२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हतियारधारी समूहले रौतहटमा गर्‍यो लुटपाट

एक महिनापछि रौतहटमा फेरि हतियारधारी समूहले लुटपाट गरेको छ। शनिबार बिहान २ बजेतिर रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा हतियारधारी समूहले घरधनीमाथि आक्रमण गरी लाखाैं रुपैयाँ बराबरको लुटपाट गरेको हो।

पिपरियाका राम ईश्वर राय यादवको घरमा झन्डै एक दर्जनको संख्यामा आएका लुटेराहरुले पक्की घरको भेन्टिलेटरको जाली फुटाएर घरभित्र पसेर लुटपाट गरेको हो। घरभित्र प्रवेश गरेर लुटेराहरुको समूहले घरधनी ४५ वर्षीया चम्पादेवी यादव र तिनका छोरा २५ वर्षीय पवन यादवलाई नियन्त्रणमा लिएर आक्रमण गरेको थियो। लुटेरा समूहको आक्रमणबाट दुवै जना घाइते भएका छन्।

छोरा पवन यादवको टाउकोमा ९ वटा टाँका लागेको छ भने आमा चम्पादेवीको टाउकोमा ३ वटा टाँका लागेको छ। पवनलाई गहिरो चोट लागेकोले गरुडामा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्। डिएसपि भन्डारीले घटनामा संलग्नलाई प्रहरीले छिटै नियन्त्रणमा लिने बताएका छन्।

लुटेराहरुले यादवको घरबाट नगद ३ लाख, ३ तोला सुनका गहनाका साथै अन्य केही सामग्री पनि लगेको पीडितले जानकारी गराएका छन्।

घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरीको टोलीले राति नै लुटेराहरुको खोजी गरेको थियो। प्रहरीलाई लुटेराहरुको खोजीमा परिचालन गरिएको डिएपि भन्डारीको भनाइ छ।

यसअघि भदौ २१ मा रौतहटको दुर्गाभगवती गाउँपालिका मत्सरी गाउँका सरोजानन्द झाको घरमा लुटेराहरुको समूह प्रवेश गरी नवजात शिशुको टाउमा रिभल्वर राखेर लाखौको लुटपाट गरेको थियो। घटनामा लुटेराहरुले साढे चार लाख रुपैयाँभन्दा बढीको लुटपाट गरेको पीडितले जनाएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा केहीलाई पक्राउ गरेको थियो।

प्रकाशित: २३ आश्विन २०७८ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App