१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंः टीका लगाउनु, तर फुक्काफाल नहुनु

अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी) को मुख्य प्रवेशद्वारमा पर्ने कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले पोहोर दसैंताका एउटा निर्णय गरेको थियो। गाउँको निर्णय थियो– ‘दसैंमा मावली पनि नजाने, छोरी ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’

तर, यो पटक भने घान्द्रुकले दसैंमा टीका थाप्न आउने सबैलाई स्वागत गर्दैछ। तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सुरक्षाका मापदण्ड भने पालना गर्न गाउँको अनुरोध छ। अघिल्लो दसैंमा संक्रमणको त्रासले धान्द्रुक सहितका अन्नपूर्ण क्षेत्रभित्रका गाउँले आफन्तलाई पनि टीका थाप्न नआउनु भन्दै खबर पठाएका थिए । तर, यो पटक भने संक्रमण घटेको र धेरैजनाले कोरोना विरुद्धको खोप लगाईसकेकोले सुरक्षित महसुस गरेको स्थानीयको भनाई छ।  

स्थानीय पर्यटन व्यवसायीका अगुवा समेत रहेको किसम गुरुङले भने, ‘खासमा दसैंका दिन टीका जमरा लगाई मान्यजनबाट आर्शिबाद लिने चलन हो। दसैंमा टीका थाप्न आउनु भनेर कसैलाई निमन्त्रणा गर्नुपर्दैन। तर, घान्द्रुकका बासिन्दाले पोहोर टीका थाप्न नआउनु भन्दै छोरी ज्वाइँ, भान्जाभान्जी, तथा नातेदारलाई रोकेको थियो। तर, यो पटक भने रोकावट छैन। सबैतिर खुला छ।’ टीका थाप्न आएका आफन्तबाटै कोरोना संक्रमण गाउँसम्म फैलिने त्रास भएपछि पोहोर रोक लगाएपनि अहिले भने केही सहज रहेको उनले बताए।  

‘सुरक्षित भए दसैं–तिहार अर्काे वर्ष मनाउन सकिन्छ भनेर पोहोर रोकेका हौ। तर, अहिले घरबाहिर रहेका आफन्त धमाधम फर्किन थालेका छन,’ उनले भने, ‘नजिकका आफन्त त पोहोर पनि घरसम्म आएका थिए। तर, उनीहरु गाउँ भने डुलेका थिएनन। यो पटक भने धमाधम गाउँ फर्किरहेका छन्।’ 

गाउँ फर्किनेको लर्काे भएकोले सुरक्षित भने हुनुपर्ने उनले सुनाए। ‘स्वास्थ्य सुरक्षाका मापदण्डमा भने हेलचेक्रयाँइ नगरेकै राम्रो,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘पोहोर आउनै दिएनौ। अहिले भने कुनै रोकावट छैन।’ स्थानीयले पोहोर दसैंमा घरबाहिर रहने आफन्तलाई घरै नफर्किन समेत भनेका थिए। यतिसम्मकी पोखरामा रहेका आफन्तसमेत गाउँ फर्किन सकेका थिएनन् ।  

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोहोर दसैंमा छोरी–ज्वाइँ, नाती–नातीनालाई टीका लगाउन नआउनुहोला, तपाईहरुलाई हाम्रो आर्शिवाद छँदैछ। हामी पनि अग्रजसँग टीका थाप्न आउनेछैनौ, तपाईहरुको आशिर्वाद पनि हामीलाई छँदैछ। योपटक क्षमा गरिदिनुहोला। टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नु होला भनेर सामाजिक सञ्जालमा लेखेका थिए। सामाजिक सञ्जालमा लेखे अनुरुप उनले आफन्तलाई घरमा पनि बोलाएनन र आफु पनि अन्यत्र गएनन। तर, यो पटक भने पोहोर भन्दा केही सुरक्षित महसुस गरेको उनले सुनाए।  

