८ वैशाख २०८१ शनिबार
समाज

सोत्तर बनेको धान हेरेर टोलाउँछन् किसान

बाढीले खेतमै ढालेको धान। तस्बिर: योगेश/ नागरिक

टीकापुर नगरपालिका ८ बटनपुरका किसान सुरेश डगौरा थारु घरीघरी खेत पुग्छन। बाढीले सोत्तर बनाएको धान हेर्छन अनि घर फर्किन्छन्। घर बस्दा मन मान्दैन। खेतमा पुगे जमिनमा उम्रिन थालेको धान काट्ने हिम्मत आउँदैन।  

‘काटेर पनि के गर्नु। खान लायक छैन’ उनले भने –‘मेहनत गर्नु भन्दा जेसुकै होस भन्ने लाग्छ तर मनले मान्दैन घरीघरी खेत पुगिहाल्छु।’ उनले १० विगाहमा धान खेती गरेका छन्। ४ विगाह उनको आफ्नै हो। बाँकी ६ विगाह अरुको खेत ठेक्कामा लिएका छन्। उनको काटेर राखेको धान त बाढीले बगाई सक्यो। काट्न बाँकी धान पनि जमिनमै ढलेको छ। जमिनमा ढलेको धान उम्रिन थालेको छ।

उनी वर्षको २ लाखसम्मको धान बेच्थे। यो वर्ष अहिलेसम्म २ दाना धान पनि भित्र्याउन पाएका छैनन्। उनलाई ठेक्कामा लगेको जमिनको भाडा कसरी तिर्ने कुराले चिन्तित बनाएको छ। ‘परिवारको पेट त जसोतसो पाल्न सकिएला’ उनले भने –‘जमिनको भाडा कसरी तिर्ने होला।’ 

अर्का किसान कृष्ण चौधरीको ३ विगाह खेत कर्णाली पारी श्रीलंकामा छ। उनले त्यहाँ धान खेती गरेका थिए। उनी बाढी पछि त्यहाँ जान समेत सकेका छैनन्। स्थानीयले टेलिफोन मार्फत दिएको जानकारी अनुसार दशैं अघि काटेर खेतमा थुपारेको धानको एक त्यान्द्रो पनि बचेको छैन।

उनले थप ४ विगाह अर्काको खेत भाडामा लगेर धान खेती गरेका थिए। त्यो खेतमा धान काट्न बाँकी थियो। उनी दशैं लगत्तै धान काट्ने योजनामा थिए। तर कात्तिक २ गते रातिको बाढीले खेत बगर बनाई दियो। उनलाई ११ जनाको परिवार कसरी पाल्ने चिन्ताले पिरोलेको छ। ‘परिवार पो कसरी पाल्ने हो’ उनले भने –‘हाम्रा लागि यही धान खेती नै परिवार पाल्ने आधार थियो।’

सोही ठाउँका झपरे साउँदको एक विगाहमा लगाएको धान समेत नष्ट भएको छ। उनी एक विगाहमा फलेको धानले ६ जनाको परिवारलाई वर्षभरी खान पुग्छ भन्नेमा ढुक्क थिए। तर बाढीले उनको परिवारलाई हातमुख जोड्ने समस्या खडा गरिदिएको छ।  

‘अब त किनेर पनि पाउने अवस्था छैन ’ उनले भने –‘परिवार कसरी पाल्ने होला।’बाढीले किसानको खेतको धान मात्रै नष्ट पारेको छैन घरमा भण्डारण गरेको धान समेत बगाएको छ। टीकापुर नगरपालिका ८ सूर्यपुरका धनप्रसाद चौधरीको घरमा राखेको २० क्विन्टल धान बाढीले बगाएको छ। उनको घरभित्रै बाढी पसेको थियो। बाढीले धान भण्डारण गरेका भकारी फुटाईदिएको छ। उनको ३ विगाह खेतमा काटेको धान समेत बगाएको छ।

‘खेतको खेतबाटै बगायो भकारीको समेत बाँकी राखेन’ उनले भने –‘यो बाढीले किसानका लागि प्रलय नै निम्त्याएको छ।’ बाढीले समस्या पारेका यी प्रतिनिधि किसान मात्रै हुन। यस क्षेत्रका सबै किसानलाई बाढीले समस्यामा पारेको छ। उनीहरु सबैको धान खेती बाढीले बगाईदिएको छ। काट्न बाँकी धान खेतीलाई समेत बाढीले काम नलाग्ने गरी बिगारेको छ।

यो क्षेत्र धान उत्पादनका लागि प्रख्यात छ। धान खेती यहाँका किसानको प्रमुख नगदे बाली हो। अधिकांश किसान धान खेती गरेरै परिवारको लालनपालन गर्दै आएका छन्। यसवर्षको बाढीले भने किसानलाई निकै ठूलो संकट निम्त्याएको छ। उनीहरु परिवार पाल्ने चिन्तामा छन्।  

प्रकाशित: ५ कार्तिक २०७८ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App