१३ मंसिर २०७८ सोमबार
समाज

तिहारको माला उन्दै वनमाला

ताथलीका वनमाला समुदाय मखमली फूलको माला उन्न व्यस्त भएका छन्। तिहार नजिकिएसँगै सो समुदायका महिलामात्र हैन, घरका केटाकेटी र पुरुषसमेत माला उन्नमा व्यस्त हुन थालेका हुन्।

तिहारको भाइटीकाका लागि नभई नहुने मखमली फूलको माला उन्न चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको वनमाला टोलका वनमाला जातिलाई यतिबेला भ्याइनभ्याइ छ।

नेवार समुदायमा परम्परागत रुपमा मखमली फूलखेती गर्ने वनमाला जातिको प्रमुख पेशा हो। आय आर्जनको प्रमुख स्रोतको रुपमा मखमली फूलखेतीलाई बनाउँदै आएका वनमालाहरुले घटीमा एक रोपनीमा मात्र भए पनि मखमली खेती गर्ने गरेका छन्।

दिनभरि माला उन्नमा दिन बित्ने गरेको बताउँदै किसान शिवलक्ष्मी वनमालाले अहिलेसम्ममा करिब पाँच हजार फूलको माला उनीसकेको बताइन्। ‘बिहानपुरी फूल टिप्ने र दिनभरी फूलको माला गाँस्ने, त्यसलाई सुरक्षित ठाउँमा राख्ने गरेका छौं,’ उनले भनिन्।

वैशाख–जेठ महिनामा रोपेका मखमलीमा साउन महिनादेखि फूल फूल्न थाल्छन्। फूल उन्ने बेला भएदेखि फूल टिपेर माला उन्ने गरेको वनमालाहरु बताउँछन्। उनीहरुले हप्तादिन बिराएर फूल टिप्ने र माला उन्ने गरेका छन्।

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्। ‘खेत भाडामा लिए पनि फाइदा हुन्छ,’उनले भनिन्।

प्रतिरोपनी ८ हजार दिएर भाडामा लिएर फूलखेती गरेका उनीहरुले एक रोपनीबाटै करिब ४५ हजारको माला तयार गरिसकेका छन्। ‘अहिले घरघरमा माला लिन आउनेहरु आउन थालेका छन्, उनीहरुले माला हेरेर मोल राख्ने गरेका छन्’, कल्पनाले भनिन, ‘गत वर्षभन्दा यो वर्ष भाउ जान्छ किजस्तो लाग्छ।’

‘फूलमात्रै बेचेर पनि वर्षदिनलाई पुग्नेगरी कमाउने किसान पनि छन्’, अर्का किसान कर्णबहादुर वनमालाले भने, ‘आफै बजार खोज्ने परिवारले एक सिजनमा १ लाखदेखि ५÷६लाख रुपैयाँसम्म कमाउने गरेका छन्।’ त्यही कारण वनमाला समुदाय मखमली खेतीतर्फ आकर्षित भइरहेको उनको भनाइ छ। यसैले पहिला परम्परागत रुपमा फूलखेती गर्दै आएका वनमालाहरुले अहिले व्यावसायिक रुपमा फूलखेती गर्न थालेका छन्।

मकै, खुर्सानी लगाउनुभन्दा मखमली फूल लगाउनु फाइदा भएकाले यो खेतीतर्फ धेरैको आर्कषण बढेको उनीहरुको भनाइ छ। वनमालाहरुले परापूर्व समयदेखि गर्दे आइरहेको फूलखेतीबाट राम्रो आम्दानी गरेकै कारण मखमली फूलखेतीप्रति अन्य समुदायको समेत आकर्षण बढेको छ। पछिल्लो समय जिल्लामा ताथलीमा मात्र नभई गुण्डु, कटुन्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटलगायतका स्थानमा समेत व्यावसायिक मखमली र अन्य फूलखेती हुन थालेका छन्।  

तिहारको समयमा मखमली फूलको प्रतिमाला न्यूनत्तम ३० रुपैयाँदेखि १ सय र सोभन्दा बढी मूल्यमा बिक्री हुने गरेको वनमालाहरु बताउँछन्।

यसरी उनेका फूलमाला उपत्यकाका सहरलगायत बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि व्यापारीले लैजाने गरेको स्थानीय विष्णु बनमालाले बताए।

कम छैन दुःख

‘तिहारको लागि धेरै दुःख गर्नुपर्छ, बजार मिलाउनै गा¥हो छ, यतायता धाउनुपर्छ, कोही व्यापारी यहीँ लिन आए पनि उचित मूल्य दिँदैनन्,’ स्थानीय विजयराम वनमालाले भने। सोही कारण कतिपयले फूलखेती गर्न छाडेको उनी बताउँछन्। फूलको मालाका लागि काठमाडौँका विभिन्न ठाउँहरु आफैले  चहार्नुपर्दा थप समस्या रहेको उनको अनुभव छ।

‘लक्ष्मी पूजादेखि भाइटिकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौं। त्यहाँ प्रहरीले दुःख दिन्छ,’ उनले गुनासो गरे। माला बेच्न उनीहरु कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकलगायतका स्थानमा वर्षेनी जाने गरेका छन्। बजारकै कारण मालाको भाउमा फरक पर्ने उनको भनाइ छ।

‘बैशाखदेखि असोजसम्मको मिहिनेत गर्नुपर्छ, मखमलीको महत्व भएअनुसार यसको भाउ छैन’, उनले भने, ‘एउटा बुकेकै ८/९ सय पर्ने अहिलेको समयमा पनि हामी एउटा माला ३०÷३५ रुपैयाँमा बेचिरहेका छौं’, उनले भने।

फूलको बजारको मात्र समस्या हैन, धानलाई भन्दा बढी स्याहार गर्नुपर्ने किसानहरु बताउँछन्। विरुवा रोपेदेखि फूल फुलेपछि लाग्ने विभिन्न रोग र किराहरुबाट बचाउन विषादीका लागि लगानी गर्नुपर्ने उनीहरु बताउँछन्।

फूलको रङ आउने औषधि पटकपटक हाल्नुपर्ने, फूल टिपिसकेपछि मल र पोषण हाल्नुपर्ने कारण पहिलाको तुलनामा अहिले फूलखेती गाह्रो हुँदै आएको किसान शिवलक्ष्मी बताउँछिन्।

कम फूल फूल्यो यो वर्ष

किसानहरुका अनुसार गत वर्षभन्दा यो वर्ष मखमली फूल कम फूलेका छन्। यो वर्ष अघिल्लो वर्षभन्दा बढी पानी परेको कारण फूल कम फूलेका हुन्।

‘पानी बढी भएका कारण फूलको बोट त्यति सप्रिएन, हाम्रो लगानी मात्र बढी भयो, हप्तामै ८÷९ सयको मल र औषधी लगाउनुपर्छ’, शिवलक्ष्मी भन्छिन्।

प्रकाशित: ५ कार्तिक २०७८ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App