२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

डुबानमा परेका स्थानीयलाई सेना र प्रहरी टोलीकाे उद्धार

अविरल वर्षासँगै मंगलबार साँझ आएको बाढीले इटहरी वडा नं. २ तरहराको पानीपिया क्षेत्र डुबानमा परेपछि स्थानीयलाई सेना र प्रहरीको टोलीले उद्धार गरेको छ। बाढीले पानीपियाको ६ घरका १५ जनालाई उद्धार गरि सुरक्षित स्थानमा राखेको छ।

पानीपियामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गत धरान जाने सवारी साधन रोकिएका छन्। धरान जाने सवारी साधन तरहरामा रोकिएका छन्। सवारी साधन रोकिँदा सयौं यात्रु अलपत्र परेका छन्।

निरन्तरको वर्षाले इटहरी वडा नं. २० का कराईवन, जनसहयोग लाइन, खार्साला खोलालगायतका बस्तीमा पूरै घर डुबानमा परेका छन्। यस्तै, इटहरी बजार तथा आसपासका क्षेत्रका बस्ती पनि डुबानमा परेको इलाका प्रहरी कार्यालय इटहरीले जनायो।

इटहरीमा वर्षेनी आकाशबाट परेको पानीको निकास नहुँदा बस्तीका घरहरुमा पानी प्रवेश गरेर क्षति गर्ने गरेको छ। अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर बस्तीमा प्रवेश गर्ने गरेको छ। इटहरी वडा नं. ४ मा रहेको सबैभन्दा ठूलो बुढी खोला नजिकैको गैरीगाउँ र इटहरी वडा नं. ३ का सुनौलो बस्तीमा पनि वर्षेनी बाढीले पिरोल्दै आएको छ।

पछिल्लो समय २०७४ साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो। नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु नै भएको थियो।

इटहरीमा २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरिदिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुबानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन। तर, त्यस दिन इटहरीका मानव बस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानव बस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गर्थ्यो। तर, पछिल्लो समय खेतीयोग्य जमिनलाई टुक्राटुक्रा पारेर प्लटिङ गरि क्रंक्रिटका घरहरु निर्माण गर्दा निकासको समस्या रहेकाले गर्दा केही घण्टा पानी पर्दा नै बस्ती डुबानमा पर्ने गरेको छ।

प्रकाशित: २ कार्तिक २०७८ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App