१३ मंसिर २०७८ सोमबार
समाज

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः चरालाई ठाउँ खोई?

चराको बासस्थान सार्न महिनौं लाग्छ, तर, त्यो बारेमा चाँसो छैन

चरा मारेर समस्या समाधान हुँदैन

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमाथि उडिरहेका चरा। तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा पर्छ बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट। पोखरा महानगरपालिका –१४ बाच्छेबुडुवाको त्यही ल्याण्डफिल साइटमा महानगरले वर्षाैदेखि सहरभित्रको फोहोर बिर्सजन गर्दै आएको छ। ल्याण्डफिल साइट नजिक पर्ने भएकोले त्यहाँका चराचुरुङगी आहारा खोज्दै, घाम ताप्न र उड्ने क्रममा विमानस्थल नजिक बाक्लै आउजाउ गर्छन्। बेलाबेला गिद्धको बथानै निर्माणाधिन विमानस्थलको धावनमार्ग क्षेत्रमा आइपुग्छन्।  

भौतिक प्रगति अन्तिम चरणमा पुगेको विमानस्थलबाट आगामि बैशाख १ देखि उडान सुरु गर्ने योजना नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बनाएको छ। तर, विमानस्थलका धेरै काम अझै थाती छन्। ती मध्ये थाति रहेको महत्वपूर्ण काम हो ल्याण्डफिल साइटलाई अन्यत्र सार्ने र विमानस्थल क्षेत्रमा आउजाउ गर्ने चराको जोखिम घटाउनु। ल्याण्डफिल साइट अन्यत्र सार्ने जिम्मा पोखरा महानगरको हो। तर, नयाँ ठाउँ खोजेर ल्याण्डफिल साइट सार्नेगरि महानगरले तदारुकता देखाएको छैन। हालैमात्र पोखरा–१६ र २० को बीचमा पर्ने पस्मराङमा ल्याण्डफिल साइट सार्ने प्रयास भइरहेपनि त्यसमा विवाद सुरु भएको छ।  

ल्याण्डफिल साइट सार्न ढिलाई गर्ने हो भने नयाँ विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने भएकोले जतिसक्दो छिटो अन्यत्र सार्न सर्वत्र दवाव छ। तर, चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने चराका जानकारहरु बताउँछन। विमानस्थल संचालनको तयारी भईरहँदा चराबारे वेवास्ता भईरहेको उनीहरुको भनाई छ। पंक्षी समाज कास्कीका अध्यक्ष मनशान्त घिमिरे भन्छन, ‘वर्षौदेखि उडिरहेको आकाशबाट डाइभर्ट गरेर अन्यत्र लैजान उत्ति सहज छैन । चराको बानि व्यहोरा परिवर्तन गर्न पर्याप्त समय लाग्छ।’

उनका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सबैभन्दा बढि गिद्ध र चीलको आउजाउ हुन्छ। अति संकटासन्न अवस्थामा पुगेका गिद्ध विमानस्थल क्षेत्रमा पाइने भएकोले ती चराको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए। घिमिरेका अनुसार विमानस्थल क्षेत्रमा अति संकटासन्न अवस्थामा पुगिसकेको डंगर, सुनगिद्ध, सानो खैरो र सेतो गिद्ध पाइन्छन। त्यस्तै गुमायु महाचिल पनि त्यहाँ पाइन्छन। ती चरा अति संकटासन्न अवस्थामा रहेकोले जोगाउनु पर्ने जरुरी रहेको उनले बताए। 

‘विमानस्थल क्षेत्र ती चराहरुको वर्षाैदेखिको बासस्थान हो। ती चरालाई विमानस्थल क्षेत्रबाट अन्यत्र सार्न कम्तिमा दुईवर्ष लाग्छ। अन्यत्र खाना पाएपछि मात्र उनीहरुको बानी परिवर्तन हुनेछ,’ घिमिरेले भने, ‘तर, यो बारेमा सरोकारवालाले ध्यान दिएनन।’  

उनका अनुसार विमानस्थल बन्न थाल्नु अघि त्यो क्षेत्र खुला थियो। खुला हुँदाका बखत त्यही क्षेत्र भएर बग्ने सेतीको नहरबाट बगेर आएको सिनो खानका लागि गिद्ध आउँथे। त्यस्तै हिमाली क्षेत्रबाट जाडो छल्न पोखरा झर्ने क्रममा ल्याइएका घोडा र खच्चरको पनि त्यहाँ चरन हुन्थ्यो। खुला आकाशको त्यो चरनमा कतिपय घोडा र खच्चर त्यही मर्दथे। त्यही सिनो खान गिद्ध आइपुग्थे । त्यसले गर्दा गिद्धले लामो समयदेखि विमानस्थल आसपास क्षेत्र छाड्न चाहेका थिएनन्।  

‘कतिपय गिद्धको प्रजनन क्षेत्र पनि विमानस्थल आसपास थियो। गुँड बनाएर बच्चा समेत कोरल्थे,’ उनले भने, ‘त्यसैले तत्कालै चराको बासस्थान फेर्न सहज छैन। चराको बसाई अन्यत्र सार्न लामो समयको अभ्यास चाहिन्छ। कम्तिमा दुर्ईवर्षमा बल्ल सबै चराको बसोबास अन्यत्र सर्न सक्छ।’  

