८ वैशाख २०८१ शनिबार
समाज

लुम्बिनी प्रदेश: वर्षाले हजारौँ हेक्टरको धान क्षति

तस्बिर : दाङ देउखुरीमा बर्षाका कारण खेतमै भिजेको धान। तस्बिर सौजन्य : शिवु खनाल।

गत आइबारदेखि परेको अविरल वर्षाको कारण लुम्बिनी प्रदेशको कृषि उब्जनीमा ठूलो नोक्सानी भएकाे छ। मुलतः काटेर खेतमै राखिएको हजारौँ हेक्टर जमिनको धानमा वर्षाले नोक्सानी पुर्‍याएको हाे।  

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकाअनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसैगरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ। प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये किसानले ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भित्र्याएका छन्।

प्रदेश निर्देशनालयले संकलन गरेको विवरणअनुसार दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा नोक्सानी पर्‍याएको छ। यसैगरी काट्न बाँकी ४ हजार ३ सय हेक्टर जमिनको धान वर्षाले ढालेर क्षति पुगेको छ। दाङमा वर्षा अघि १० हजार हेक्टर जमिनको धान भित्र्याएको छ।  

यसैगरी बर्दियामा काटेर खेतमै राखिएको १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको छ। २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी रहेको धान ढलेर नष्ट भएको छ। बर्दियामा १५ हजार २० हेक्टर जमिनको धान भित्र्याएको छ। यसैगरी बर्दियामा केरा बालीमा समेत बर्षाले क्षति पुगेकाे छ। निर्देशनालयका अनुसार ७३ हेक्टर जमिनमा लगाईएको केराका बोटहरु समेत बर्षाकाे कारणले ढालेको छ।  

यसैगरी बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धान पानीले क्षति गरिदिएको छ। काट्न बाँकी रहेको १० हजार हेक्टर जमिनको धान बर्षाले ढालेर क्षति भएकाे छ।   

बाँकेमा १ हजार १ सय हेक्टर जमिनको धान मात्रै भित्र्याइएको छ। यसैगरी कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यस्तै काट्न बाँकी २७ हजार ४ सय ५५ हेक्टर जमिनको धानमा क्षति पुगेको छ। यस्तै रुपन्देहीमा काटिएको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने २० हजार ७ सय ९३ हेक्टर जमिनमा रहेको काट्न बाँकी धानमा वर्षाले क्षति पुर्‍याएको छ।  

यस्तै प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने काट्न बाँकी ७ सय ८८ हेक्टर जमिनको धान पनि वर्षा अनि हावा हुरीले ढालेको छ। यस्तै नवरपरासी (पश्चिम) मा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर जमिनमा काट्न बाँकी धानमा क्षति पुर्‍याएको निर्देशनालयले जनाएको छ। यसैगरी रुकुम पूर्वमा ४ सय १२ हेक्टर जमिनमा काटेर राखिएको धान नष्ट भएको छ।  

गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर जमिनको धान वर्षाले भिजाएर क्षति पुर्‍याएको छ। खडा रहेको ६ सय ५० हेक्टर जमिनको धान ढलेर क्षति पुगेको छ। पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेका छ भने काट्न बाँकी २ सय ६५ हेक्टर जमिनको धानमा क्षति पुगेको छ। यस्तै रोल्पामा मकै र तरकारी बालीमा वर्षाले क्षति पुर्‍याएको छ। 

निर्देशनालयका अनुसार रोल्पामा ३५ हेक्टर जमिनमा लगाईएको मकै वर्षाले ढालेको छ। यसैगरी १३ हेक्टर जमिनमा गरिएको सिमी बालीमा वर्षाले क्षति गरेको छ। 

३ सय गोटा स्याउका बोटहरु ढालेको बर्षाले ५ हेक्टर कोदो र ८ हेक्टर जमिनको भटमास क्षति भएको छ। यसैगरी २५ हेक्टर जमिनको धान बालीमा पनि पुर्‍याएको छ। निर्देशनालयकाअनुसार अर्घाखाँचीमा भने क्षति पुर्‍याएको छैन।

निर्देशनालयले वर्षाले धान भिजाएका कारण केही क्षति हुने निश्चित भए पनि कति क्षति  हुने भन्ने बिषयमा अहिले एकिन गर्न नसकिने बताउँछन्। ‘पानी अझै केही दिन परिरह्यो भने बढी क्षति हुन्छ, तर पानी नपरेर घाम लाग्यो भने कम क्षति हुन्छ,’लुम्बिनी प्रदेश कृषि बिकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले भने ‘अहिले यति नै क्षति हुन्छ भनेर एकिन चाहिँ गर्न सकिन्न।’ उनका अनुसार पानी नपरेर एकदुई दिनमै घाम लागिसकेको अवस्थामा भने भिजेको धान सुकाउन सकिने र तत्कालै सुकाउन सकिए ठूलो क्षति  हुँदैन।  

तर लगातार पानी परेर धान भिजिरहेको अवस्थामा भने अहिले वर्षाले भिजाएको सबै धान नष्ट हुने उनले बताए। एकदुई दिनमै वर्षा नभई घाम लागेको अवस्थामा वर्षाले ढालेको धान जोगाउन सकिने उनले बताए। ‘वर्षा भएन र एक दुईदिनमै घाम लाग्न सुरु भयो भने वर्षा र हावाले ढालेको धान सुक्छ, तथापि त्यसमा पनि केही क्षति त हुन्छ नै,’ उनले भने ‘यदि ढलेको धान पनि सुक्न पाएन भने क्षति अझ बढी हुन्छ।’ निर्देशनालयका अनुसार प्रदेशमा प्रति हेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ।  

प्रकाशित: ३ कार्तिक २०७८ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App