७ वैशाख २०८१ शुक्रबार
समाज

वृद्धालाई आक्रमण गरी लुटपाट

मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो एक जना वृद्धालाई आक्रमण गर्दै लुटपाट गरिएको छ ।  

पथरीशनिश्चरे–३ स्थित ढकाल चोककी ७५ वर्षीया हर्कमाया दंगालालाई पहिचान नखुलेका व्यक्तिले मरणसन्न हुने गरी आक्रमण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।  

बुधबार दिउँसो साढे ४ बजेतिर स्थानीय र परिवारका सदस्यले घरबाट दुई सय मिटर पर अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भई लडिरहेको अवस्थामा वृद्धालाई देखेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी घरबाट गाईवस्तुलाई घाँस र पानी दिन गएको खुलेको छ ।

वृद्धाले लगाएको सुनका गहना छैनन् । नाक र कानमा लगाएका एक तोलाजति सुनका गरगहना नभेटिएका कारण लुटपाटको उद्देश्यले आक्रमण गरिएको हुनसक्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । आँखा, निधार नाक, मुख, टाउलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।  

बेहोस अवस्थाकी वृद्धाको अवस्था चिन्ताजनक रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ‘आक्रमण गरेर वृद्धाले लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ डिएसपी श्रेष्ठले भने, ‘बेहोस अवस्थामा भेटेएकी उनलाई उपचारका लागि ल्याइए पनि अवस्था गम्भीर रहेको छ । घटनामा संलग्नको पहिचान हुन सकेको छैन । खोजी र अनुसन्धान तीव्र पारेका छौं ।’

प्रकाशित: २१ आश्विन २०७८ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App