१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन स्थानीय तहका कोरोना प्रभावितलाई राहत

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका जुम्लाका तीन स्थानीय तहका परिवारले राहत पाएका छन्।तातोपानी गाउँपालिकाका ४३, पातारासी गाउँपालिकाका ४० र चन्दननाथ नगरपालिकाका ३० गरी १ सय ४ घरपरिवारले राहत पाएका हुन्। उनीहरूलाई प्रतिपरिवार एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल, एक पोका नुन र एक पोका चिनी दिइएको थियो। ‘कोभिडका कारण ज्यालादारीमा काम गर्ने परिवारको रोजगारी गुम्यो। अहिले एक छाक टार्न पनि निकै कठिन छ,’ पातारासी उपाध्यक्ष पुन्नकली महताराले भनिन्, ‘कोभिडले थलिएका परिवारको पहिचान गरेर राहत दिइएको हो। यसले उनीहरूलाई निकै सहयोग पुगेको छ।’

कोरोना संक्रमणको त्रासले निरन्तर निषेधाज्ञा हुँदा यहाँका विपन्न नागरिकको रोजगारी गुमेको थियो। उपाध्यक्ष महताराले भनिन्, ‘यो राहतले केही राहत मिल्नेछ। गाउँपालिकाले पनि कोभिड प्रभावितको अवस्था हेरेर राहतको प्याकेज ल्याउन सक्छ।’ कोभिड प्रभावितको विवरण सम्बन्धित गाउँपालिकाले छनोट गरेको थियो। कारितास जर्मन, कारितास नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना–२०२१ अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो।

कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले राहतले एक महिना गुजारा चल्ने बताए। उनले भने, ‘कोरोनाले कतै चल्न दिएन। आमदानीको स्रोत नै बन्द भए। अन्नबालीमा रोग किराको संक्रमण पनि देखियो। यो राहतले केही दिन छाक टार्न पुग्नेछ।’ राहत लिन आएका प्रभावित परिवारलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो।

कोरोना प्रभावितलाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले जानकारी दिए। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले संकटमा दातृ निकायले गरेको राहतको सहयोग निकै प्रशंसनीय रहेको बताइन्। 

प्रकाशित: २५ आश्विन २०७८ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App