५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एन्फा महिला लिग : दुई विभागीयको १८ गोल

गोल गरेपछि एपिएफकी रश्मिकुमारी घिसिङलाई बधाई दिँदै सहकर्मी अनिता केसी र अनिता बस्नेत। तस्बिर : एन्फा

एन्फा महिला लिगमा विभागीय टोलीले नगरपालिका, अन्य क्लब या मोफसलका टोलीसँग प्रतिस्पर्धा गर्दा सबैको चासो नै गोल संख्यामा हो।

विभागका टोली एकआपसमा भिड्दा प्रतिस्पर्धात्मक हुन्छ। तर, विभाग र अन्य टोली प्रतिस्पर्धा गर्दा भने एकपक्षीय हुन्छ। जुन, किसिमको अवस्था शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा देखियो। एपिएफ र त्रिभुवन आर्मी क्लबले गरेर शुक्रबार विपक्षीविरुद्ध १८ गोल गरे।

सुपर लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको एपिएफ र कोसी प्रदेश पहिलो खेलमा भिडेका थिए। यो खेलअघि नै कोसीका प्रशिक्षक श्याम मानन्धरले हात झिकिसकेका थिए। तर, फराकिलो नतिजाको हार सामना गर्नु पर्ला भन्ने सायदै उनले कल्पना गरेका थिएनन्।

लिगका सुरुआती तीन खेलबाट शतप्रतिशत जित निकाल्दै सुखद संकेत दिएको कोसी शुक्रबार एपिएफसँग भने निरीह हुँदै ८-० को नतिजा सुम्पियो। सात खेलबाट १० अंक जोडेको कोसीले लिगमा बेहोरेको यो अहिलेसम्मकै फराकिलो हार हो।

यति ठूलो हार कोसीले अन्य दुई विभागीय टोली आर्मी र नेपाल पुलिससँग भने बेहोरेको थिएन। एपिएफलाई लगातार छैटौं जित दिलाउने क्रममा यसै सिजन आर्मीबाट एपिएफ पुगेकी फरवार्ड रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरिन्। लिगकै उत्कृष्ट प्रदर्शन गरेकी रश्मिकुमारीले यससँगै आफ्नो गोलसंख्या ९ मा पुर्‍याएकी छन्।

अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपिन्। खेलको पाँचौं मिनेटदेखि नै गोल बेहोर्न सुरुआत गरेको कोसी पहिलो हाफमा २-० ले मात्रै पछि परेको थियो। यसमा केसी र बस्नेतले समान एक गोल गरेकी हुन्। तर, दोस्रो हाफमा एपिएफ पूर्ण रूपमा हाबी भयो।

५६औं मिनेटमा रश्मिले व्यक्तिगत पहिलो र टोलीका लागि तेस्रो गोल गरिन्। तर, २५ मिनेट सम्हालिएको कोसीले अन्तिम १० मिनेट लय गुमाउन पुग्यो। ८१औं मिनेटमा बस्नेतले अर्को गोल थपिन्। त्यसपछि भने रश्मि एक्लैले सात मिनेटको अन्तरमा चार गोल गरेकी हुन्। योसँगै शीर्ष स्थानको एपिएफले अपराजित रहँदै सात खेलबाट १९ अंक पुर्‍याएको छ। अर्को खेलमा पनि यस्तै गोलको वर्षा भयो।

बुधबार मात्रै सोही मैदानमा नेपाल पुलिस क्लबलाई गोलरहित बराबरीमा रोकेको चन्द्रपुर नगरपालिकाको पोस्टमा आर्मीले १० गोल गरेको हो। आर्मीको पाँचौं जितमा चन्द्रा भण्डारी र अमिषा कार्कीले ह्याट्रिक पूरा गरिन्। दीपा शाहीले दुई गोल थप्दा गोलकिपर अन्जना रानामगर र सर्मिला थापाले पनि एकएक गोल गरिन्।

आर्मीले खेलको दोस्रो मिनेटमै चन्द्राको गोलमार्फत खाता खोलेको थियो। २८औं मिनेटमा अमिषा र त्यसको चार मिनेटपछि दीपाले अर्को गोल थप्दा चन्द्राले सफलता पाइन्। चन्द्राले ४०औं मिनेटमा अर्को गोल गरिन्।

त्यसको दुई मिनेटपछि नै अमिषाले गोल गर्दै आर्मीलाई पहिलो हाफमा ५–० को फराकिलो अग्रता दिलाइन्। ५२औं मिनेटमा बल रोक्ने क्रममा चन्द्रपुरकी गोलकिपर उषा थापाले पेनाल्टी बक्सभित्र चन्द्रालाई लडाइन्। त्यसमा प्राप्त पेनाल्टीमा दीपाले अर्को गोल थपिन्।

६८औं मिनेटमा कप्तान सलोनी रानामगरले बक्समा ह्यान्ड गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले आर्मीलाई दोस्रो पेनाल्टी दिए। जसमा आर्मीकी गोलकिपर अञ्जना चुकिनन्। त्यसको एक मिनेटपछि नै अमिषाले ह्याट्रिक पूरा गरिन्। यो तीन गोलसँगै उनले लिगमा आफ्नो गोलसंख्या आठ पुर्‍याएकी छन्, जुन अमिषाको भन्दा एक गोल बढी हो।

८४औं मिनेटमा चन्द्राले पनि लिगमा ह्याट्रिक गर्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाइन्। त्यसपछि शर्मिलाले पनि एक गोल थप्दै आर्मीलाई सहज जित दिलाएकी हुन्। योसँगै आर्मीले सुपर लिगमा स्थान बनाउने दोस्रो टोली बनेको छ।

दोस्रो स्थानको आर्मीको सात खेलबाट १६ अंक हुँदा चन्द्रपुर भने छैटौं स्थानमा यथावत् छ। सात खेलबाट सात अंक जोडेको चन्द्रपुरलाई अर्को चरणमा पुग्न बाँकी दुई खेलमा शतप्रतिशत जित मात्रै होइन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ।

प्रकाशित: ५ आश्विन २०८१ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App