराष्ट्रमा तीनजना जिम्मेवारीविहीन भएको बेला अरू दुईजना लोकसेवा आयोगबाट उपसविचबाट सहसचिवमा बढुवा हुन सिफारिस भएका छन्। परराष्ट्रमा ३३ जना सहसचिव चाहिन्छन्। यीमध्ये १७ जना विभिन्न महाशाखा,विभाग तथा मन्त्रालयको लागि तथा बाँकी १६ जना विभिन्न देशका राजदूतका लागि सहसचिव आवश्यक पर्छ। तर अहिले २७ जना मात्र सहसचिव परराष्ट्रमा कार्यरत छन्।
नेपालले विभिन्न देशमा ३३ जना राजदूत पठाउने गर्छ। तीमध्ये ५० प्रतिशत परराष्ट्र सेवाका नियुक्त हुनुपर्ने कार्यविधिमा व्यवस्था छ। यसबाट राजदूतका लागि परराष्ट्र सेवाका १६ देखि १७ जना सहसचिव आवश्यक पर्छ।तर अहिले २० ठाउँमा राजदूत खाली छ। यसबाट राजदूतका लागि झण्डै एक दर्जन सहसचिव आशा गरेर बसेका छन्।
परराष्ट्र मन्त्रालयमा १० महाशाखा तथा दुईवटा विभाग छन्। महाशाखा र विभाग भर्न १२ जना सहसचिव आवश्यक पर्छ। यसैगरी राष्ट्रपति कार्यालयमा पनि एकजना परराष्ट्र सेवाको सहसचिवको दरबन्दीको व्यवस्था गरिएको छ। ‘परराष्ट्रमा दरबन्दी खाली छ। तर तीन/चारजना बहालवाला सहसचिवहरू काम नपाएर जिम्मेवारीविहीन भएका छन्,’ एक सहसचिवले गुनासो पोखे।
कर्मचारी खटन पटनमा गृह मन्त्रालयमा यस्तै स्थिति छ। उपसचिवबाट सहसचिवमा बढुवा भएका छजना सहसचिवहरू काम नपाएर जिम्मेवारीवीहिन भएका छन्। माधवप्रसाद पोखरेल, तीर्थराज चिलवाल,रामचन्द्र तिवारी, भोला दाहाल र रेखा दास काम नपाएर जिम्मेवारविहीन भएका छन्।
यसैगरी गृहका अरू पाँचजना सहसचिवहरू पनि लामो समयदेखि काम पाएका छैनन्। काम नपाएका सहसचिवहरू विहान हाजिरी गर्न मन्त्रालय जाने र हाजिरी गर्ने बित्तिकै घर फर्कने गरेका छन्। उनीहरूलाई बस्ने कोठासमेत दिइएको छैन।
काम नपाएका सहसचिवहरूमा रमेश ढकाल,भोजराज खतिवडा र सुनिता नेपाललगायतका छन्। गृह मन्त्रालयका एक कर्मचारीका अनुसार काम नपाएका ती सहसचिवमध्ये केहीलाई कसुरजन्य सम्पत्ति अनुसन्धानको जिम्मेवारीमा खटाउने तयारी भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण अर्यालका अनुसार उपसचिवबाट सहसचिवमा बढुवा भएका प्रशासन, इञ्जिनियरलगायत विभिन्न समूहका २६ जना सहसचिवलाई सोमबारदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा पाँच दिने अभिमुखीकरण तालिम दिन थालिएको छ।
तीमध्ये केही सहसचिवले झण्डै एक महिनादेखि काम पाएका थिएनन्। अभिमुखीकरण तालिम दिएपछि उनीहरूलाई विभिन्न जिम्मेवारी दिइने तयारी भएको अर्यालले जनाए। पोहर सालदेखि मन्त्रालयले उपसचिवबाट सहसचिवमा बढुवा भएका उच्च कर्मचारीहरूलाई पाँच दिन अभिमुखीकरण तालिम दिन सुरु गरेको हो।
यसैगरी उपसचिवबाट सहसचिवमा बढुवा भएका उद्योग मन्त्रालयका चारजना उच्च कर्मचारी दुई सातादेखि जिम्मेवारी पाएका छैनन्। उनीहरूको काम पनि हाजिरी गर्ने र घर फर्कने मात्र भएको छ।
प्रकाशित: २ मंसिर २०७८ ०१:१५ बिहीबार