१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन

स्वर्गीय धरणी घिमिरे।

मकालु हिमाल आरोहण गर्न गएका इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायीको निधन भएको छ। होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।  

हिमाल चढ्न सँगै गएका धरणीका माइला दाजु तथा होमस्टे व्यवसायी रुद्र घिमिरेका अनुसार मकालु हिमालको ४ हजार २ सय मिटर उचाईको टाडोसा बेसक्याम्पभन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि धरणी बिरामी परेका थिए। गत असोज ३१ गते बिरामी परेर बेहोस भएपछि उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइँदैथियो। 

तर, ३ हजार ५ सय मिटरमा रहेको याङ्माले बेसक्याम्प पुर्‍याउनुअघि नै अझ गम्भीर भएपछि उनलाई उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो। ४२ घण्टासम्म पर्खिंदा पनि मौसमका कारण हेलिकप्टर आउन नसकेपछि कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको रुद्रले बताए।  

‘तर, कुनैपनि माध्यमबाट सम्पर्क हुन नसकेका कारण घरमा समेत यो घटनाको खबर पुर्‍याउन पाइएन,’ त्यहाँबाट फर्केर संखुवासभाको नुम बजार आइपुगेका रुद्रले नागरिकसँग भने, ‘फोन सम्पर्क हुने ठाउँमा हिजोमात्रै आइपुगेर सबैतिर खबर गर्‍यौं।’ बिरामी लिन पुग्न नसकेपनि शव बोकाउन हेलिकप्टर मगाउँदासमेत पुग्न नसकेको उनले बताए। ‘नुम बजारसम्म शव ल्याउन स्थानीयलाई २ लाख रुपैयाँमा जिम्मा दिएपछि २ घण्टाभन्दा बढी बोक्न सकेनन्,’ रुद्रले सुनाए, ‘हाम्रो परम्पराअनुसार स्थानीय बरुण नदीमा शव जलाउन प्रयास गर्दा सम्भव नभएपछि स्थानीय समुदायकै परम्पराअनुसार सद्गत गरेर नुमसम्म आइपुगेका छौं।’  

इलामको सूर्याेदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए। उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए। मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो। ‘स्थानीय जानकारका अनुसार भाइलाई एक्विट निमोनियाँ भएको थाहा भयो,’ रुद्रले भने, ‘उनलाई अस्पताल पुर्‍याउन निकै प्रयास गरेपनि सबै प्रयास बिफल बनिदिए।’

प्रकाशित: ५ कार्तिक २०७८ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App