६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जब नगरकोटबासीले मन्त्रीको गाडी रोके

भक्तपुरको कमलविनायक–नगरकोट पीडित जनताले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बीच सडकमै रोकेका छन्।

आठ वर्षदेखि सडक नबनेर दैनिक सास्ती व्यहोरिरहेका स्थानीयले आइतबार दिउँसो मन्त्री यादवको टोलीलाई नगरकोट सडक खण्ड अन्तर्गत तेलकोटमा रोकेका हुन्। सडकको निरीक्षणपछि फर्कँदै गरेको थापा पाएपछि स्थानीय सडकमा भेला भएका थिए।

सडक नबनेर हैरानी खेपिरहेका कमल विनायक–नगरकोट सडक निर्माण दबाब समितिका राजकुमार लामिछानेले मन्त्रीको ध्यानाकर्षणका लागि गाडी रोकेको बताए। मन्त्रीको टोलीले स्थानीयको कुरा नसुनी भागेपछि पीडित सडकमै थ्याच्च बसेका थिए।

पीडित मध्येका राजकुमार लामिछानेले आठ वर्षमा पनि सडक नबनेको बताउँदै आठ वर्षदेखि हिलो र धूलो खाइरहेको बताए। उनले समयमै सडक नबन्दा सडक दुर्घटना समेत भएको बताए। ‘पहिलाजस्तै अहिले पनि हामीलाई  आश्वासन दिने गरेको छ, पूरा भएको छैन, अहिले त्यस्तो नहोस्’, उनले भने, ‘ठेकेदारले सडक निर्माणको क्रममा लापरबाही समेत गरेको छ।’

करिब आधा घन्टा मन्त्री यादव सडकमै स्थानीयको घेरामा परेका थिए। सो क्रममा मन्त्री यादवले सडक निर्माणका लागि स्थानीयले देखाएको चासोको प्रशंसा गरिन्। सोही क्रममा उनले दुई महिनाभित्र सडक बनिसक्ने आश्वासन दिइन्।

उनले दिएको आश्वासनसँगै स्थानीयले सो सडकमा पीच गर्नका लागि तापक्रम नपुग्ने बताए। मन्त्री यादवले पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आफू नगरकोट पुगेको बताइन्।

मन्त्रीसँगैको टोलीमा रहेका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताए। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले एकदुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्ने बताए। सो सडकमा नियमित अनुगमन गर्न र यहाँको प्रगति बुझाउन उनले सम्बन्धित योजनालाई निर्देशन दिए। योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले आफू नियमित रुपमा स्थलगत निरीक्षण गरेर गल्ती सच्याउन भनिरहेको बताए।

निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्ययोजना बनाएर लागेको जानकारी मन्त्री यादवलाई दिए। सडक कहिले बनाइसकेर यहाँबाट उम्कने भन्ने आफूहरूलाई लागेको उनले बताए।

प्रकाशित: २८ कार्तिक २०७८ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App