१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

प्रधानसेनापति प्रभुराम शर्मा (दायाँ) भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटघाटका क्रममा। तस्बिरः सौजन्यःनेपाली सेना

प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार चारदिने भारत भ्रमणमा निस्केका छन्। भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द (एमएम)नरवणेको निमन्त्रणामा उनी औपचारिक भारत भ्रमणमा निस्केका हुन्। प्रधानसेनापति नियुक्त भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। उनी नेपाली सेनाको विमानमार्फत नयाँ दिल्ली गएका हुन्।

उनले मंगलबारै त्यहाँका सेनाध्यक्ष नरवणेसँग भेटवार्ता गरेका छन्। उनले त्यहाँका रक्षासचिव अजय कुमार,चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत,वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग पनि भेट्ने कार्यक्रम छ। उनले राष्ट्रपति रामनाथ कोविन्दबाट बुधबार भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्न पाएपछि त्यहाँका उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट्ने कार्यक्रम रहेको सैनिक स्रोतले जनाएको छ। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा.एस.जयशंकरसँग पनि भेट्ने कार्यक्रम मिलाउन पहल भइरहेको छ।‘भ्रमणका क्रममा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्चपदस्थसँग पनि भेटका लागि पहल भइरहेको छ। भेट हुनेनहुने निश्चित भइसकेको छैन,’ स्रोतले भन्यो।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको चार महिना हुन लाग्दा पनि भारतबाट औपचारिक रुपमा भ्रमणका लागि निमन्त्रणा नआएको अवस्थामा प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्रीलगायत उच्चपदस्थसँग भेटका लागि पहल गरेका हुन्।

नेपाली सेनाले भने भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि पहल हुने पुरानै प्रचलन रहेको जनाएको छ।‘भारतीय प्रधानमन्त्रीसँग भेट हुने निश्चित भइसकेको छैन तर विगतका भ्रमणमा पनि उच्चस्तरीय भेटका लागि पहल हुने गरेका थिए,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने।  

प्रधानसेनापति शर्माको भ्रमण दल ९ सदस्यीय छ। उनलाई सेनाको मध्य एअर बेस गौचरमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। उनलाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो। प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। शर्मा यही कात्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रकाशित: २४ कार्तिक २०७८ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App