खोटाङमा ‘दसैं-तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
दसैंमा माइतीघर आउजाउ गर्ने चेलीबेटीलाई लक्षित गर्दै खोटाङमा उक्त अभियान सञ्चालन गरिएको हाे।
सार्वजनिक यातायात सेवाको अभावमा आवतजावत गर्न समस्या भोग्ने चेलीबेटीलाई लक्षित गर्दै खाेटाङका युवाहरूले चलाएकाे अभियान कात्तिक ३ देखि ६ गतेसम्म चार दिन सञ्चालन गरिएकाे थियाे। अभियानमा पहिलो दिन ५०, दोस्रो दिन ११०, तेस्रो दिन २५२ र चौथो दिन २३० जना गरी ६४२ चेलीबेटीले मोटरसाइकल सेवा पाएका हुन्।
अभियानमा युवाहरूले सवारीसाधन नभएका र आर्थिक अवस्था कमजोर भएका छोरीचेलीलाई आफ्नै मोटरसाइकलबाट सेवा दिएका थिए।
शुभेच्छुक सहयोगीहरूबाट इन्धनको व्यवस्था गरी चेलीबेटीलाई माइतीघरदेखि घरसम्म र घरदेखि माइतीघरसम्म सेवा उपलब्ध गराइएको थियाे।
अभियानअन्तर्गत जिल्लाभित्र ३५ किलोमिटरसम्म सेवा दिने व्यवस्था गरिए पनि आवश्यकता र चेलीबेटीको सहजता ध्यानमा राख्दै छिमेकी जिल्ला भोजपुरसम्म पनि सेवा विस्तार गरिएको अभियानमा ५० भन्दा बढी राइडर परिचालन गरिएकाे थियाे।
सदरमुकाम दिक्तेल बजारको रत्नपार्कस्थित सचिवालय कार्यालयदेखि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाका चेलीबेटी लाभान्वित भएका छन्। त्यस्तै रावाबेँसी, ऐसेलुखर्क, केपिलासगढी, खोटेहाङ, बाराहापोखरी, साकेला, दिप्रुङ चुइचुम्मा र जन्तेढुङ्गासम्म माेटरसाइकल सेवा उपलब्ध गराइएको थियो। अभियानमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको थियो।
अभियानका संयोजक राईले चेलीबेटीप्रति सम्मान व्यक्त गर्ने, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने र समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेकाे बताए।
चाडबाडका बेला सार्वजनिक यातायात पर्याप्त रूपमा उपलब्ध नहुने र यही समयमा चेलीबेटी माइती तथा मामाघर जाने परम्परा रहेकाले उनीहरूको यात्रालाई सहज बनाउन अभियान सुरु गरिएको संयोजक राईले बताए।
तिहारमा पनि निःशुल्क मोटरसाइकल सेवा दिइने
अभियानलाई निरन्तरता दिँदै तिहारलाई लक्षित गरेर कात्तिक २४, २५ र २६ गते पनि मोटरसाइकल सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
सेवा लिन इच्छुक चेलीबेटीले रत्नपार्कस्थित अभियानको सचिवालयमा सम्पर्क गर्नुपर्नेछ। विभिन्न दाताले अभियान साकार पार्न सचिवालयमै पुगेर सहयोग उपलब्ध गराइरहेका छन्।
युवाहरूको श्रम, आफ्नै सवारीसाधनको उपयोग र सहयोगीदाताको योगदानबाट सञ्चालन भइरहेको यस अभियानले चाडपर्वमा घरपरिवारसँग भेटघाट गर्न जाने चेलीबेटीको यात्रामा सहजता ल्याइरहेकाे छ।
प्रकाशित: ८ कार्तिक २०८३ १२:५५ आइतबार





