१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धान बालीमा भएको क्षतिको विवरण संकलन गर्दै पालिका

कपिलवस्तुका पालिकाहरुले बेमौसमी वर्षाले धान बालीमा पारेको क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ। जिल्लाका १० पालिका मध्ये अधिकांसले बेमोसमी वर्षाले धान बालीमा पारेको क्षति विवरण वडा कार्यालयमा गएर बुझाउन सूचना जारी रहेको हो।

लगातार चार दिनसम्म परेको बेमौसमी वर्षाले खेतमा काट्ने तयारी अवस्थामा रहेका धान बाली सखाप भएपछि पालिकाहरुले क्षति विवरण संकलन कार्य गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले धान बालीमा नोक्सानी ब्यहोरेका कृषकहरुलाई क्षतिपूर्ति दिने घोषणा समेत गरीसकेका छन्। जिल्ला मै सबैभन्दा पहिलो गत असोज ४ गते नै क्षतिको विवरण दिनेबारे सूचना जारी गरेको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए।

‘यस वर्ष काट्ने तयारी अवस्थामा रहेका धान बाली लगातार ४ दिनसम्म परेको पानीले नोक्सान गरेको छ, कृषकहरुले धेरै घाटा खाएका छन्,’ उनले भने। आफ्नो पालिका भित्रका कति क्षति भएको छ, कति कृषक मर्कामा परेका छन् भन्ने कुराको जानकारी लिन विवरण संकलन गरिएको बताए। ‘सबै वडाबाट विवरण आएपछि कृषकहरुलाई के कति क्षतिपूर्ति दिन सकिन्छ त्यसबारे छलफल गर्नेछौ’, उनले भने।

पालिकाको क्षमता अनुसार क्षतिपूर्ति उपलब्ध गराउने र क्षतिप्रति उपलब्ध गराउन संघ र प्रदेश सरकारमा समेत पाठइने उनले बताए। उता बुद्धभुमी नगरपालिका मेयर केशवकुमार श्रेष्ठले यस वर्ष पानीले धान बालीमा धेरै नै क्षति गरेको बताए। उनले कृषकहरुको दुःखमा आफ्नो साथ रहेको भन्दै नगरपालिकाले वडा बडाबाट क्षतिको विवरण संकलन जारी राखेको बताए। उनले कृषकहरुलाई क्षतिको विवरण वडामा गएर बुझाउन आग्रह गरे।

‘क्षतिको विवरण अनुसार सके जति पालिकाले दिन्छो, बाँकी प्रदेश सरकार र संघीय सरकारसंग उपलब्ध गराउन पहल गर्छौ,’ उनले भने। महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले यस वर्ष पानीले गर्दा कृषकहरुको पुरै लगानी डुेबेको बताए। आफ्नो पालिका अन्तर्गत वडाहरुमा गइ धान बालीमा भएको क्षतिको निरीक्षण गर्दा आफू निकै दुःखी भएको बताए।

‘हामी कृषकहरुको साथमा छौ,’ उनले भने। उनले क्षति विवरण संकलनका लागि नगरपालिका कृषि शाखा र वडामा आफ्नो विवरण बुझाउन आग्रह गरे। कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले यस वर्ष पानीले गर्दा धान बाली पुरै बर्बाद भएको बताए। ‘जता हेर्यो त्यतै धान बाली पानीमा डुबेका छन्, कृषकहरुकाे सबै लगानी खेर गएको छ,’ उनले भने। उनले क्षतिको विवरण वडा र नगरपालिकाको कृषि शाखा मार्फत जारी रहेको बताए।

