१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सात वर्षमा पनि बनेन बंगरी खोला पुल

बंगरी खोलाको पक्की पुल समयमै निर्माण नगरिँदा बाँसको पुलबाट जोखिम मोलेर आवतजावत गर्दै स्थानीय। तस्बिरः नागरिक

बाराको कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरिया गाउँको पूर्वमा रहेको बंगरी खोलाको पुल समयमै नबनाउँदा सर्वधारण जोखिमपूर्ण वारपार गर्न बाध्य हुँदै आएका छन्। पक्की पुल नबन्दा बाँसको पुलबाट जोखिमपूर्ण तरिकाले आवतजावत गर्न स्थानीय बाध्य बनेका हुन्।

निर्माण कम्पनीले सो पुल सात वर्षदेखि अल्पत्र पारेर छोड्दा खोलामा बाढी आएको बेलामा बाँसको पुलबाट गरिने आवतजावत गर्दा सर्वधारणको ज्यानै जोखिममा पर्ने गरेको भन्दै बन्जरियाका स्थानीयले गुनासो गर्दै आएका छन्। खोलामा बाढी आएको बेला सोही बाँसको पुलबाट नै मानिसका साथै गाईवस्तुसमेतले वारपार गर्नुपर्ने अवस्था छ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७१ असारमा निर्माण कम्पनी एलाइट/मोना जेभीसँग बंगरी खोलाको पुल निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। ५ करोड ४३ लाखमा भएको सो सम्झौताअनुसार २०७३ असारभित्र पुल बनिसक्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छ। 

निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अझै अधुरै रहन गएकोे सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए। समयमै पुलको निर्माण कार्य पूरा नभएपछि निर्माण कम्पनीलाई पत्राचार गरेर दबाब दिइएको उनले बताए।

सात वर्षअघि सुरु गरिएको पुलको निर्माण कार्य २० प्रतिशतको हाराहारीमा मात्रै भएको सडक डिभिजन कार्यालय हेटौंडाको भनाइ छ। वर्षौंदेखि अलपत्र पारिएको पुल बनाइदिन निर्माण कम्पनी मोनाका प्रोपराइटर मुकेशकुमार चौरसियासँग जिल्ला प्रशासन कार्यालय बारामा छलफल गरिएको र त्यसक्रममा चौरसियाले पुलको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको डिभिजन प्रमुख श्रेष्ठले बताए। पुल निर्माण थाल्न सम्पर्क गर्दा चौरसियाले फोन नउठाउने गरेपछि अर्को निर्माण कम्पनी एलाइटको प्रोपराइटरलाई पुलको निर्माण कार्य सम्पन्न गराउन पत्राचार गरिएको उनले जानकारी दिए।

सम्झौताबमोजिम पुल निर्माण सम्पन्न नगरिएपछि सडक डिभिजन कार्यालय हेटौंडाले कारबाही गर्नुको साटो निर्माण कम्पनीको समय थप्दै गएपछि पुलको निर्माण कार्य वर्षौ धकेलिँदै गएको बन्जरियाका स्थानीय जयमंगल बैठाले आरोप लगाए। 

पुल निर्माणमा ढिलाइ गरेको कारण दुई वर्षअघि निर्माण कम्पनी एलाइट/मोना जेभीलाई कालोसूचीमा राख्ने तयारी गरिए पनि तत्कालीन डिभिजन प्रमुख सुमन योगेशले उनीहरूसँग २०७६ असारभित्र पुलको निर्माण कार्य पुरा गर्ने प्रतिबद्धता गराएर ठेक्काको समय थपेको आरोप प्रसौनी–७ बन्जरियाका वडाध्यक्ष राममणि गुप्ताको भनाइ छ।

पुलको निर्माणमा भएको ढिलाइले बर्खा सुरु भएपछि गाउँका बिरामीलाई अस्पताल लैजान पनि नसकिने अवस्था रहेको गुप्ताले बताए। पुलको निर्माण कार्य सम्पन्न गराइदिन जिल्ला प्रशासन कार्यालय बारा र सडक डिभिजन कार्यालय हेटौडामा पटकपटक धाउँदा समेत निर्माण कम्पनीका प्रोपराइटर्सले पुल निर्माणको कार्य थाल्ने आश्वासन मात्रै दिने गरेको वडा उनको भनाइ छ। 

पुल निर्माणमा ढिलाइ गरिएका कारणले सदरमुकाम कलैया आवतजावत गर्न जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिकाका अधिकांश स्थानीयलाई सास्ती हुँदै आएको छ। पुल निर्माणमा ढिलाइले गर्दा कलैयाबाट १० किलोमिटर पर्ने जितपुरसिमरा पुग्न ३० किलो मिटर घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App