५ वैशाख २०८१ बुधबार
समाज

नेपालगन्जमा एक युवकको हत्या

नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीमा रहेको गायत्री मन्दिर छेउमा एक जना युवकको हत्या भएको छ। बर्दिया, राजापुरका १९ वर्षका रोहित थारुको हत्या भएको हो।

बाँके प्रहरी प्रवक्ता एबम डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए। ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ, प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेकोजस्तो देखिँदैन’, उनले भने। मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो।  

मृतक रोहित आफ्नो दिदीका साथ लामो समयदेखि वडा नम्बर १ धम्बोझीमा बस्दै आएका थिए। मृतककी दिदी सिमा थारुले भाईको हत्या नै भएको दाबी गरेकी छन् । उनले भनिन्, ‘सोमबार राती सुतीरहेको भाइलाई फोन गरेर बोलाइएको थियो, विहान शव भेटियो।’ उनको सुनियोजित हत्या भएको उनको भनाइ छ।  ‘हत्याको अनुसन्धान गरेर दोषीलाई कारबाही गरियोस्’, उनले भनिन्। रोहितको शव पोष्टमार्टम गर्ने तयारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App