१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

११ दिनपछि अधिकारकर्मी रूबी खानले तोडिन् अनशन

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरेपछि अधिकारकर्मी रूबी खानले अनशन तोडेकी छन्। 

मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन भएपछि विगत ११ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानले अनशन तोडेकी थिइन्।  

माइतीघर मण्डलामा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशत तोडाएका थिए। बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।

‘उहाँहरूले बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, ‘उहाँहरूसँगको छलफलपछि दुवै महिलामाथि भएको हिंसा घटनाका सम्बन्धमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ। सो समितिले स्थलगत अवलोकन गरेर दुवै घटनाको छानबिन गर्नेछ। समितिले एक साताभित्र प्रतिवेदन बुझाएपछि त्यहीअनुसार सरकारले दोषीमाथि कारबाही गर्नेछ।’  

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धानका विभागका उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृतको टोलीले छानबिन गर्नेछन्।  

बाँकेकी धोबी मृत्यु र कुर्मी बेपत्ता घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै गत असोज १ मा अधिकारकर्मी खानसहितको १४ जनाको टोली नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर राजधानी आएका माइतीघरमा आन्दोलन र अनशनमा थिए। 

त्यसअघि धोबी र कुर्मीको न्यायका लागि उनीहरूले नेपालगञ्जमा १९ दिनसम्म जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए।  

राजधानीको माइतीघर मण्डलामा अन्दोलन गरिरहँदा गत असोज २२ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेर एक रात हिरासतमा राखेर छाडेको थियो। तर, बहुविवाहको मुद्दामा प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी भएको जनाउँदै अधिकारकर्मी खानलाई हिरासतमै राखेर जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगेर बारम्बार अनशन तोड्न दबाब दिइएको थियो। 

‘महिला प्रहरी नभएको कोठामा लगेर अनशन तोड्न दबाब दिइयो,’ अनशन तोडेपछि उनले भनिन्, ‘मैले अनशन तोडे ममाथि लगाइएका मुद्दा फिर्ता गर्ने भनेर प्रहरीले मानसिक दबाब दिइरहेका थिए।’ सर्वोच्च अदालतको आदेशपछि असोज २८ गते रिहा भएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज ३० गते त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।  

दाइजोको निहुँमा श्रीमान् रामकुमार धोबी र परिवारबाट घरेलु हिंसाको सिकार हुँदै आएकी बाँकेकी धोबी गत साउन ५ गते आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। विहेको झन्डै सात वर्ष भइसक्दा समेत रामकुमार र धोबीको सन्तान भएको थिएन्। उनी रामकुमारकी तेस्रो श्रीमती थिइन्। धोबी गत साउन ५ मा घरभित्र डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। 

तर शरीरभर नीलडाम देखेका माइती पक्ष त्यो आत्महत्या नभएर हत्या भएको जनाउँदै आएको छ। माइती पक्षले कुटपिट गरेर चरम यातना दिएर उनको हत्या गरेको आरोप लगाइरहँदा प्रहरीले धोबीको पोस्टमार्टम रिपोर्टले आत्महत्या देखाएको जनाउँदै बाँकी अनुसन्धान गर्न आलटाल गरेको थियो। आन्दोलन चर्किएपछि उनका श्रीमान् र जेठाजु अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ।  

नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी गत वर्षको मंसिरदेखि बेपत्ता छिन्। गत वर्षको मंसिर १६ गते महिला अधिकार मञ्च, बाँकेको नेतृत्वमा अधिकारकर्मीले उनको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको कसूरमा नेपाली कांग्रेसका नेता बादशाह कुर्मीसहित कृष्णमुरारी सिंह, कुँवरबब्बन सिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धिरेन्द्र सिंह, रमेश थापा र पार्वती बिष्टलाई किटानीसहित १२ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए।  

महिला अधिकार मञ्च, बाँकेले संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता बादशाह कुर्मीले उनलाई बेपत्ता पारेको दाबी गरेका छ। सो जाहेरीमा नेता कुर्मीले उनीमाथि चरणवद्ध अन्याय गरेको र उनलाई अपहरण, शरीर बन्धक बनाई हत्या गरेको उल्लेख गरिएको थियो। 

विसं. २०६२ साल श्रीमान् महालु कुर्मी बितेको चार वर्षपछि दुई छोराहरू रामसागर र सुरेशलाई गुमाएपछि उनी एक्ली भएकी थिइन्। छिमेकी समेत रहेका नेता कुर्मीले उनीमाथि ज्यादती गर्दै श्रीमान् र छोराहरूको नाममा रहेको करौडौं मूल्य बराबरको पाँच बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जामा लिएका थिए। 

कुर्मी जिल्ला प्रशासन कार्यालय पुगेर आफ्ना कागजपत्र फिर्ता गराइदिन आग्रह गरेकी थिइन्। त्यसलगत्तै नेता कुर्मीले सार्वजनिक स्थानमा उनीमाथि कुटपिट गरेका थिए। 

प्रकाशित: ३ कार्तिक २०७८ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App