१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

निरन्तरको वर्षासँगै लेउती खोलामा आएको बाढीले कटान गरेपछि अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा सडकखण्डमा एकतर्फी यातायात सुचारु भएको छ।  

हिजो दिउँसो करिब ४ बजेदेखि अवरुद्ध भएको यो सडक खण्ड मर्मत गरिए पछि आज दिउँसो करिब २ बजेदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका सई सुरेन्द्र खड्काका अनुसार सडक दुवैतर्फ सञ्चालनको लागि पहल भइरहेको छ। तर, एउटा स्काभेटर मेशिन बिग्रिएको कारण समस्या भएको उनले बताए। ‘बाटो एकतर्फीरुपमा खुल्यो, गाडीहरु पास गराइरहेका छौं,’ सई खड्काले भने।

सई खड्काका अनुसार बाढीले भिरसम्मै सडक कटान गरेको कारण तत्काल वैकल्पिक बाटो निकाल्न सम्भव भएन। त्यसैले खोलाबाटै एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन कार्यालयको ३ वटा स्काभेटर प्रयोग गरेर मर्मत र खोला फर्काउने कार्य भइरहेको थियो। त्यसमध्ये एउटा मेशिन बिग्रिएको पनि सई खड्काले जानकारी दिए।

खोलालाई पुर्णरुपमा फर्काउन नसकिए पुनः वर्षा हुँदा यातायात अवरुद्ध हुने उनको भनाइ छ। ‘यातायात दुईतर्फी नै चलाउन खोलालाई फर्काउनुपर्छ। फेरि बाढी आयो भने गाह्रो हुन्छ,’ उनले भने, ‘अर्को मेशिन आएपछि काम हुन्छ।’

लेउती खोलाको बाढीले हिजो करिब डेढ सय मिटर कोशी राजमार्ग कटान गरेको थियो। राजमार्ग कटान गरेपछि सयौं सवारीसाधन र यात्रुहरु वारी र पारी अलपत्र परेका थिए। सई खड्का अनुसार मोटरसाइकलहरुसहित ५ सय बढी सवारीसाधनहरु रोकिएका थिए।

अहिले एकतर्फीरुपमा बाटो सञ्चालनमा आएपछि सवारी चाप कम हुँदै गएको पनि सई खड्काले जानकारी दिए। 

प्रकाशित: ३ कार्तिक २०७८ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App