५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लिगको गुणस्तर जाँच्ने मौका

सिनियर होस् या जुनियर नेपाली राष्ट्रिय टोलीले यसअघि ठूला प्रतियोगिताबाट बाहिरिएपछि सधैं एकै बहाना हुन्छ-लिग भएको छैन, धेरै समयपछि खेलाडी मैदान उत्रिएका हुन्, प्रशिक्षण पनि धेरै गर्न पाइनन् यस्तैयस्तै।

तर, यसपल्ट साफ यु- १७ च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले भने कम्तीमा यो बहनाबाजी गर्न छुट मिल्ने छैनन्। किनभने यो टोलीमा समेटिएका खेलाडीले दुई लिग मात्रै होइन, लामो समयको तयारीसमेत गर्न पाएका छन्।

त्यसैले त मुख्य प्रशिक्षक सनोज श्रेष्ठ भन्छन्, ‘पोजिसनअनुसार फिट खेलाडी छानेका छौं। हामी च्याम्पियन हुनलाई नै खेल्छौं।’ उमेरसमूहमा नेपाल निकै बलियो टोली मानिन्छ।

यो टोली यु- १५ मा दुईपल्ट तथा यु- १६ र यु- १७ मा समान एकपल्ट उपविजेता भइसकेको छ। यु- १८ र यु- १९ मा त नेपालले लगातार दुईपल्ट उपाधि नै जितेको छ।

तर, त्यो उपाधि जितेको पनि करिब सात वर्ष भइसकेको छ। गत भदौमा घरेलु मैदानमा सम्पन्न साफ यु- २० मा लामो समय देखिको उपाधि खडेरी तोड्ने मौका नेपाललाई थियो। तर, नेपाल फाइनलमा बंगलादेशसँग ४-० ले पराजित हुन पुग्यो।

प्रशिक्षक सनोज उमेरसमूहका प्रतियोगिता एकदमै प्रतिस्पर्धात्मक मान्छन्। युवा प्रतिभालाई निखार्ने र उदीयमान फुटबलरलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ प्रदान गर्ने महत्वपूर्ण मञ्च पनि साफ नै हो। त्यसैले माथिल्लो स्तरमा आफूलाई लैजान टिम ‘स्पिरिट’ र व्यक्तिगत प्रदर्शन पनि सबै राष्ट्रको उत्कृष्ट हुने उनले देखेका छन्। त्यही कारण यस्ता प्रतियोगिता कठिन बन्दै गइरहेको उनको भनाइ छ।

तर, नेपाल हरेक टोलीलाई चुनौती दिन सक्षम रहेको उनको विश्वास छ। यसपल्ट यु- १६ र यु- १८ लिग खेलेका खेलाडी छनोट हुँदा पनि सनोजलाई सहज भइदिएको छ। ‘छनोट समिति र प्रशिक्षकहरूले पनि सबै खेलको नतिजा हेर्दै टोली बनाइएको हो। त्यसैले पोजिसनदेखि खेल्ने शैलीसम्म उनले कुनै समस्या देखिको छैनन्,’ उनी भन्छन्।

राष्ट्रिय टोलीको ‘ब्याकअप’ तयारी पार्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई चरणमा यु- १६ युथ लिग गरेको थियो। यो लिग गत माघ २४ गते मात्रै सकिएको हो। यस्तोमा यो लिग खेलेका सबै खेलाडी यु- १८ लिग पनि खेल्दै आएका छन्।

त्यसैले करोडौं खर्च गरेर आयोजना गरिएको लिगले कतिको गुणस्तरीय खेलाडी उत्पादन गर्‍यो र सिनियर टोलीमा पुग्नलायक खेलाडी निस्किए भन्ने जाँच्ने अवसर पनि यही साफ हो। नेपालले शनिबार आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दै छ। यो खेलदेखि नै सनोजको परीक्षा हुनेछ।

पाकिस्तानले यो उमेरसमूहमा पहिलोपल्ट सहभागिता जनाउन लागेको हो। यसपल्ट पनि टोलीलाई प्रतियोगितामा सहभागिता जनाउन नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन सकस परेको थियो। उडान भर्नुभन्दा एक घण्टाअघि मात्रै एनओसी पाएपछि पाकिस्तान चार दिनअघि थिम्पु पुगेको छ। नेपालको भने लगातार दोस्रो सहभागिता हो।

यसअघि श्रीलंकामा भएको प्रतियोगितामा नेपालले समूहचरणमा भारत र भुटान तथा सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, उपाधि भिडन्तमा भने भारतसँगै नेपाल ४-० ले पराजित हुन पुग्यो। यसपल्ट नेपाल त्यही घाउ बिर्साउने लक्ष्यमा छ।

नेपाली टोलीका कप्तान सुवास बम १० खेलाडीले यसअघि नै साफ यु- १६ मा सहभागिता जनाइसकेकाले पनि सहज हुने बताउँछन्। गत संस्करणमा भएको यु- १६ साफमा कप्तान सुवाससहित गोलकिपर पेमा नोर्बु भोटे, भक्तबहादुर परियार तथा डिफेन्डरहरू भुवन कामी, एकराज विश्वकर्मा, प्रशान्त मोक्तान र सरन एसकेले साफ खेलिसकेका छन्।

यस्तै, मिडफिल्डर लक्ष्मण थामीसँगै फरवार्ड रोहित श्रेष्ठ र सन्तोष गोङ्बासँग पनि साफको अनुभव छ। गत वर्ष यु- १६ टोली अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। ‘गत वर्षको यु- १६ भन्दा यो टोलीको तयारी राम्रो भएको छ।

अहिले यु- १८ खेलिरहेका उत्कृष्ट खेलाडी पनि यो टोलीमा आएको हुँदा राम्रो समिश्रण देखिएको छ। त्यसैले अन्य टोलीभन्दा उत्कृष्ट प्रदर्शन गर्छौं,’ उनले भने। पाकिस्तानसँग पनि साफ यु- १६ खेलेका धेरै खेलाडी दोहोरिएको छ। यो टोलीसँग उक्त प्रतियोगितामा खेल्ने अवसर नमिले पनि तीन अंक खोस्नेमा सुवास ढुक्क देखिन्छन्।

प्रकाशित: ५ आश्विन २०८१ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App