१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली विकासको विम्ब सांसद नरेश भण्डारी

२०६८ सालमा प्रतिनिधि सभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भयो। जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले उक्त विधेयक संसदमा दर्ता गरे। विधेयक दर्ता भइसकेपछि कर्णालीभित्र र बाहिर थुप्रै अड्कल बाजी हुन थाले। कसैले कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान हुनै नसक्ने ठोकुवा गरे। कसैले विधेयकको समर्थन गरे। केहीले कर्णालीको इतिहासमा नयाँ युगको शुरुवात भएको बताए।

विधेयक संसदबाट पारित भयो। कर्णालीको जुम्ला केन्द्रीय कार्यालय हुने भनिएको थियो। जुम्लाकै राजनीतिक पार्टीभित्र मतभेद सुरु भयो। जुम्लामा प्रतिष्ठान चल्न नसक्ने भन्दै केहीले संसद भण्डारीको आलोचना गरे। उनलाई साथ नदिनको लागि दबाब दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णाली क्षेत्रको कायापलट गर्ने बृहत परीयोजना थियो।

तत्कालीन कर्णाली अस्पतालमा प्रतिष्ठानका कामकाज सुरु हुन थाले। कर्णालीमा डक्टर बस्न थाले। कर्णाली भन्ने वित्तिकै डक्टर आउन नमान्ने, स्वास्थ्यकर्मीले अस्पताल प्रमुख भएर काम चलाउनु पर्ने अवस्था थियो। प्रतिष्ठान स्थापनाले कर्णालीको परिभाषा बदल्यो। अब कर्णाली डक्टर अभावमा मृत्यु पर्खदैन। उल्टै सुगमका बिरामीको उपचारका लागि डक्टर पठाउने सामार्थ्य राख्छ भन्ने सन्देश फैलायो। अहिले कर्णालीको जुम्ला स्वास्थ्य शिक्षाको हब बन्यो।

प्रतिष्ठानका संस्थापक संसद नरेश भण्डारीले भने, ‘कर्णाली प्रतिगष्ठान गरिबी, अशिक्षा, बेरोजगारी, अभावविरुद्धको मिसायल हो। जसले कर्णालीको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको छ। कर्णालीको छोराछोरी आँगनमै डक्टर पढ्न पाउन थाले। देशै भरीका डक्टर पढ्न इच्छुक विद्यार्थीको ध्यान कर्णालीतिर केन्द्रित भयो।’

कर्णाली गरिबी, अशिक्षा, भोकमरी, अभाव र बेरोजगारीको प्राय ठानिन्छ। अहिले पनि कर्णाली भौगोलिक रुपमा विकट, शिक्षाका रुपमा अशिक्षित, विकासका हिसावमा निकै पछि परेको मानिन्छ। २०६४ सालमा जुम्लावासीले नरेश भण्डारीलाई अत्यधिक मत दिएर जिताएको परिणाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो।

यसअघि जुम्लावासीले धेरैलाई केन्द्रको प्रतिनिधिको रुपमा पठाए। उनीहरुले आफ्नो घर बनाए। आफन्तलाई रोजगारी दिए। सिंगो कर्णाली बदल्ने कुनै योजना परियोजना ल्याउन सकेनन्। तर नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भण्डारीले सिंगो कर्णालीको परिभाषा बदल्ने परियोजना ल्याए। अहिले जुम्लामा डक्टर रोजेर बिरामीले उपचार पाउँछन्। डक्टरी पढाइ हुन थालेको छ। स्वाथ्यकर्मी बस्ने ठाउँमा विशेषज्ञ चिकित्सक, प्रोफेसर बस्न थालेका छन्।

कर्णालीको विकासमा पटक पटक मिसायल हानिएको छ। कर्णाली प्रदेश सभा सदस्य भण्डारीले भने,‘गरिबीविरुद्धको मिसायल, बेरोजगार, अविकास, अशिक्षाविरुद्धको मिसायल पटक पटक हान्ने र कर्णालीको समृद्धिमा टेवा पुर्याउने कार्य भइरहेको छ। यो समग्र कर्णालीको लागि एक ऐतिहासिक कार्य हो।’

यसअघि जुम्लाबाट केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने हरिश्चन्द्र महतले विद्युत निर्माण गरेर सदरमुकाम खलगालाई उज्यालोको व्यवस्था गरेका थिए। अदनसिंह कठायत जुम्ला विमानस्थल निर्माणको लागि पहल गरेका थिए। त्यसपछि पठाएका कुनै पनि संसदले सामूहिक हितलाई सर्वोपरि ठानेनन्। फलस्वरुप कर्णालीको परिषाभा अभाव र गरिबीको स्तरभन्दामाथि उठ्न सकेन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भएको ठिक १० वर्षपछि फेरि संसद भण्डारीले कर्णाली प्रदेश सभामा सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक नामक गैरसरकारी विधेयक दर्ता गराएका छन्। यो विधेयक संघीय व्यवस्था सुरु भएपछिको पहिलो गैरसरकारी विधेयक हो।

