१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढी–पहिरोमा अढाई सय विस्थापित

कात्तिक पहिलो साता लगातार ३ दिनसम्म भएको वर्षापछिको बाढी–पहिरोका कारण विस्थापितको बसोबास व्यवस्था हुन सकेको छैन। सबैजसो विस्थापित अहिले आफन्तकहाँ शरण लिएर बसेका छन् भने थोरै संख्याका उनीहरू पाल टाँगेर बसिरहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी–पहिरोबाट जिल्लामा अढाई सय हाराहारी विस्थापित भएका छन्। तर, यो विवरण पनि यकिन हुन बाँकी नै रहेको सिडिओ ध्रुवबहादुर खड्काले बताए। ‘धेरैजसो विस्थापित आफन्तकहाँ बसेका छन्,’ उनले भने, ‘विवरण संकलन गर्नेक्रम जारी नै रहेकाले विस्थापितको यकिन संख्या र अवस्था अध्ययन भइरहेको छ।  

विस्थापित परिवारका व्यक्तिले भने सरकारले चाँडोभन्दा चाँडो आफूहरूको बसोबास व्यवस्थापनमा सघाउनले आशा गरिरहेका छन्। माइजोगमाई गाउँपालिका–१ का नवराज कठेतले विस्थापित भएर आफन्तकहाँ बस्नुभन्दा सरकारले तत्काल र दीर्घकालका लागि बसोबास व्यवस्थापन गरिदिनुपर्ने बताए। ‘अहिले त जसोतसो आफन्तकहाँ बसिरहेका छौं, अर्काे घर बनाइहाल्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले तत्काल हामी पीडितलाई बसोबास व्यवस्था गरिदिए हुन्थ्यो।’  

जिल्लामा बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या १५ छ। ३ घाइते छन्। इलामकै माङ्सेबुङ गाउँपालिकामा कार्यरत २ स्वास्थ्यकर्मी पीडितकै उपचारका लागि जानेक्रममा पाँचथरको पहिरोमा बेपत्ता छन्। प्रशासनका अनुसार अहिले पनि बाढी–पहिरोको क्षति विवरण संकलन भइरहेको छ।  

प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा १९ पूर्ण र २२ आंशिक गरी ४१ घर क्षतिग्रस्त छन्। १२ गोठ, ११ भान्साघर, एउटा शौचालय, ३ खोर, २ पानीका मुहान र एउटा प्रहरी कार्यालय भवनमा बाढी–पहिरोले क्षति गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा २ सय ८८ विद्युत् पोल क्षतिग्रस्त हुँदा १ करोड ४१ लाख रुपैयाँको नोक्सान अनुमान गरिएको छ।

खानेपानीका मुहानमा बाढी–पहिरोले १ करोड २९ लाख रुपैयाँको क्षति गरेको छ। ४ सय ८६ पशुपन्छी बाढी–पहिरोमा पर्दा किसानको ६७ लाख ९५ हजार रुपैयाँ नोक्सान भएको छ। बालीनालीमा १ करोड २७ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण प्रशासनसँग छ।

इलाममा पर्ने मेची राजमार्गको ९० स्थानमा पहिरो झरेर क्षति गरेको बताए। उनका अनुसार ४७.७५ हेक्टर वनमा क्षति पुगेको छ भने १ हजार ५ सय ८६ रुख ढलेका छन्। ‘तर, विवरण आउनेक्रम अहिले पनि जारी नै छ,’ उनले भने, ‘कतिपय स्थानमा फोन सम्पर्क हुन नसकेर विवरण संकलनमा समस्या भइरहेको छ।’ 

प्रकाशित: ९ कार्तिक २०७८ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App