१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामान्य विवादले गयो ज्यान

हत्या आरोपीलाई पक्राउपछि सार्वजनिक गरिँदै। तस्बिरः नागरिक

नाँचगानका क्रममा सामान्य विवाद हुँदा एक युवकले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका अनुप साउँद रहेका छन्। प्रहरीका अनुसार उनको भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले प्रहार गरेको चक्कु लागेर ज्यान गएको हो।

प्रहरीले मृतक अनुप र हत्या आरोपी किरण दुवैजनाले मादक पदार्थ सेवन गरेको जनाएको छ। उनीहरुबीच टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका प्रवेश टमट्टाको जन्मदिनको अवसरमा भैरहेको नाँचगानमा विवाद भएको थियो।

हत्या आरोपी किरण ३ दिन अघि टीकापुर नगरपालिका–८ कालिमाटीस्थित आफ्ना भिनाजु ललित साउँदको घरमा पाहुना आएका थिए। घटनाको दिन उनले भिनाजुका भाई हरि साउँदसँगै मादक पदार्थ सेवन गरे। उनीहरु दुवैजना मादक पदार्थ सेवन गरेपछि छिमेकमा भैरहेको नाँचगानमा सरिक भए।

सो क्रममा हरि नाँच्न थाले। उनको नाँच देखेर त्यहाँ उपस्थित मानिसहरु गलल हाँसे। मानिसहरु हाँसेको देखेपछि हत्या आरोपी किरण रिसाए। उनी हास्नेहरुलाई लक्षित गरेर गालीगलौज गर्न थाले। उनले गालीगलौज गरेको सुनेपछि मृतक अनुपले उनीमाथि लौरो प्रहार गरे।

आफूमाथि लौरो प्रहार भएपछि हत्या आरोपी किरणले अनुपलाई चक्कु प्रहार गरे। उनले मृतक अनुपको पेटमा धारिलो चक्कु घुसारे। चक्कु झिक्ने क्रममा मृतक अनुपको आन्द्रा नै बाहिर आयो। उनी घाइते भएर लडे। चक्कु प्रहार गर्ने किरण र हरि दुवैजना भागे। स्थानीयका अनुसार त्यतिञ्जेल रातिको साढे दश बजेको थियो।

स्थानीयले प्रहरीलाई खबर गरे। घाइते अनुपलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइयो। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकास सापकोटाका अनुसार उनको उपचारकै क्रममा रातिको सवा ११ बजेतिर निधन भयो।

प्रहरीले चक्कु प्रहार गरेर फरार रहेका किरणलाई रातभर खोज्यो। उनी घटनाको भोलिपल्ट शनिवार टीकापुर नगरपालिका–८ कालाकुण्डा नजिकै सीमा क्षेत्रबाट पक्राउ परेका छन्। प्रहरीले चक्कु लुकाउन सहयोग गर्ने हरिलाई समेत पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा प्रयोग भएको चक्कु हरिले छिमेकीको घरमा लुकाईराखेको अवस्थामा बरामद भएको छ। डिएसपी सापकोटाले हरिलाई मतियारको आरोपमा पक्राउ गरिएको जानकारी दिए। ‘दुवै जनालाई अदालतबाट म्याद थप भैसकेको छ’, उनले भने, ‘एक मुख्य र अर्का मतियारको रुपमा संलग्न रहेको पाईएको छ।’

उनले घटनाका बारेमा थप अनुसन्धान भैरहेको बताए। प्रहरीले हत्या आरोपी र मृतकबीच पूरानो कुनै रिसिईबी नदेखिएको जनाएको छ। प्रहरीले उनीहरु मादक पदार्थ सेवनपछि अचानक एकै ठाउँमा भेटिँदा सामान्य कुरामा विवाद भएपछि घटना भएको अनुसन्धानका क्रममा देखिएको बताएको छ।

मृतक अनुपका बुबा लोकबहादुर र आमा रोजगारीका क्रममा भारतको गुजरातमा बस्ने गरेको पाइएको छ। उनी आफ्ना बाजेबज्यैसँगै बस्दै आएका थिए। प्रहरीका अनुसार उनले ३ महिनाअघि मात्रै बिहे गरेका थिए। उनकी श्रीमतीले गाउँमै सानो किराना व्यवशाय सुरु गरेकी छन्।

मादक पदार्थको नशामा रिस थाम्न नसक्दा एक युवकले अकालमा ज्यान गुमाउनु परेको छ। पछिल्लो समय युवा पुस्ता लागु पदार्थ दुर्व्यसनमा फस्दै गएका कारण समाजमा अपराधिक घटना बढेका छन्। कैलाली प्रहरीले लागुपदार्थ दुर्व्यसन नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। खुल्ला सीमा नाका लगायतका कारण प्रहरी लागुपदार्थ दुर्व्यसन नियन्त्रणमा सफल हुन सकेको छैन।

प्रकाशित: १४ कार्तिक २०७८ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App