नेपाल एकीकरणमा जुम्ला सामेल गराइसकेपछि सिँजा सभ्यता संरक्षण र विकासका क्षेत्रमा उल्लेख्य कानुनी आधारहरु बनेका थिएनन्। २३२ वर्षपछि यो सिँजा सभ्यता विकासका लागि कर्णाली प्रदेशमा गैरसरकारी विधेयक दर्ता भएको छ। कर्णाली प्रदेशको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने,‘कर्णाली सभ्यताको खानी हो। सभ्यता संरक्षणले मात्र यहाँको समृद्धि हासिल हुनसक्छ। यो विधेयक विषयवस्तुका हिसाले पनि ऐतिहासिक छ। यो विधेयक आफैमा पनि ऐतिहासिक छ।’

यो राष्ट्रिय महत्वको विधेयक हो। यसको केही रुपमा अन्तर्राष्ट्रिय महत्व पनि छ। उनले यो विधेयकका बारेमा हिउँदे अधिवेशनमा घनिभूत बहस हुने बताए। संसद भण्डारीले जुम्ला केन्द्र हुने गरेर यसअघि उच्च प्रवतीय विश्व विद्यालय सम्बन्धी विधेयक दर्ता गराइसकेका छन्।

विधेयकका बारेमा थुप्रै सुझाव र जिज्ञासा प्रकट भएका छन्। यी बिषयलाई बहसका रुपमा लिएर हल हुनेछन्। सिँजा सभ्यता संरक्षण तथा विकास विधेयकले सिँजाको कनकासुन्दरी गाउँपालिकामा प्राधिकरणको कार्यालय हुने व्यवस्था गरेको छ। सिँजा सभ्यता सम्बन्धी सभाको अध्यक्षता मुख्यमन्त्रीले गर्नेछन्। प्राधिकरणको उपाध्यक्ष राज्यमन्त्री सरहको हुनेछ। कार्यकारी निर्देशक सचिव स्तरको कर्मचारी रहने व्यवस्था छ।

सभाको सदस्यमा जुम्ला प्रदेश क्षेत्र (ख)मा रहेका चार स्थानीयतहका प्रमुख मध्येबाट एक जना रहने व्यवस्था गरिएको छ। संसद भण्डारीले भने,‘अब जुम्ला भूमिलाई गर्व गर्न लायक भूमिका रुपमा परिणत गर्नुपर्छ।’

संसद भण्डारीकै पहलमा १७० मेगावटको जवा मेगा जलविद्युतको प्रक्रिया अघि बढेको छ। जसका लागि उर्जा मन्त्रालयमा निवेदन परिसकेको छ। प्रारम्भिक अनुसन्धान भइसकेको छ। तिला र जवाको पानी सुरुंङबाट मिसाएर विद्युत निकालिने छ। वर्षायामका चार महिनामा बढी भएको पानी संकट गरेर हिउँदमा बिजुली निकालिने छ।

हिँउद विद्युत उत्पादन हुन्छ। वर्षा पानी संकलन हुन्छ। संंसद भण्डारीले थपे,‘यो जीवन परिवर्तनको परियोजनाका रुपमा आएको छ। विकासको एक शक्तिशाली मिसायल यो पनि हो। वर्षायामको स्याउ शितभण्डारमा राखेर हिउँदमा महंगोमा बेचे जस्तै हो। यो विद्युत पनि हिउँदमा महंगो बिक्री हुनेछ।’

अहिले कर्णालीको विम्ब भनेको दुब्लो पातलो, गरिबी हो। त्यो विम्ब बदल्छौँ। अहिले डक्टर पढ्न  आउनको लाइन छ। हिजो बिरामी पठाउने जुम्ला अहिले डक्टर पठाउँदैछ। उनले भने,‘हामी सबै मिलेर कर्णालीको परिभाषा बदल्ने अभियानमा लाग्नुपर्छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान गरिरहेको छ। सिँजा विधेयकले सिँजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पूर्वाधारको विकास गर्न, सिँजा सभ्यता क्षेत्रभित्रको भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्वका स्थान र सो क्षेत्रभित्र रहेका सम्पदाहरूको संरक्षण गर्न, प्राचिन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्व का मठ, मन्दिर, थान, ताल, कुण्ड, सरोवर, गुफाका साथै तीर्थस्थलको अनुसन्धान गर्ने उद्देश्य राखेको छ।

अहिले नरेश भण्डारी विकासवादी नेताको रुपमा चिनिएका छन्। अहिले पनि जुम्लादेखि प्रदेश सभामा तीन जना र प्रतिनिधि सभामा एक जना संसदले प्रतिनिधित्व गर्छन्। नरेश भण्डारी बाहेक कसैले पनि नयाँ कन्सेप्ट अधि सारेका छैनन्।

प्रकाशित: २७ आश्विन २०७८ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App