संस्कृतिकर्मी श्रेष्ठले त पोहोर राजधानीमा रहेका छोरीलाई फोनै गरेरै दसैंमा टीका थाप्न नआउनु भनेका थिए। ‘पोहोर मैले नै छोरीहरुलाई फोन गरेर दसैंमा टीका थाप्न नआउनु भनेको थिए। उनीहरु आउन पनि आएनन,’ श्रेष्ठले भने, ‘तर, यो पटक भने उनीहरु टीका थाप्न पोखरा आउँदैछन्। अहिले भने उनीहरुलाई आउनबाट रोक्नु परेन।’ पोहोरको दसैंमा टीका थाप्न आउनमा रोक्नुपर्नेमा अरु कुनै कारण नभई कोरोनाको त्रास थियो। यो पटक कोरोना संक्रमण कम भएकोले सबैतिर चहलपहल बढ्दा दसैंमा पनि आउजाउ हुने उनले बताए।  

‘तर, सतर्कता भने यो पटक पनि अपनाउनुपर्छ। अहिले संक्रमण कमजोर भएको छ भनेर ढुक्क हुने बेला भएको छैन,’ श्रेष्ठले भने, ‘यो पटक मेरा छोरीहरु पनि पोखरा आउँदैछन्। उनीहरु पोखरा आएपनि सबैतिर टीका थाप्न भने जानेछैनन। घरमै मात्र सिमित हुनेछौं।’ 

कोरोना विरुद्ध खोप लगाएकोले यो पटक केही सुरक्षित भएको पनि उनले बताए । ‘कोरोनाको भय समाप्त भएको छैन। कोरोनाको महामारी कमजोर मात्र भएको हो। कोरोनासँग जिउने अभ्यास भएको छ,’ उनले भने, ‘ढोका लगाएर बस्दा मात्र कोरोना टुंगिने छैन। त्यसैले कोरोनासँगै जिउने हो।’ अघिल्लो दसैंताका सबै नागरिक हातहतियार बिसाएका सैनिक जस्ता भएकोमा अहिले मैदानमा उत्रिन सकेको मात्र उनले बताए। तररपनि सुरक्षा सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनले सुनाए।  

‘मैले नै पोहोर छोरी–ज्वाईलाई नआउनु भनेको थिए। अहिले आएपनि सबैतिर डुल्ने बेला छैन,’ उनले भने, ‘अग्रजसँग टीका थाप्न जाने भएकोले संक्रमणको सम्भावना अग्रजलाई नै छ। एकजना वृद्धले कतिजनालाई टीका लगाउने भन्ने हो। पोहोर भन्दा फराकिलो त भएको छ। तर, फुक्काफाल हुने अवस्था छैन।’ उनले यो पटक दसैंमा पारिवारिक जीवन नरोक्ने, तर, खुल्ला हुन नदिने गरि सचेतना अपनाउनुपर्ने बताए।  

अघिल्लो पटक दसैंमा संक्रमणको त्रासले गर्दा धेरैले बसोबास छाड्न सकेका थिएनन। सहरका मान्छे सहरमै रोकिएका थिए। निजी सवारी हुने र नजिक हुनेहरु पोहोर जसोतसो घरसम्म पुग्न पाएपनि अहिले भने केही बढी चहलपहल भएको यातायात व्यवसायमा परेको चाँप र बजारको भीडभाडले पनि देखाएको छ। यातायात व्यवसायी भन्छन्, ‘पोहोर खासै यात्रु थिएनन्। अहिले भने यात्रुको चाँप पोहोर भन्दा बढी छ।’

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्र केसीका अनुसार पोहोर भन्दा यो पटक यात्रु केही आकारमा बढेका छन्। सिमित रुटमा मात्र अतिरिक्त बस पनि थपिएका छन्। ‘पोहोर अतिरिक्त बस थपिएका थिएनन्। तर, यो पटक भने केही यात्रु बढेका छन,’ उनले भने, ‘पोहोर कोरोनाको त्रासले रोकिएका यात्रु यो पटक भने घर फर्केका छन्।’ पोहोर भन्दा १५ प्रतिशत मात्र यात्रु थपिएको उनले बताए। उनका अनुसार पोखराबाट पश्चिम रुटमा चल्ने बसमा यात्रु थपिएपनि पूर्वतिर भने अझै सोचे झैं यात्रुको भीड बढेको छैन।

प्रकाशित: २५ आश्विन २०७८ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App