५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मधेसका किसानको सदाबहार पिरलो ‘जल’

सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा पिरोलिएका छन्। ‘बाली लगाउने बेला सिँचाइ अभाव भयो।

मोटरबाट खेतमा पानी लगाएर जसोतसो धान रोपें। बाली भित्र्याउने बेला परेको बेमौसमी वर्षाले डुबायो,’ यादवले भने, ‘भएभरको सबै लगानी नै बाली हो, सबै डुब्यो।’ किसानको पुँजी भनेकै बाली भएको उनले बताए। ‘बाली नै नोक्सान भएपछि किसान कसरी चित्त बुझाउन सकिन्छ। धानको बाली मरेको देख्दा जिउनु न मर्नु भएको छ,’ भक्कानिँदै उनले भने।

पानीले कर्मामा परेका रासलाल प्रतिनिधि किसान मात्र हुन्। उनीजस्ता सयौं किसान अहिले बेमौसमी वर्षाको मार खेप्न बाध्य छन्। मधेसका किसान कहिले खडेरी त कहिले डुबानसँग संघर्ष गर्न बाध्य छन्। प्रदेश २ मा ४ लाख १ हजार ९ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएकोमा यसपालि ४ लाख ३ हजार हेक्टरमा मात्र रोपाइँ भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनीषकुमार पालले बताए।

रोपाइँ भएकामध्ये कति क्षेत्रफलको बाली नष्ट भएको छ भनेर यकिन तथ्यांक आइनसकेको बताउँदै पालले भने, ‘रोपाइँ भएकामध्ये करिब १० प्रतिशत क्षेत्रफलको बाली नष्ट भएको अनुमान छ।’ बेमौसमी वर्षाका कारण करिब ४० हजार हेक्टर धानबाली डुबेर नष्ट भएको अनुमान गरिएको पालले बताए। ‘आठवटै जिल्लाबाट क्षतिको पूर्ण विवरण मागिएका छ,’ उनले भने।

सिरहाको गोलबजार नगरपालिका गुरुधाम टोलका किसान शुभनारायण यादवले ६ बिघा खेतमा धान रोपाइँ गर्दै आएका छन्। अन्नको भण्डार भनिने मधेसका किसान जहिल्यै पिरोलिनुपरेको उनको अनुभूति छ। ‘पहिले पाएसम्म अनुदानको मल लिन्थें। नपुगे भारतबाट ल्याउँथें। अहिले अनुदानको मल पनि बिचौलियाको कब्जामा छ। भारत गएर ल्याउन पनि सकिँदैन।

सीमामै सशस्त्र प्रहरीले खोसिहाल्छन,’ उनले भने। प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक अधिकारीका अनुसार यहाँका करिब ४० प्रतिशत किसान भारतबाट किनेर ल्याएको मलबाट खेती गर्छन्।

भारतबाट मल ल्याएर रोपाइँ गर्ने कारण यस प्रदेशमा मागको एक चौथाइ हिस्सा मात्र आपूर्ति हुँदा पनि मलको उति साह्रो हाहाकार हुँदैन। उनले भने, ‘पारिबाट मलको बाटो बन्द हुँदा हाहाकार मच्चिन्छ। र, प्रदेशभर रासायनिक मल अभाव चुलिन्छ।’ किसानका लागि मल औषधिसरह हो। अनुदानको मल बिक्री गर्ने दायित्व पाएका कम्पनी र केही व्यापारीको बेइमानीका कारण किसान समयमै मल पाउँदैनन्।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा मात्र ३ लाख मेट्रिक टन रासायनिक मलको माग छ। धान खेतीका लागि मात्र एक लाख मेट्रिक टन चाहिन्छ। माग लाखमा छ, आउने हजारमा हो। यति थोरै परिमाणले माग धान्न मुस्किल हुन्छ।

सरकारले मलमा ६५ रूपैयाँ अनुदान दिएको छ। अनुदानको मल ‘कृषि सामग्री कम्पनी लिमिटेड’ र ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ले खरिद–बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन्।

अनुदानको मल कृषि सहकारी र डिलर सहकारीले मात्रै बिक्री गर्न पाउँछन्। तर, किसानले मल खरिद गर्न नेतालाई गुहार्नुपर्ने वा अतिरिक्त रकम खर्चिनुपर्ने अवस्था भएको सिरहा बरियारपट्टिका किसान बिल्टु यादव बताउँछन्। ‘पहुँचवालाले मात्रै मल पाउने अवस्था छ। सहकारीको निश्चित कोटा हुन्छ, उनीहरूले आफ्ना सदस्यलाई मात्रै बिक्री गर्छन्,’ उनले भने, ‘सदस्य नभएका किसानलाई ठूलो समस्या छ।’

यस प्रदेशको खेती प्रणाली मनसुनमै आधारित छ। पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्छ। मनसुनमा सन्तुलन कायम नहुँदा यहाँका किसान पिरोलिन्छन्। 

मधेसका किसानको साझा पीडा बनेका मल र जलको व्यवस्थापनमा तीनै तहको सरकार बिफल बनिसकेको किसानहरूको बुझाइ छ। ‘केन्द्र सरकार किसानको पीडाप्रति सोचेजस्तो गम्भीर भएन। प्रदेश सरकार किसानको पीडामा मलम लागाउला भनेको, उस्तै निस्कियो,’ यादवले भने।

‘प्रदेशसभा सदस्यहरूले प्रदेश–२ मा समृद्धिको आधार कृषि रहेको भनिरहेका छन्,’ यादवले भने, ‘ग्रामीण मधेसको बन्जर जमिनमा जलसञ्चार व्यवस्थापन नगरेसम्म खेत गुल्जार हुँदैन।’ प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बोलेर मात्र नपुग्ने उनको भनाइ छ।

प्रदेशसभाको पहिलो बैठकदेखि नै सदस्यहरूले प्रदेश समृद्ध बनाउन समुचित सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्र सम्भव रहेको नेताहरूको भनाइ बोलीमा मात्र सीमित रहेको किसानहरूको गुनासो छ।

मधेसमा जमिन जोतेर अन्न उत्पादन गर्ने समुदायको पीडालाई सरकारले सम्बोधन गर्न नसक्दा अन्न निर्यात गर्ने मधेस अहिले अन्न किनेर खानुपर्ने अत्यासलाग्दो अवस्थामा पुगेको छ।

प्रदेश सञ्चालन र आर्थिक भार वहन गर्न सक्ने अधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकता कृषि उत्पादन बढाउनेतर्फ हुनुपर्ने अगुवा किसानहरू बताउँछन्। बेमौसमी वर्षाले बाली नष्ट भएका किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग माग गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले केही दिनयता भएको वर्षाले निम्त्याएको बाढीका कारण धानलगायत बालीमा व्यापक क्षति पुगेको बताए।

केन्द्र सरकारले प्रदेश २ का पीडित किसानका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवलगायतको उपस्थिति थियो।

प्रकाशित: ४ कार्तिक २०७८ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App