विवरण आएपछि नगर कार्यपालिकाको बैठकबाट क्षतिपूर्तिका विषयमा निर्णय गरिने बताए। ‘संघीय र प्रदेश सरकारले कृषकहरुलाई तत्कालै राहत प्याकेज र क्षतिपूर्तिको घोषणा गर्नु पर्छ,’ उनले माग गर्दै भने। कृषि ज्ञान केन्द्र अनुसार बैमौसमी वर्षाले जिल्लामा ८ हजार हेक्टरमा काट्ने तयारी अवस्थमा रहेका ३१ हजार ५ सय मेट्रिक टन धानमा क्षति पुगेको छ। विषेशगरी छिटो पाक्ने गोरखनाथ, राधा ४ र ६४४४ जातका धानलाई वर्षाले नराम्ररी क्षति पुर्‍याएको उनले बताए।

जिल्लाका १० पालिकाको कृषि शाखाले दिएको प्रारम्भिक विवरण अनुसार सो क्षतिको अनुमान गरिएको केन्द्रका प्रमुख रबिन्द्र चोबेले बताए। पालिकाहरुले क्षतिको विवरण संकलन गरेपछि वास्तविक अवस्था पत्ता लाग्ने उनले बताए।

यस वर्ष नियमित वर्षा र मलखादको सहज आपूर्तिले धान उत्पादन ७ प्रतिशतले उत्पादन हुने अनुमान गरिएको थियो। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरी २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो।

बाली भिज्दा खेत मै उम्रियो धान

लगातार ४ दिनसम्म धान बाली पानीमा डुब्दा बाला भिजेर खेतमै उम्रिएका छन्। गत आइताबारदेखि बिहीबारसम्म पोकेको धान पानीमा डुब्दा बाली मै टुसा पसाएको हो। शुक्रबार घाम लागेपछि खेत पुगेका कृषक धानको पाँजो फर्काउँदा बालीमै टुसा पलाएकाे थियो। त्यही उम्रिएर बाली काम नलाग्ने भएको कृषकले बताएका छन्।

बाली थन्काउन काटेर खेतमै सुकाइएका धानको पाँजो पानीमा डुबेका थिए। त्यस्तै काट्न तयार रहेका छिटो पाकेका बाली ढलेर पानीले भिजाउँदा उम्रिएर कामै नलाग्ने बनेको कलिलवस्तु नगरपालिका ६ का कृषक नारद कोहारले बताए। ‘एक बिघा पक्कीमा लगाएको धान पानीले भिजेर पूरै सखाप भयो,’ उनले भने, ‘लगानी जति पूरै खेर गयो।’ ऋण सापटी लिएर गरेका धान बाली नष्ट भएपछि धेरै समस्यामा परेको उनले बताए।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का शिवगढका कृषक गंगाराम पासीले आफूले पाकेको धान खेतमा सुक्नलाई छाडेको धान पूरै पानीमा डुबेर बर्बाद भएको बताए। ‘४ दिनसम्म धान पानी मै डुब्दा टुसा उम्रिएको छ, यो धान अब कामै नलाग्ने अवस्थामा पुग्यो,’ उनले आँखाभरी आँसु झार्दै भने, ‘सारा लगानी र मिहिनेत डुब्यो अब कसरी परिवार पाल्ने,’ उनले चिन्तित हुँदै भने।

विषेशगरी छिटो पाक्ने गोरखनाथ, राधा ४ र ६४४४ जातका धानलाई वर्षाले नराम्ररी क्षति पुर्‍याएको छ। ऋण गर्जो गरेर धानबाली लगाएका कृषक निकै समस्यामा परेका छन्। उनीहरुले बिहान साँझ हातमुख जोर्नेदेखि घर व्यवहार चलाउन जोहो गर्ने धानबाली क्षति भएपछि यस वर्ष जीवनयापन गाह्रो हुने बताएका छन्।

पानीले भिजेका धान सुकाएर कुटाउँदा कनिका हुने कृषकहरु बताउँछन्। बीउ उम्रने शक्ति हुँदैन। त्यसैले त्यसले बजार नपाउने कृषकहरु बताउँछन्। कृषकहरुले आफूलाई तीनै तहका सरकारले तत्कालै क्षतिपूर्ति र राहतको प्याकेज दिन माग गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०७८ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App