उनका अनुसार विमानस्थल क्षेत्रमा आउने चराको बसोबास अन्यत्र सार्न दुईवर्ष अघि नै अभ्यास थाल्नुपर्ने हो। तर, अहिलेसम्म प्रयास नै भएको छैन। ‘अहिले पनि चरा हटेका छैनन्। विमानस्थल क्षेत्रमा आहारा पाइने भएकोले तत्कालै ती चरा अन्यत्र सर्न चाहन्नन,’ उनले भने। हालको ल्याण्डफिल साइटलाई तत्कालै अन्यत्र सारेमा पनि चरालाई समस्या हुने उनले बताए।  

‘उचित आहाराको व्यवस्था नगरि अहिलेको ल्याण्डफिल साइट तत्कालै बन्द गरेर अन्यत्र सार्दा पनि चरालाई समस्या हुन्छ। किनकी खानेकुरा अभावमा चराको आगमन विमानस्थल क्षेत्रमा झनै बढी हुनेछ,’ घिमिरेले भने, ‘नयाँ ल्याण्डफिल साइटमा पर्याप्त सिनो उपलब्ध गराउने गरि सार्न सके मात्र चरालाई छिटोगरि सार्न सकिन्छ।’ चरालाई मारेर र तर्साएर विमानस्थलका लागि सहज नहुने उनले बताए।  

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसिएन) को गिद्ध विज्ञ समुहका सदस्य हेमन्त ढकाल पनि चराको बासस्थान छोटो समयमा सार्न नसकिने बताउँछन्। चराको बासस्थान के मा निर्भर छ भन्ने अध्ययन हुनु जरुरी रहेको उनले बताए। विमानस्थल क्षेत्रमा चरा हुनुमा नजिक खोँच हुनु, बासस्थानको उपलब्धता, आहारा पाइनु र प्राकृृतिक क्षेत्र भएकोले यो क्षेत्रमा बढी चरा रहेको उनले बताए।  

‘सबैभन्दा ठुलो कालोचिल र सेतो गिद्धको संख्या बढी छ । फोहोरका कारणले त्यस क्षेत्रमा ती चरा अडिएका हुन्। जहाँ फोहोर हुन्छ, त्यहाँ कालोचिल बढी पाइन्छ,’ ढकालले भने, ‘पोखरामा कालोचिलसँग ठोक्किएर बढी दुर्घटनाको जोखिम छ।’ उनका अनुसार विमानस्थल क्षेत्रमा गिद्धका गुँड पनि देखिएका छन्। सानोखैरो, सुन, डंगर र सेतो गिद्धको त्यस क्षेत्रमा गुँड छन्। ती गिद्धलाई आकर्षण थपेर अन्यत्र सार्नुपर्ने उनले बताए।

 ‘गुँड व्यवस्थापन गर्न पनि जान्नुपर्छ। अबका ४–५ महिनामा विमानस्थल चलाउने तयारी छ, तर, चरा व्यवस्थापनको तयारी नै छैन,’ उनले भने, ‘यो एकवर्षमा हुने होईन। विमानस्थल संचालन गर्ने तयारी भईरहँदा चराको बासस्थान सार्न ढिलाई भईरहेको छ।’ चराको वर्षाैदेखिको बासस्थानलाई अन्यत्र सार्न नयाँ ठाउँमा आकर्षण बढाउनुपर्ने उनले बताए।  

चराको बथानै विमानस्थलको धावनमार्गमा आउने भएकोले हवाई उडान र अवतरणमा जोखिम बढाउने प्राधिकरणको भनाई छ। नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमुख देवचन्द्र लाल कर्ण चरा केही कुराले आकर्षित हुने भएकोले पर्याप्त खाना दिएर नयाँ ठाउँमा सार्न सक्नुपर्ने बताउँछन्। उनका अनुसार ठुला चरा पोखरा क्षेत्रमा पाइन्छन्। यहाँको ल्याण्डफिल साइट अव्यवस्थित छ। त्यसैले विमानस्थलमा चरा देखिन्छन। तिनै चराका कारण जहाजलाई जोखिम हुन्छ।  

उनका अनुसार विमानस्थलबाट कम्तिमा १३ किलोमिटर टाढा ल्याण्डफिल साइट हुनुपर्छ। ‘आकाशमा केही नपाएपछि चरा धर्तिमा आउने हुन्। बासस्थान, खाना वा भेटघाटका लागि चरा धर्तिमा आउँछन, त्यसैले विचार गर्नुपर्छ,’ उनले भने। उनका अनुसार जमिनदेखि ५ सय फिटभित्र सबैखाले चराको जहाजलाई जोखिम हुन्छ। त्यसपछि एकहजार फिटसम्म ठुला चराबाट जोखिम हुन्छ। जहाजले दुरी बढाउँदै जाँदा जोखिम पनि कम हुने उनले बताए।  

ल्याण्डफिल साइटमा पाइने पर्याप्त खाना र तालतलैयाका कारण चराको आउजाउ बढी हुने उनले बताए। ‘चरालाई डाइभर्ट गर्न पहिला उनीहरुको बासस्थान र आहारा पाइने ठाउँबारे अध्ययन गर्नुपर्छ। विमानस्थललाई बीचमा पारेर एकातिर खाना र अर्काेतिर बासस्थान भयो भने त्यसले जोखिम झनै बढी हुन्छ,’ कर्णले भने, ‘चराको बासस्थान कहाँ छ भन्ने अध्ययन गर्नु महत्वपूर्ण रहन्छ। बासस्थान फेरिएपछि पनि बास र खाना नपाउँदा कतिपय चरा मर्न पनि सक्छन।’ उनले पनि चरालाई अन्यत्र डाइभर्ट गर्न कम्तिमा २ महिना लाग्ने बताए। ‘चरा मारेर समाधान हुँदैन, राम्रो व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘दुवैले जित्नुपर्छ।’  

प्रकाशित: १० कार्तिक २०७८ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App