१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेलम्ची बाढीः बेलिब्रिजले जोडिँदै हेलम्बुको ‘लाइफलाइन’

बेलिब्रिज बन्ने हेलम्बुको चनौटे। हाल आवतजावत गर्न बनाइएको अस्थायी पुल नजिकै बेलिब्रिज निर्माण गरिने छ। तस्बिर सौजन्य: जिम्मी लामा

मेलम्ची बाढीले बगाएको हेलम्बुको ‘लाइफलाइन’ रातोपुलको स्थानमा बेलिब्रिज निर्माण गर्न थालिएको छ। सरकारले ‘फास्ट ट्र्याक’ मार्फत नेपाली सेना परिचालन गरेर मेलम्ची नदीमाथि हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण थालेको हो।

बेलिब्रिजका सबै सामान शुक्रबार चनौटे आएपछि सेनाको प्राविधिक टाेलीले शनिबारदेखि निर्माण र जडानको काम अघि बढाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। ‘सेनाको टोलीले १५–२० दिनभित्र सक्ने गरी बेलिब्रिजको काम सुरु गरेको छ,’ पुल निर्माणमा गाउँपालिकाको तर्फबाट सेनालाई सहजीकरण गरिरहेका उनले नागरिकसँग भने।

गत असार १ गते मेलम्ची खोलामा आएको बिनासकारी बाढीले क्षति पुर्‍याएको रातो पुल असार १६ गते पुनः आएको दोस्रो बाढीले बगाएको थियो। सुन्दर पर्यटकीय गाउँ हेलम्बुको लाइफलाइन मानिने यो पुल बगेपछि चनौटे पारिका दर्जनौँ बस्ती झण्डै तीन महिना नाकाबन्दीमा परेका थिए।

५० जनाको संख्यामा परिचालित सेनाको प्राविधिक टोलीले नदीको दुई किनारमा फाउन्डेसन (स्पान) बनाउन थालेकाे छ। फाउन्डेसन बनेपछि त्यसमाथि बेलिब्रिज जडान गरिने छ। बेलिब्रिजको लागि अर्थ मन्त्रालयले गएको भदौ २० गते ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको थियो। टेन्डर प्रक्रियामार्फत काम अघि बढाउँदा बिलम्ब हुने भएपछि फास्ट ट्र्याकमार्फत बेलिब्रिज बनाउने जिम्मा सेनालाई दिइएको अध्यक्ष शेर्पाले जानकारी दिए।

उनका अनुसार फाउन्डेसन बनेपछि सात मिटर उचाइमा ४८ मिटर लामो बेलिब्रिज जडान गरिने छ। एकतर्फी हुने यो बेलिब्रिज स्थायी प्रकृतिकै हुने अध्यक्ष शेर्पाको भनाइ छ। बेलिब्रिज बनेपछि मेलम्ची नगरपालिकाका दुई, पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई र हेलम्बु गाउँपालिकाका ६ वटा वडाका स्थानीय आवतजावत गर्न र यातायात साधन सञ्चालनमा सहज हुन उनी बताउँछन्।

बाढीपछि यी वडाका स्थानीय लामो समय गाउँमै थुनिए। चाडबाडलाई ध्यान दिँदै गाउँपालिकाले दसैंअघि पुल बगेका स्थानमा ह्यूम पाइपको अस्थायी संरचना र फड्के बनाएर स्थानीयलाई केही राहत दिएको थियो। स्थानीय अहिले यी नै अस्थायी संरचना प्रयोग गरेर आउजाउ गरिरहेका छन् भने हेलम्बुको केन्द्र किउल बगरसम्म सवारी साधानसमेत सञ्चालन भइरहेको छ।

बेलिब्रिज बनेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल पुनर्निर्माण सुरु हुने विश्वास गरिएको छ। मेलम्ची बाढीले मुहान संरचना पूरै पुरेको छ। त्यहाँ अहिले बिशाल मात्रामा ढुंगा, गिटी, बालुवा र माटो, काठपात थुप्रिएका छन्। लगातारका दुईवटा बाढीले हेलम्बुका मात्रै ६ मोटरेबल पुल र आठवटा झोलुंगे पुल बगाएको थियो। गाउँपालिकाले बगेका स्थानमा बनाउनु पर्ने सबै पुलको सर्वे गरिसकेको अध्यक्ष शेर्पाले जनाए। ‘प्राथमिकताका आधारमा अब क्रमशः पुल बनाउँदै जान्छौँ,’ उनले भने।

बाढीले कटान गरेको सडक नयाँ ट्र्याक खोलेर जोड्ने काम भने भइसकेको छ। बगेका सबै पुल संरचना नबनेसम्म हेलम्बुको जनजीवन सामान्य बन्न नसक्ने अध्यक्ष शेर्पा बताउँछन्। तर चनौटेमा निर्माण थालिएको बेलिब्रिज बनेपछि धेरै राहत मिल्ने उनको विश्वास छ। बेलिब्रिज निर्माण सक्दा निकासा भएको बजेटले अपुग भए थप रकम निकासा गर्ने प्रतिवद्धता अर्थले सोही निकासापत्रमार्फत जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App