२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

यौनधन्दा सञ्चालन गरेको आरोपमा आमा-छोरासहित तीन जनालाई मुद्दा

यौनधन्दा सञ्चालन गरेको आरोपमा इटहरीबाट प्रहरीले आमा-छोरासहित तीन जनालाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा चलाएको छ।

होटल सञ्चालन गरेको बहाना बनाएर इटहरी वडा नं. १२ मा यौनधन्दा सञ्चालन गर्ने स्थानीय सावित्रा लामिछाने, उनका छोरा किरण लामिछाने र ग्राहक बनेर आएका इटहरी वडा नं. ११ का गुणराज पोखरेललाई मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार होटल भनिएपनि बोर्ड नराखिकन सम्पर्कका आधारमा यौनधन्दा गराउने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले २२ वर्षीया युवतीलाई यौनधन्दा गराउने गरेको जनायो।

इटहरीमा पछिल्लो समय प्रहरीले पूरै कडाई गरि यौन व्यापार नियन्त्रण गरेको छ। जसले गर्दा अनेक उपाय रचेर फाटफुट यौनधन्दा सञ्चालन गरेको पाइएको छ।

सात वर्ष अघिसम्म यहाँ खुलेका बग्रेल्ती क्याविन–रेष्टुरेन्टसँगै केही होटलहरुमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरिन्थ्यो। स्थानीयवासीले यौनधन्दा सञ्चालन गरेको चर्को गुनासो गरेसँगै प्रहरी–प्रशासनले पूरै कडाइ गरेको थियो। तर, अझैपनि केहीले युवतीलाई झिकाएर विभिन्न स्थानमा लगेर फाटफुट यौन कार्य गर्न लगाउने गरेका छन्।

सात वर्षअघि इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर सात जना सञ्चालकलाई एकैसाथ मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो। त्यसयता निरन्तर प्रहरीले यौनधन्दा सञ्चालन गर्ने र ग्राहक बनेर आउनेलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा चलाउँदै आएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App